आमाको सम्झनामा

मातृ-कविता

हरिप्रसाद गौतम

आफ्नो दोब्रिएको भोको पेट
लाम्टैलाम्टा परेको छाती बोकेर
एक जोर ती चनाखा आँखाले
कोक्रोभित्र मस्त खेल्दै गरेको
पुष्ट सन्तान पनि भोकै देख्छिन्
ममतामयी ती एउटी आमा,
बाहिर कोही रोएको सुन्दा,
आफ्नै सन्तान रोयो कि भन्छिन्,
ममतामयी ती एउटी आमा !

घाँटी दुखेर सन्तानले निल्न नसक्दा
जागिर छुटेर आफ्नो छोरो बेरोजगार बन्दा
घरबाट निकालिएर पनि छोरी माइत नपुग्दा
चल्नै नसकेको झुपडी रूँदा
सारा ब्यथा पिउँदै जिउँछिन्
आशै आशाकी निर्विकल्प ती
विकल्प बन्छिन् सधैँ आमा !

थप्दै गर्दा सबका थालमा
बज्न थालेपछि भातको कसौँडी
रित्तिन थालोस् तिहुन कराहीमा
‘सिद्धियो’ भन्ने शब्दै छैन
उनको हृदयको शब्दकोशमा
बरू थप्छिन् नयाँ शब्द
‘पुग्यो’ भन्छिन् आफू भोकै रहेर
विचरी हाम्री तिनै आमा !

रूग्ण बाबाकी एक्ली सहारा
अशक्त सन्तानकी आजीवन सुसारे
देउताथानकी एक्ली पुजारी
गाई गोठकी रैथाने गोठाल्नी
भान्छाघरकी कामदार माहुरी
प्रलय आउँदा विपत्ति छाउँदा
लुक्ने छेक्ने जुध्ने कुद्’ने
आशा भरोशा जे जे चाहिन्छ
बन्न सक्छिन् तिनै आमा !

शब्दशक्तिकी पहिलो शिक्षिक
घर संस्कारकी एक्ली दीक्षक
वंश परम्पराकी जिउँदो स्रष्टा
सन्तान सबकी समान द्रष्टा
सहनशीलताकी प्रतिमूर्ति !

काम अनेक, रूप अनेक
हर लडाइँकी एक्ली स्पर्धी
महान् नारी हुन् हाम्री जननी !

जन्मदिनमा बिर्सला बरू सन्तानले
तर, आमाले मनको दियो बालेकै हुन्छिन्
मरेर जाने बेलामा समेत आफू
सन्तानलाई अँगालो हालेकै हुन्छिन्
भविष्य सोचेर सन्तानको हरदम
कुनै न कुनै कदम चालेकै हुन्छिन्
तिनै भवानी हुन् हाम्री जननी, हाम्री आमा
जसले यो संसार सह्मलेकी हुन्छिन् !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button