बेलुका मोबाइलमा मेसेज आयो, ‘कोभिड पोजेटिभ, सिटी भ्यालु २५ ’

आम मानिसलाई व्यवहारिक रुपमै सचेतना होस् र कारोना पोजेटिभलाई त्यसविरुद्ध लड्न आत्मबल र उर्जा मिलोस् भनेर कारोना विजयीहरुको अनुभव, संघर्ष र सफलता झल्काउने स्तम्भ ‘कोरानालाई हरायौं’मा लेखक/पत्रकार श्रीरामसिंह बस्नेत

सर्वप्रथम बधाई । तपाईंले कोरोनालाई जित्नुभयो । कुन मोडमा आएर तपाईंलाई कोराना लागेको शंका थाहा भयो ?
तीन चार दिनदेखि सुक्खा खोकी र हल्का ज्वरोको अनुभव भइरहेको थियो । सधैं झैं एक दिन बिहान अगरबत्ती बाल्दा त्यसको सुगन्ध पटक्कै आएन । नाकैनजिक धुप लगेर सुँग्धा पनि गन्धको कुनै अनुभव भएन । पहिला त त्यस्तो हुँदैन थियो, धुप उही नै थियो । यसैलाई शंकाको आधार मानी तुरुन्तै पिसिआर टेस्ट गराउन गएँ । बेलुका मोबाइलमा मेसेज आयो, ‘कोभिड पोजेटिभ, सिटी भ्यालु २५ ।’

सुरुका दिनहरुमा कस्तो लक्षण थियो ?
छाती नै फुट्ला जस्तो लगातार सुख्खा खोकी, ९९ ज्वरो र जिउ दुख्ने ।

बीचमा आइपुग्दा त … ?
पोजेटिभ भएको थाहा पाएपछि टेकु अस्पतालमा गएर इमर्जेन्सीमा जचाएँ । त्यहाँ तुरुन्तै मेरो छातीको एक्स–रे लिइयो, तै छाती ठिक रहेछ, न्यूमोनियाको कुनै लक्षण नभएकोले डाक्टरले खोकीको औषधी मात्र दिए । मेरो प्रेस्क्रिप्सनमा ‘माइल्ड कोभिड’ लेखिएको छ ।

कोरोना मुक्त हुनैलाग्दाका पछिल्ला दिन कस्तो अनभुव भयो ?
छाती ठिक छ, न्यूमोनिया छैन भन्ने पक्का भएपछि नै म अहिले नै मर्दिन भन्ने ढुक्क भयो, पटक्कै आँत्तिन । खानपिन र आराममा ध्यान दिएँ ।

कोरोनाविरुद्ध तपाईं कसरी लड्नुभयो ?
आत्मवल र सचेतनाकै आधारमा लडें ।

भौतिक हिसाबले कत्तिको कठिन भयो ?
खासै कठिन भएन ।

सामाजिक हिसाबले कस्तोे अनुभव भयो ?
सम्पर्क पूरै टुट्दा र आफ्ना कतिपय सामाजिक दायित्वमा प्रत्यक्ष सरिक हुन नमिल्दा केही असजिलो भयो ।

कस्तो मानसिक अवस्थाबाट गुज्रनुभयो ?
आफ्नो अवस्थाभन्दा पनि अरुहरु र समाचारबाट जानकारी हुने भयावह स्थितिले गर्दा मानसिक तनावको अनुभव गरेँ ।

कसरी तपाईंलाई कोरानो लाग्यो होला भन्ने अन्दाज गर्नु हुन्छ ?
ठ्याक्कै भन्न त सक्दिन । तर मेरो ‘मोबिलिटी’ बढी भएकोले कतैबाट पत्तै नपाई सरेको हुनुपर्छ । अनि मैले खोप पनि लगाउन पाएको थिइन, त्यसैले पनि हुन सक्छ ।

कोरोना लाग्नुअघि र पछिको तपाईंमा के भिन्नता आएको छ ? के तपाईं त्यस्तो फरक अनुभव गर्नु हुन्छ ?
त्यस्तो खासै फरक त अनुभव भएको छैन ।

कोरोना विजयी तपाईंको सन्देश-सुझाव के छ ?
भीडभाडमा नजाने, मोबिलिटी घटाउने, खोपप्रति नकारात्मक धारणा नराख्ने, मास्क, सानिटाइजर आदिप्रति सजग रहने, लक्षण देखिएपछि टेस्ट गराउन आनाकानी नगर्ने, संक्रमण भैहालेमा नआत्तिने, श्वासप्रश्वासप्रति विशेष ध्यान दिने, जनैपूर्णिमा जहिले परे पनि क्वाँटीको झोल नियमित खाने, कुरिलोको झोल, खशीको खुट्टाको झोल, ग्रिन टी, गुर्जो टी, कागती, अमला, दालचिनी, ल्वाङ आदिको नियमित सेवन गर्ने, अल्छी नमानी बिहान बेलुकी तातोपानीको वाफ लिने । फलफूलमा पाकेको मेवा खाने । चिसोबाट जोगिने ।

कोरोनालाई सराप्ने मन छ ? छ भने सकेजति सराप्नुस् ।
कोरोनालाई त के सराप्नु र । सराप्नु पर्ने अरुहरु नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button