लड्डु खाएर योग हुन्छ ?

रितु शाक्य

आज २०७९ सालको माघ १ गते यानिकी माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीक पर्व जुन दिन घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात् मुरैको लड्डु अनि च्यूराको लड्डु बनाएर खाने चलन रहिआएको छ । तरुल, सखरखण्ड, पिँडालु उसिनेर विभिन्न परिकार बने खाने चलन छ र यस्ता पोसिला खानेकुरा खानाले शरीरमा न्यानोका साथसाथै अन्य चर्म रोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ । आजको दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सीधा दान गरेमा रोग व्याध र कष्टहरू हटेर पूर्ण स्वस्थ हुन सकिन्छ भन्ने जनविश्वास रहिआएको छ ।

आजकै दिन राष्ट्रभरीका योगअनुरागीहरुको बिशेष दिन राष्ट्रिय योग दिवसको योग पनि परेको छ । घ्यू, चाकु, तिलको लड्डु , तरुल, पलुन्गोको विभिन्न परिकार खाएर शरीर बलियो गरी योग गर्न सायद दुवै एकै दिनमा पारेको हो कि जस्तो लाग्छ ।

साधारण मानिसहरुको बुझाइमा ब्यायाम गर्नु, हातखुट्टा चलाउनु नै योग जस्तो लाग्छ तर वास्तबमा योगको अर्थ बृहत छ । योग भन्नाले जोड भन्ने बुझिन्छ । जीवन विज्ञानको एउटा बिशेष कक्षामा मैले योगको अर्थ जान्ने मौका पाएँ । योगलाई तीन चरणमा बुझ्न सकिन्छ ।

पहिलो चरण अन्तर्गत, हाम्रो शरीर र मनको मिलन नै योग हो । मेरो शरीर जहाँ छ यदि मेरो मन त्यहाँ छ भने त्यहि योग हो । जसको शरीर र मन एक ठाउँमा हुन्छ उसको जीवनमा कहिले पनि मानसिक समस्या आउँदैन । जसको शरीर र मन अलग हुन्छ उसको जीवन वियोग बन्छ । कुनै पनि आशन, प्राणायाम, हठयोगहरु सबै शरीर र मनलाई जोड्न नै बनाइएका हुन् । पतंजली योगको आठ अंगहरुमध्ये यम, नियम, आशन, प्राणायाम र प्रत्याहारसम्मलाई यो प्रथम चरणको योग मान्न सकिन्छ जसले व्यक्तिको मनलाई शान्त बनाउछ भने उसले जीवनको असली मज्जा लिन सक्षम हुन्छ ।

दोश्रो चरण अन्तर्गतको योगमा मन र ध्यानको जोड पर्न आउँछ । मन भनेको विचारहरुको समूह हो जुन बाहिर जगतसंग सम्बन्ध राख्छ र ध्यान भनेको आन्तरिक जगतसँग सम्बन्ध राख्दछ । बाहिर डुल्ने मन यदि अन्तरिक आकाशमा अडियो भने त्यो बोध बन्दछ । जब कुनै कर्ममा मन डुब्दै जाने क्रममा एउटा बिषयमा केन्द्रित हुन्छ र मन ध्यानमा बिलिन हुनपुग्छ, यो अवस्थामा व्यक्ति आत्मज्ञानले भरिन्छ । यो पलमा उसले अशिम आनन्दको अनुभब गर्दछ ।
तेश्रो चरण को योग मा मन र ध्यानको योगपश्चात व्यक्तिले अत्मस्तको अनुभव भएपछि बिस्तारै उसले अझ गहिरिने क्रममा परमात्माको विराट उर्जालाई सत्क्षात्कार गर्न सक्ने हुन्छ जहाँ आत्मा र परमात्माको योग बन्छ । यो अवस्थामा उसले परम आनन्दको अनुभूति गर्छ र उसको हरेक कुरामा साक्षी भावको विकाश हुन्छ । ऊ जीवनका हरेक दुखबाट मुक्त हुन्छ र मोक्ष पद प्राप्त गर्न सफल हुन्छ । यही नै वास्तवमा योग हो ।

यो पूर्ण योग हो जुन व्यक्ति आफैले कमाउनु पर्छ । भगवान बुद्धले पनि भन्नु भएको छ कि जुन पथमा म हिँडेको छु त्यो पथमा तिमी आफै हिड्नु पर्छ अनि मात्र तिमीले आफैले मोक्ष प्राप्त गर्न सक्ने हुन्छौ ।

अन्तमा, आजको पावन दिनबाट सबैले स्वस्थकर आहारबाट शरीर शुद्द र स्वस्थ बनाई, दान धर्मले मन शुद्द र स्वस्थ पारी, पूर्ण योगको मद्दतले जीवनलाई मोक्षको पदमा लान सकोस्, सम्पूर्णमा हार्दिक शुभकामना !

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button