झाङ्गिएर हिँड्छु, चाहिन्छ फराकिलो ठाउँ, अंग्रेजीमा ‘बटल गर्ड’, लौका मेरो नाउँ

शान्ता भट्टराई

झाङ्गिएर हिँड्छु, चाहिन्छ फराकिलो ठाउँ
अङ्ग्रेजीमा ‘बटल गर्ड’ रे लौका मेरो नाउँ ।

कुनै लाम्चो, कुनै डल्ले थरी थरी छन् जात
लहरामै घुम्दै फल्नुपर्छ चिल्ला हुन्छन् पात ।

मधेसी बोलीचालीमा ‘कद्दु’ भन्छन् रे मलाई
जसले न्वारान गरे पनि मैले गरेकै छु भलाई ।

रक्तचापलाई नियन्त्रण, शरीर शीतल राख्ने
नाक्कनिक्क गर्नेहरुले अब लौका चाख्ने ।

तौल घटाउन राम्रो अरे लौकाको जुस
सिलिम बन्न चाहनेहरु अब हुन्छन् खुश ।

सबैतिर फल्छु म हिमाल, पहाड, तराई
प्यारो छु सबैको कोही छैनन् पराई ।

खुर्किएर खस्रो भाग थोरै फाल्नुपर्छ
नुन ठिक्क मात्रामा चना हाल्नुपर्छ ।

यति काम गरेपछि सबको मन छुन्छु
हल्का पिरो बनाउनू नत्र गुलियो हुन्छु ।

छिप्पिएको मीठो हुन्न, कलिलैमा खानू
पानी, मल बेलाबखत विचार गर सानू ।

यति भन्दै आमाले बोलाउनुभो कान्छा
सब्जी छ लौकाको, साह्रै मीठो भान्सा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button