आ-आफ्नो दिन आफैले गुजार्ने हो
आफुभित्रको सन्तुष्टि
जानुका वस्ती ढकाल
न्युयोर्क, संयुक्त राज्य अमेरिका
जीवनको प्रत्येक चरणहरूमा डुलिरहॅदा
कतै
आफैभित्र लुकेका
केहि सुक्ष्म कुराहरूले
पूर्णता पाएको महसुस हुन्छ
तर
कतै आशामा निराशा भईरहेको हुन्छ ।
यो कुनै नौलो भने हुँदै होइन
आखिर एक सरल मानवका लागि
जसभित्र सबैकुरा साधारण रहन्छन्
त्यसैमा अनुगमित भईरहँदा
सतत सत्य स्वीकार गर्नेहरूलाई
भ्रमको तेज गतिले उछिनिरहेको लाग्छ
त्यही सत्य र भ्रमको बीचमा आफू
उभिईरहेको पाउँछु ।
यथार्थ लुकाउने र नलुकाउने
दुई थरीका हुन्छन्
कोही जस्ताको त्यस्तै भेटिन्छन्
कोही फरक फरकका देखिन्छन्
सबैका आ–आफ्ना ईच्छा हुन्छन्
कसैका पूरा होलान्
कसैका नहोलान्
तर हुनेहरू तुजूकमा नाच्छन्
अहं भएर मेरै सबै भन्छन्
खै मभित्रको मेरोमा त छायाँ
मात्रै भेट्छु ।
समयको बाहुलीमा पालिएका हरेक विचारले
मान्छेलाई एकछिन् बलियो बनाउँछ
एकैछिनमा कमजोर पनि बनाईरहेको हुन्छ
सर्सर्ती हेर्दा आत्तिनुपर्ने केहि छैन
कसैको देखावटी र चतुर्याईमा
फाल हान्नु नै पर्ने पनि केहि छैन
आ–आफ्नो दिन आफैले गुजार्ने हो
जे छ मान्छे
त्यसैमा सन्तुष्टि मान्नै पर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)