मन्त्रीले हिउँ खेल्दाखेल्दै के मुसुक्क ? (फोटोफिचर)

अशोक सिलवाल

‘हटौडा यात्रा
हिउँ पनि खेल्दै
अर्को वैकल्पिक सडकको
खोजीमा कोगटे ।
चियाउँदै छ फास्ट ट्रयाक ।’

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले फेसबुकमा प्रकृति र विकास जोडिएको माथिका कवितात्मक पंक्ति पोस्ट गरे । अझ रोचक र रमाइला थिए, उनले पोस्टेका हिउँ–तस्विरहरु ।

उनीसँग सम्पर्क गरें र उनले खिचेका अरु हिउँतस्विर पठाइदिन आग्रह गरेँ । उनले ३३ वटा फोटो पठाए । पठाएका मध्ये केही तस्विरहरु तल प्रकाशित छन् । हेर्नु होला ।

र, उनीसँग उनको हिउँ अनुभुति पनि साधेँ ।

‘मदन भन्डारी मार्गबाट हेटौंडा जाँदै थिएँ’, उनले भने, कुलेखानीदेखि भीमफेदीसम्मको १६ किलोमिटर बाटोमा कालोपत्रे र ढलानको काम भइरहेको छ । त्यसको विकल्पमा बन्दै गरेको सिस्नेरीदेखि करिब २३ किलोमिटरको सिस्नेरी–कोगटे–भीमफेदी सडकखन्डबाट भीमफेदी बजार निस्कने मेरो कार्यक्रम थियो । सोही कार्यक्रमका लागि जाँदाजाँदै बाटोमा हिउँ पर्यो । एक छिन हिउँ खेलियो पनि । स्थानीय जनतासँग कुरा पनि गरियो । उहाँहरुको समस्या पनि सुनियो ।’

‘हिउँ झरेको केही छिनमै प्रकृति मुसुक्क हाँस्यो पनि । घाम लाग्यो’, उनले खुशी सुनाए, ‘हिउँ र घाम एकै छिनको फरकमा भोग्दा साँच्चै रमाइलो भयो ।’

२०५४ सालमा उनी काठमाडौं जिल्ला विकास समित (जिविस)का उपसभापति निर्वाचित भएका थिए । त्यही बेला जिविस सदस्य थिए, गुञ्जमानसिंह बस्नेत । गुञ्जमान पनि मन्त्री फुयालसँगै यो यात्रामा रहेछन् । बस्नेत पनि हिउँसँग उस्तै रमाए रे ।

दक्षिणकाली, छैमले हुँदै हेटौडा जाने सडक बनाउँछौं र कालोपत्रे पनि गर्छौं भनेर २०५४ सालमा दक्षिणकालीकै मन्दिरको दक्षिणपट्टिको पाखोमा उभिएर प्रण गरेका थिए रे उनीहरुले ।

‘र, पाँच बर्षमा लगभग काम पनि सम्पन्न भयो’, स्मृतिमा पुगेर मन्त्री फुयालले भने ‘दक्षिणकाली छैमलेको राम्चे भञ्याङबाट रामचन्द्र भञ्याङ सिस्नेरी हुँदै कुलेखानीसम्मको सडक जोड्न सफल भइयो । सबै राजनितिक दल र जनसमुदायको परिचालनमा अभियान अगाडि बढ्यो । श्रमदानमै काम भयो । जनताले भुटेर मकै खुवाए । स्थानीय तह, केन्द्र र जनता जोडेर यो सब सम्भव भयो ।’

‘र, यो सडक काठमाडौं र बीरगन्ज जोड्ने मुख्य सडकमा रुपान्तरण भयो’, उनले थपे ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button