पटकपटकका सुन काण्डले जन्माएको गम्भीर प्रश्नः ढुकुटी रित्तै त छैन कतै ?

बाबुराम पौडेल
शंकरनगर, रुपन्देही

कपडा, शरीरमा लागेकोे अन्य वा सबैखाले फोहर पानीले धुने हो । पानी नै लागेमा केल्ले धुने ?

हो, देशभित्र हुनै सबैखाले अपराध रोक्ने त्यही देशको सरकार, सरकारी निकाय र ती निकायका अक्तियार प्राप्त अधिकारी हुन् । गम्भीर र ठूलाखाले अपराधहरु वा द्विदेशीय, त्रिदेशीय सम्बन्ध वा सुरक्षालाई असर पर्ने अपराधहरु नियन्त्रण गर्न ईन्टरपोलको सहयोग लिने वा अपराधी सुपुर्दगी गर्ने सम्मको ब्यवस्था छ ।

तर नेपालमा त अपराध र तस्करी रोक्न खडा गरीएका अख्तियार प्राप्त निकायका पधाधिकारीकै मिलेमतोमा अपराध हुँदै गएपछि अपराध कसले रोक्ने ? यसै कारण पटक पटक सुन काण्ड दोहोरिए । त्यसो त अन्य भ्रष्ट्राचार, लुट अपराधमा समेत राज्यका प्रतिरोधक निकायका ठूला मान्छे संलग्न रहेको छताछुल्ल छ । पावर नपुग्ने वा राजनैतिक प्रतिशोध लिन पर्ने थुनिदै छन्, पावर वरिपरि हुने उन्मुक्त छन् ।

एभिन्यूज टेलिभिजनले हालै प्रस्तुत गरेको रिपोर्ट अनुसार हालैको सुन काण्डी रेडी ट्रेड जस्तै अरु आठ–दस कम्पनीले गत ११ महीनामा १७०० केजी सोही प्रकृतिका माल बस्तुहरु हवाई मार्गबाट भित्र्याएको खुलासा गरेको छ । त्यो रिपोर्ट तथ्य हो भने तिसौं बर्षदेखि यो देश कसरी तस्कर र अपराधिको स्वर्गभूमि भएछ भन्ने उदाहरण सतहमा छताछुल्ल भएको छ ।

अनलाईन र कतिपय छापाहरुमा समेत नेपाल राष्ट्रबैंकको करिब ५०० मिटर नजिकै तस्करी गरी ल्याएको सुन गाल्न राष्ट्र बैंकमा भएको भन्दा ठूलो र आधुनिक प्रकृतिको मेसिन बरामद भयो भन्ने छ । देशको सुन सुरक्षित राख्ने राष्ट्रबैंक नजिकै तस्करको मेसिन जडान हुनुको रहस्य के होला ?

सुन डलरमा मात्र किन्न सकिने बस्तु हो । कहाँबाट ल्याउँछन् तस्करले त्यतिका परिमाणको सुन खरिद गर्ने डलर ? प्रज्ञापन पत्रमा अर्कै बस्तु आयात गर्ने भन्ने देखाईएको भए सोही माल बस्तुको खरिद मूल्य बराबर डलर सटहीको सुबिधा दिनु पर्ने होला राष्ट्र बैंकले । एक केजी सुन र सोही बराबर तौल भएको ब्रेक सु को मूल्य एउटै त हुँदै हुन्न नि ।

त्यसो भए नेपाली रुपियाँ एक अरबको सुन ल्याउन करिब १.२५ करोड डलर कस्ले दियो ? एक पटक भए त जुगाड गरेहोला भनम् रे लौ । पटक पटक करोडौं डलर कताबाट आउँछ ?

एकातर्फ नेपाली बजारमा दैनिक ३० किलो सुन खपत हुन्छ भन्ने नेपाल सुन चाँदी ब्यवसायी संघको तथ्याङ्क छ भने अर्कोतर्फ नेपाल राष्ट्र बैंकले १० किलो सुन आयात गर्ने मात्र अनुमति र डलर सटही सुबिधा दिने गरको होला । नपुग दैनिक २० किलो सुन र भारतमा समेत तस्करी हुने अत्यधिक मात्राको सुन तस्करीबाटै आपूर्ति भै रहेको छ भन्ने सामान्य ज्ञान होईन र ? त्यो त सरकार र राष्ट्रबैंकलाई पनि थाहै छ त । त्यसो भए दैनिक २० किलो तस्करी भै रहेको सुन किन्ने डलर कताबाट आयो ? बेच्नेले त डलर बिना सुन दिन्न, दिंदैदिन्न नि । बजारको माग र आपूर्ति मिल्ने गरी भन्सार लिएर ब्यापारीले आफै डलर जुगाड गर्ने गरी सुन आयात खुल्ला गर्ने नीति किन लिन्न सरकार र राष्ट्रबैंक ? लिन्न, किनभने तस्करी हरायो भने आम्दानी पनि हराउँछ ।

अचम्म छैन त ? हो, त्यसैले तस्कर र सरकारी निकायको मिलोमतोमा तस्करी हुन्छ ? हुँदै आएको छ । सर्बसाधारणले सियो समेत जँचाउनु पर्ने बिमानस्थल भन्सारमा एकै खेपमा सय किलो सुन झुक्किएर भित्रदैन ।

समग्रमा तथ्य के हो भने पुरै राज्य संयन्त्रको तस्करी र अपराधमा मिलिभगत छ । राजनीतिक पावरमा भएकाले निर्देशन दिन्छ, सरकारी संयन्त्रले काम फत्ते गर्छन् । तस्करी र अपराधबाट आएको पैसा पावर र दर्जानुसार बाँडफाँड गर्छन् ।

उल्लेखित जगजाहेर तथ्यले के आशंका जन्माउँछ भने राष्ट्रबैंककै नजिक बैंकको भन्दा अत्याधुनिक सुन गाल्ने मेसिनमा कतै राष्ट्रबैंककै ढुकुटीमा रहेको नेपाली जनताको सम्पत्ति सुन त पुगेको छैन ? राष्ट्रबैंकले सार्बजनिक खपतका लागि जारी गर्ने बैदेशिक मुद्राको संथितिको अङ्क र ढुकुटीमा भएको रकमको अङ्कले मेल खाला ?

राज्यका सम्बद्ध निकायहरुनै पेशागत धर्म छाडेर देशबिरुद्ध अपराध कर्म र अबैध कमाईमा लागेपछि जनताले अब कसको विश्वास गर्ने ? राष्ट्रबैंकको ढुकुटीमा भएको सुन र विदेशी मुद्रा कतै सकेर रित्याएका त छैनन् ? कसले हेर्ने ढुकुटी ?

सरकार, प्रणाली र शासन प्रशासन चलाउने निकायहरुप्रति विश्वासको धुलिसात भयो नि हैन र ? जनताले सरकारको कुन निकायको भरोसा गर्ने ? कसले भनेको पत्याउने र ?

फोहर लागेमा पानीले धुने, पानी लागे केल्ले धुने हो ?

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button