चित्त नबुझेका कुराः सातघुम्ती, सोह्रखुट्टे र प्रेस

जनार्दन अर्याल


ठमेलको सातघुम्तीको इतिहास धेरैलाई थाहा छैन होला ।

जब नेपालमा ट्राफिक व्यवस्थापन व्यवस्थाको सुरु हुँदै थियो, अहिलेजस्तो ट्रायल लिने ठाउँ नभएकोले ठमेलको सातघुम्ती पार गरेपछि मोटरको लाइसेन्स पाइन्थ्यो रे । रे !

बजारको रुपमा विकास भएपछि ठमेल बजार विस्तार भएर साउनेपाटी पकनाजोलसम्म पुग्यो । तर, अहिले कारोनाको मारले गर्दा सुनसान ।

अहिले यहि सातघुम्तीमा मिनज फाउण्डेशनका संस्थापक मिनाज भाई ज्यान हत्केलामा राखेर यो महामारीमा कसैले भोको बस्नु नपरोस् भनेर दैनिक रुपमा खाना बाँड्छन् । हरेक शुक्रबार एक हप्तालाई पुग्ने खाद्य सामाग्री बाँड्छन् । ठूला पार्टीका राजनितिज्ञदेखि पत्रकारसम्म सबैले उनीसँग सहयोग लिएका छन् । अहिले उनलाई सहयोग गर्ने सहयोगी हातहरुको खाँचो छ । परेको बेलामा उनलाई सहयोग गर्ने कोहि छैन ।

जायजेथा समेत सके । पार्टीहरुलाई कसरी सरकारमा पुग्ने भन्ने चिन्ता छ । यस्ता समाजसेवी संस्थाहरुलाई सहयोग गर्ने फुर्सत कुन नेतालाई छ र ? खोला तरिसकेपछि लौरो को के काम ?


सोह्रखुट्टे चोकमा केहि ट्राफिक प्रहरी हुकुम जमाउँदै छन् । यिनलाई सर्वसाधारणलाई परेको मर्काबारे मतलव छैन । नियम नमान्नेहरु यिनकै नाकमुनिबाट दौडिएको पत्तै हुँदैन । जसले नियम मान्छ, तिनैलाइ दुःख दिन पछि पर्दैनन् ।

१७ गते यस्तै भयो ।

दिउँसो एकजना भाईले दाई सोह्रखुट्टेको प्राइम बैंक खुलेको रहेछ । रकम झिकेर ग्राण्डी अस्पताल पुगाउनु पर्छ । के गर्ने भनेर सोधे । मैले पनि आउ न त भनें । उनी मोटरसाइकलमा आए । रकम निकाले । फर्किने बेलामा ट्राफिक भाइले समाते । त्यसरी समात्नै थियो त आउँदा किन नसमातेको ? अनुनय विनय गरियो । ट्राफिक भाई टसमस भएनन् । बिरामीलाई रकम पुगाउन मोटरसाइकल छोडेर उनी लुखुरलुखुर ग्राण्डीतिर लागे । अर्को, टाटा मोवाइलले बीरगञ्जबाट गाईको दाना ल्याएको रहेछ । ड्राइभरले कसलाई फोन गरे कुन्नि ? ट्राफिकलाई फोन आयो, गाडी छाडिदिए ।

यस्तो् महामारीको समयमा पनि खुलेको बैँकबाट रकम झिक्न जाँदा ट्राफिक प्रहरीले कुरा सुन्दैन भने प्रहरी हाम्रो साथी कसरी मान्ने ?


नगरी नहुने कुरो प्रेसको पनि छ ।

के जसले पनि गाडी र मोटरसाइकलमा प्रेस लेखर कुदाए हुन्छ ? यसको नियन्त्रण प्रहरी किन गर्दैन ? सरकारी निकायको यस्तो चालाले वास्तविक पत्रकारहरुले सडकमा निस्किनै गाह्रो भएको छ । सवारी साधन रोकेर परिचयपत्र हेर्ने जिम्मा कसको ? बिना परिचयपत्र तीन सयको ज्याकेट लाएर तरकारी बोक्ने, दुधको ग्यालिन बोक्ने र पछाडि मैयाँ हालेर दौडिनेहरुलाई नियन्त्रण गर्ने जिम्मा ट्राफिक को हो या होइन ?

व्यापारी, व्यवसायी र केहि सर्वसाधारणलाई यो प्रेस लेखेको कागज सवारीसाधनमा टाँसेर पत्रकारिताको वदनाम गर्न सजिलो भएको छ । सम्वन्धित निकायले कडाई गरोस् । हामी पत्रकारहरु सरकारलाई सहयोग गर्न तयार छौँ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button