जुवामा नेपाली युनिट पहिलो

संयुक्त राष्ट्र संघको आब्हानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ बिभिन्न देशका युनिटहरुमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपियु–१०) सर्वोत्कृष्ट ठहरिएको छ ।

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मुल्याङ्कन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपियुहरुमध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपियु–१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो । उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मुल्याङ्कन प्रतिबेदनमा नेपाल एफपियुले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोकृष्ट हुन सफल भएको कुरा उक्त युनिटका कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेले बताए ।

कुनै पनि मिशनमा तैनाथ एफपियुहरुबीच बिभिन्न विधामा मुल्याङ्कन गरी उत्कृष्टता छनौट गर्ने कडिको रुपमा लिइने यस मुल्याङ्कनलाई एफपियुहरुले प्राप्त गर्ने प्राप्ताङ्कका आधारमा उत्कृष्ट छनौट गरिने गरिएको छ । आन्तरिक प्रतिस्पर्धामा समावेश गरिएका आठ विधाहरु क्रमशः मिशन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एण्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेशनल रेडिनेश र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन् । प्रत्येक विधामा अधिकतम चार÷चार अंकका दरले ३२ पुर्णाङ्क छुट्याईएको थियो । १८ फेब्रुअरी सन् २०२१ मा लिईएको उक्त परीक्षण तथा मुल्याङ्कनमा नेपाल एफपियु–१ ले ३२ अंक नै ल्याउन सफल भएको हो ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कुमार न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटि कमाण्डिङ्ग अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिवप्रसाद गैहे, चिफ लजिष्टिक अफिसर सशस्त्र प्रहरी नायव उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा रहेका छन । उक्त एफपियुमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन् ।

शान्ति प्रक्रिया सातौ डप्फाको रुपमा सन २०२० को फेब्रुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको उक्त टोलीले कोराना कहरको समयमा समेत विचलित नभई आफुलाई प्राप्त जिम्मेवारीहरुलाई उत्कृष्ट रुपमा निर्वाह गरेको तथा कमाण्ड स्टाफ र सकल दर्जाका कर्मचारीहरुको अथक मेहनतका कारण पनि अन्य एफपियुहरुलाई पछि पार्न सफल भएको कुरा कमाण्डिङ्ग अफिसर न्यौपानेले बताए ।

हाल दक्षिण सुडानमा रहेका एफपियुहरुमा नेपालको तर्फबाट दुई वटा, रुवन्डाको तिन वटा र घानाको एक गरी जम्मा ६ वटा एफपियुहरु कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button