
रिसले चुर हुँदै ऊ त्यहाँबाट पनि बाटो लागी
लघुकथा: कलमको साइनो
गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
“घरबाट आएर यहाँ बिरामी कुरुवा बस्ने मान्छे अरु कोही छैनन् । अरुलाई कति दु: ख दिनु, हजुरबुबालाई भर्ना गरेको रुममा अर्को एउटा बेड खाली भयो । आमालाई पनि त्यहीँ सारिदिने व्यवस्था मिलाइदिनुहोस् न”, सिर्जनाले नर्सहरुको कक्षमा गएर लाचारी व्यक्त गरी ।
“काउन्टरमा गएर भन्नुहोस्,” नर्सले आफ्नो कुरालाई पूर्णविराम दिइन् ।
“व्यवस्थापकलाई भन्न जानुहोस् न”, काउन्टरमा पनि उही जवाफ आयो ।
जुन जोगी आए पनि कानै चिरिएका भने झैँ व्यवस्थापकले पनि उनको पूरा कुरा सुन्ने दिलचस्पी देखाएनन् । घरमा जो बिरामी भए पनि त्यही हस्पिटल लाने हुनाले सिर्जनाको लागि हस्पिटल पानीपँधेरो जस्तो भएको छ । दमका रोगी हजुरबुबा र क्यान्सरको रोगी आमाको उपचारका क्रममा करिब पाँच वर्षदेखि ऊ त्यो हस्पिटलका प्रायः सबैको लागि परिचित अनुहार थिई ।
“उपचारको क्रममा गैह्री खेत यही हस्पिटलले सर्लक्क खाइसक्यो । तर पनि यो केको ल्याङल्याङ ?”, उसलाई झोक चल्यो । रिसले चुर हुँदै ऊ त्यहाँबाट पनि बाटो लागी ।
दुई कदम मात्रै उसले के उठाएकी थिई, उसलाई झट्ट एकजना साहित्यकार साथीको याद आयो । उनी त्यस हस्पिटलका सेयर होल्डरमध्ये एकजना हुन् भन्ने उसले सुनेकी थिई । उसले तुरुन्तै डाटा अन गरी र मेसेन्जरमा फोन लगाई । संयोगवश दुई घण्टीमै फोन उठ्यो । उसले आफ्ना सबै कथाव्यथा कहेपछि समस्याको समाधान हुने कुरामा ढाडस पाई ।
करिब पन्ध्र मिनेटपछि नै एकजना नर्स आएर उसलाई आमा पनि हजुरबुबा भएकै रुममा सार्नुहोस् रे भनिन् र सार्ने बन्दोबस्त मिलाइदिइन् ।
“आहा! कलमको साइनो कति मजबुत हुँदो रहेछ । मैले भौतिक रूपमा एक पटक पनि भेट्ने मौका नपाएको मान्छेले मेरो यत्रो ठूलो समस्या समाधान गरिदिनुभयो”, उसले बररर्र हर्षको आँसु खसाली ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)