कोरोनाको अणुलाई परमाणु बन्न नदिनोस्

कोरोना डायरी–२
प्रकाशप्रसाद उपाध्याय

कोरोनाको लहर केही कम होला भनेको त झन् बढेको बढ्यै छ । त्रासमय जीवन जिउने बाध्यता छ । सरकार पनि लकडाउनमाथि लकडाउन थप्न बाध्य हुनु पर्दैछ । कोभिशिल्डको पहिलो खोप लिएको भए पनि बाहिर निस्कन डर लाग्छ, ज्येष्ठ नागरिक भएको कारणले । घरभित्रै बस्न बाध्य हुनुपरेको छ । तर, कहिलेकाहिँ ननिस्किई नहुने स्थिति उत्पन्न हुन्छ । यसो भन्दा र लेख्दा सम्झना हुन्छ, पहिलो लकडाउनलाई खुकुलो बनाइएको बेलाका केही कुराहरू, वा भनौँ घटनाको ।

मानिसहरू पहिलो लकडाउनकालको नियास्रिँदो वातावरणबाट मुक्ति पाउन घरबाट निस्किन थालेका थिए । कोही मामको जोहो गर्न कामको खोजीमा निस्किरहेका थिए, कोही सडकको तमासा हेर्न होला ? मैले पनि औषधि किन्ने र बैंकसम्मको कामविशेषले २–४ पल्ट बाहिर निस्किन बाध्य हुनु प¥यो । सडकमा पुगेँ त देख्दछु सबैलाई हतार छ । सडकमा धक्का दिंदै हिँड्ने प्रवृत्ति पाएँ । मलमा हतार, सडकमा हतार । हिँडने पेटीमा पनि हतार । पेटी साँगुरा रहेका थाहा भए पनि युवक–युवतीले हात समाएर हिँड्नै पर्ने । जबकि स्किन टच अर्थात त्वचाको स्पर्श यस्तो बेलामा हानिकारक हुन्छ, २ मिटरको दूरी कायम राख्नुपर्छ भन्ने सुचना प्रवाह गरिराखिएको हुन्छ । यस्ता गैरजिम्मेवार व्यवहार, हेलचक¥याइँ र हतारका कारण मैले ती अवसरमा युवक–युवतीहरूको धक्का पाएँ । के को हतार थियो, थाहा भएन । तर धन्य, केही भएन । २–४ दिन तनाउको जीवन बिताएँ । र सोच्न थालेँ– अचेलका युवा पीढी शिक्षित हुन्छन् भन्नु के सही हो ? हो भने किन यस्तो अमर्यादित व्यवहार ? किन लापरबाही ? आपूm पनि संक्रमित हुने र अर्कोलाई पनि संक्रमित पार्ने खालको हतार केको निम्ति ? २–४ सेकेण्डको हतार कति घातक र परिवारका लागि चिन्ताको कारण हुनसक्छ भन्ने बोध कहिले हुने होला ?

यस्तै खालको हतार र लापरबाहीले गर्दा होला देशमा संक्रमण र मृत्युदरले चिन्ताजनक स्वरूप पाइरहेको छ भने सरकार निषेधाज्ञा लम्ब्याउँदै जान वाध्य भइरहेको हो । २९ अप्रिलमा १५ दिनको लागि लगाइएको दोस्रो चरणको लकडाउन (निषेधाज्ञा) को म्याद बढाउन सरकार बाध्य हुनुप-यो र तेस्रो चरण पनि लागू अवस्थामा छ । यसको घोषणा मे १३ तारिखको दिन गरियो पुनः १५ दिनको लागि । सरकारले पनि गरोस् के ? जनताले मनपरी गर्न नछाडेपछि वा सडकको तमासा हेर्न हुल बाँध्दै जान थालेपछि । जनतामा आत्मसंयम हुँदो हो त यसरी संक्रमण संख्या बढने थिएन, मृत्युदर बढ्ने थिएन ।

अब यो संख्या घटाउने दायित्व के हामी सबैको होइन ? सडकका पेटी साँगुरा छन् । २ गज वा २ हातको दूरी राख्न नभ्याए पनि २ सेकेण्डको धैर्य त राख्न सकिन्छ । तँछाड–मछाडको प्रवृत्तिलाई प्रबल हुन दिनु भएन । यसर्थ सुरक्षित बस्न आपूmभन्दा अगाडि रहेकालाई पहिले जान दिनोस् र धक्का दिँदै उछिन्ने काम नगर्नोस् । के थाहा, धक्का पाउने मानिस नै कोरोना संक्रमित छ कि ? तपाईँ–हाम्रो हतार कसैका लागि अस्पताल धाउनुपर्ने कारण नबनोस् । सुरक्षित बस्नोस्, अरूलाई पनि सुरक्षित रहन दिनोस् । कोरोनाको अणुलाई परमाणु बन्न नदिनोस् ।

जय शम्भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button