
यसपाली म कसरी मनाउँछु ?
ज्याेति श्रेष्ठ
वर्षा ऋतु सकिएर शरद ऋतुमा प्रवेश गरिरहँदा चाडपर्वको आगमन भइरहेको महसुस हुन्छ । खुला निलो आकाश, त्यस आकाशमा उडिरहेको चरा र चरालाई पछ्याइरहेको चङ्गा देख्दा मन नै उडिरहन्छ । काठमाडौंको भिड बस्ती अब बिस्तारै सुस्तारिँदै गर्दा मनमा पनि घर–माइतीको सुसेरा हानिरहन्छ, लाग्दछ कि आफ्ना आफन्तिहरूको यादले मन–मस्तिष्कमा मधुर रूपमा घण्टी बजाइरहेको छ ।
बालापनमा नयाँ लुगा लगाएर मामा घर गएको, साथीहरूसँग पिङ खेलिरहेको, आफन्तहरूको घर–आँगनमा गई निदारमा रातो टीका, शिरमा जमरा र हातभरी दक्षिणा समाएको ती दिनहरू आखाँमा नाचिरहन्छ ।
समय साथसाथै जीवन पनि बग्दै जाँदोरहेछ । बगेको खोला फर्किदैन भने झैँ गएको जिन्दगी पनि कहिले नआउँदो रहेछ । बस्, अब ती जिन्दगीका पलहरूलाई यादमा रेशमी किराले जस्तै कपास बनाउँदै जानेबाहेक अरू केही विकल्प नहुने रहेछ ।
मानिसको चोला नै त हो । कर्तव्य निर्वाह गर्नु उसको धर्म हो । सम्पूर्ण प्राणीलाई सुरक्षा गर्नु उसको दायित्व हो । यसरी सबैको हित गर्दै जाँदा आफू पनि खुसी हुनुचाहिँ आत्मसम्मान हो । त्यसैले म आफ्नो आत्मसम्मानसहित यस दशैँलाई मनाउँछु । कुनै निर्दोष प्राणीको हिंसा नगरी, आफ्नो क्षमता अनुरूप, सामाजिक विकृतिविहिन, पारिवारिक हितका निमित्त म यस दशैँ मनाउँछु । र, पूर्ण खुसीका साथ मनाउँछु ।
पूर्व अवस्था (बालापन) मेरो अब कहिले फर्किएर आउने छैन । भविष्य मलाई ज्ञात छैन तर मसँग मेरो वर्तमान छ। यसै समयलाई म सुनौलो बनाउन चाहन्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)