हजुरआमाले दाल, भात र तरकारी मुसेर खुवाउनुभएको झल्को अहिलेसम्म मेटेकी छैन

२६ वर्षदेखि शिक्षणमा छिन् गंगा खड्का । आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेका १०’ स्तम्भमा यसपटक साहित्यमा समेत रुचि राख्ने उनै खड्कालाई प्रस्तुत गरिएको छ ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मलाई सबैभन्दा बढी मन पर्ने खाना दाल, भात र तरकारी हो किनभने मैले सानो हुँदा हजुरआमाले दाल, भात र तरकारी मुसेर खुवाउनुभएको झल्को अहिलेसम्म मेटेकी छैन । दाल , भात र तरकारी खाँदा हजुरआमा सँगै भएजस्तो लाग्छ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेको ठाउँ काठमाडौँको कागेश्वरी मनोहरामा पर्ने आलापोट हो किनकि जहाँ अझै पनि मेरा साक्षात भगवान् आमा र बुबा हुनुहुन्छ, जहाँ मेरो माटोले मलाई बिर्सी नसक्नु सुगन्ध दिन्छ ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेको किताब गुरुप्रसाद मैनालीको नासो हो किनभने यसमा समाजको यथार्थ बाँचेको छ ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
मलाई सबैभन्दा मन परेको मान्छे मेरा ममतामयी बुबाआमा हुनुहुन्छ किनको उहाँहरुले कहिल्यै आफ्नो लागि बाँच्न र हाँस्न जान्नुभएन ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
मलाई सबैभन्दा मन परेको आफ्नै बानी संयमित हुने हो किनकि यो बानीले मलाई आँसु लुकाउन सिकाएको छ ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
मलाई राजनीतिमा त्यति दिलचस्पी नभएर होला , मन पर्ने र मन नपर्ने भनेर विश्लेषण गर्ने क्षमता ममा परिपक्व भएको छैन ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
मलाई सबैभन्दा मनपर्ने चाड तिहार हो किनकि कुनै पशुवध नगरी बरु पशुको पूजा गरिन्छ । यससँग गाँसिएका रङ, फूल ,पारिवारिक पुनर्मिलन , दाजुभाइ र दिदीबहिनी बिचको सौहार्दता अति नै महत्त्वपूर्ण छन् ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेको पेशा शिक्षण हो किनभने यसमा मैले सिकाउने काम भन्दा सिक्ने काम बढी गरेको छु ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेको रंग सेतो, हरियो र पहेँलो हुन् किनकि यिनीहरूले क्रमशः हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्दा सिङ्गो नेपाल जन्माएका छन् ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेको गीत नारायण गोपालको “यति चोखो यति मीठो” हो किनभने यो गीत कालजयी छ र मेरो भित्री मनलाई जितेको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button