लकडाउन वार्ताः हामी भुलक्कड हौं, यी दिन पनि सहजै भुलिने छ
महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा कवि/कथाकार दीपक लोहनी ।
लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
हो, लकडाउन कडा छ । तर लकडाउनभन्दा पनि प्रकृतिसँगको मेरो मोह झन गाडा भएकोले कन्फिडेन्स लेवल घटेको छैन ।
दिनहरु कसरी बित्दै छन् ?
बिहान हाँसी/खुसी । गीताको सार सधै सम्झन्छु- ‘जे थियो राम्रै थियो, जे छ राम्रै छ अनि जे हुनेवाला छ त्यो पनि राम्रै हुनेछ ।’ यत्ति मनमा खेलेपछि जीवन बिन्दास ।
बिहान र साँझ करेसा बारीमा खेल्छु । दिउँसो राम्रा लघुकथाहरूको पढ्छु । एकछिन कौसीमा भएका गमलाहरूमा फुलेका फूलका पहेंला पातहरू निकाल्छु । घरमा सानी साथी मनुश्री छे, त्यहीसँग बाँकी समय बिताउँछु ।
कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
बिशेषगरी म वातावरण संरणक्षको वकालत र कामहरू गरिरहेको छु । फोहोरलाई किनबेचको माध्यमबाट सहर सफा बनाउनु पर्छ भनि १० वर्षदेखि परिणाममुखी काम गरिरहेको छु । मानव मल/मुत्रलाई काठमाडौ उपत्यकाको रैथाने नेवार समुदायहरूको परम्पराग सा:गा प्रविधिबाट सहज व्यवस्थापन गर्न सकिन्छ भनी यो लकडाउन अवधिभित्र आफ्नै घरबाट उत्सर्जन हुने दिसा/पिसाबलाई गन्धरहित हिसावमा गलाउने काम सफलतापूर्वक गरिरहेको छु । लकडाउन खुलेपछि मानव मल/मुत्रबाट प्रांगारिक मल बनाउने कार्यक्रम कुनै नगरपालिकामा गर्नु पर्छ ।
अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
एकदम फरक लाग्यो । पोहर सालको लकडाउनमा पुरुषहरूले दाह्री पालेका र महिलाहरूले परिकार बनाएका फोटोहरू सामाजिक सन्जालमा यत्रतत्र देखिन्थे । यसपाली साथीभाइहरूको समवेदनायुक्त फोटोहरू देखिएको छ ।
छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
छिमेकी र वरिपरीको वातावरण सुनसान छ । हाँसो/खुसी छैन । उमङ्ग छैन् । अन्योल मौलाएको छ ।
यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
म वातावरणको क्षेत्रमा काम गर्ने व्यक्ति । १५ वर्षदेखि नै म १५ दिन काठमाडौ र १५ दिन गाउँमा पुगिरहेको हुन्थें । यो लकडाउन नभएको भए म कुनै गाऊँमा कुनै समुदायसँग वातावरण संरक्षणको परिणममूखी काम गरिरहेको हुने थिएँ ।
लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
यो समय तनावपूर्ण बितेको जस्तो धेरैलाई लागे पनि लकडाउन खुलेपछि बिस्तारै बिर्सदै गइने छ । हामीले भिषण द्वन्दकाल, लामा नेपाल बन्द, सफल जनआन्दोलन र महाभूकम्प आदीलाई तुरुन्तै भुलिसकेका छौ । हामी भुलक्कड हौ । यी दिन पनि सहजै भुलिने छ ।
तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
कोभिडको समाधान लकडाउन मात्र किमार्थ हैन । व्यक्ति, समूदाय, स्थानीय सरकार र केन्द्रीय सरकारले गर्नु पनि अन्य धेरै काम र कर्तव्यहरू छन्, जहाँ हाम्रो ध्यान पटक्कै पुगिरहेको छैन ।
कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
आफूभन्दा धेरै पर छन् भौतिक सुख सुविधाहरू भन्ने कुरा अध्यात्म र दार्शनिकहरूले भनेको पढ्ने र सुन्ने गरिरहेकै हो । तर बिश्वस्त थिइन, यतिखेर पक्का भएँ ।
भविष्यप्रतिको तपाईंको धारणा के छ ?
म वर्तमानमा रमाउन चाहन्छु । वर्तमानमै रमाउन दिनुहोस् ।
केही थप्न चाहनुहन्छ ?
सर्बे भवन्तु सुखिन ।