आशाको स्विच अफ गरिदिनु, बिन्ती! आमा मलाई माफ गरिदिनु

सुप्रिया खनाल

हेर त आमा
जिन्दगीको परीक्षामा फेल भएकी तिम्री छोरी
आज उत्तरपुस्तिकाको
परीक्षामा पनि फेल भएकी छे
या यो भनौं
जिन्दगीले नमज्जाले खेलाउने
रखेल भएकी छे ।

आमा हेर त
हारेँ मैले
आज मन पनि फेल भएको छ
हिजो सुनको भाउमा बिक्ने मेरो अक्षरहरु
आज त सस्तोमा बिक्ने होलसेल भएको छ ।

भन्दा आफैलाई लाज लाग्छ
सायद मुटुमा आजभोलि
धेरै नै कडाइ भएको छ
पहिला प्रथम भएर
पुरस्कार ल्याउने यि हातहरुले
अहिले कलम छुन बिर्सिसकेछन्
आजकाल बस् औंलाहरू
मोबाइलको स्क्रिनमा
आफ्ना भावहरू लेख्ने गर्छन्
यही नै मेरो पढाई भएको छ ।

हुन त जिन्दगीको
भर नभएको होइन
अगाडी बढ्न परिश्रम गर्ने
जाँगर नभएको होइन
बारबारको असफलताले ढालिदिन्छ मलाई
लक्ष्य भन्दा कोसौ पर फालिदिन्छ मलाई ।

रुवाउने मनसाय थिएन
हाँसो दिन सकिन
संसारबाट बिदा हुन
घाटीलाई पासो दिन सकिन
भो, मेरो आस गरी बसेको
तिम्रो आशाको स्विच अफ गरिदिनु
सक्दिन मैले प्रगति गरी देखाउन
आमा बिन्ती मलाई माफ गरिदिनु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button