नयाँ वर्षः समय बदलिने कि सत्ता ?
पेशल आचार्य
हिसाब छैन
अहिलेसम्म कति मनाइयो कति
नयाँ वर्षहरू
जानेर या नजानेर
कति पार गरिए कति
समयका दुर्गहरू
कति हिँडिए उकाली ओराली बाटाहरू
कहिले फूलको कालिन टेकेर
कहिले काँडालाई हाँस्दैहाँस्दै छेकेर
जिन्दगीको मन्जिल पछ्याउँदै
सुस्तरीसुस्तरी दौडेर पार गरिए
कति लक्ष्मण रेखाहरू
पौडेर पार तरिए
कति गहिरा अभावका नदीहरू ।
अचेल पो मानिस टाढा
र शब्दहरू नजिक हुन खोज्छन्
उहिलेउहिले त मानिस नजिक
तर शब्दहरू टाढाटाढा हुन्थे
वारि भित्ताबाट बोलाउँदा सुनिन्थ्यो
तर भेट गर्न गयो दिनभरि लाग्थ्यो !
अचेल त सहरका कोलाहलबीच
हरेक मानिस एक्लो छ
गाउँका निरवताबीच पनि
हरेक मानिस फगत सग्लो छ ।
बाँच्ने क्रम–उपक्रममा
फेरि अर्को नयाँ वर्ष हाम्रो घर–करेँसामा
टुप्लुक्क आइपुगेको रहेछ
पाहुना यो नयाँ वर्ष !
वास्ता नगर्नु पनि त भएन
आफ्नैजस्तो गर्नु पनि त भएन
स्वागत् गरेरै यसलाई भित्र्याउन मन छ !
हार्दिकता व्यहोरेरै यसलाई खुसी पार्न मन छ !
हाम्रा पूर्वजले भन्थे–
‘अतिथि देवो भव !’
नयाँ वर्षमा
समय फेरिनु पर्ने हो
तर यसपटक पनि सत्ता फेरियो
सत्ता त निर्मोही हुन्छ !
सत्ता त लोभीपापी हुन्छ !
सत्ता त फोहोरी हुन्छ !
सत्ता त जब्बर हुन्छ !
सत्ता त कूटिल हुन्छ !
समयले नयाँ पुस्ताका मुलायम इच्छाहरूलाई
खै ! सम्बोधन गरेको ?
समयले नयाँ विचारका पखेँटाहरूलाई
खै ! शुभयात्रा भनेको ?
के यसैगरी
नयाँ पुस्ता र नयाँ विचारका
यात्राहरू चरैवेतीचरैवेती हुन सक्छन् र ?
सुदीर्घ सुवास दिग्दिगन्तसम्म फैलन्छन् र ?
कोसँग सोधूँ यी जीवनवादी जिज्ञासाहरू ?
कोसँग राखूँ यी प्रेमिल प्रश्नहरू ?
नयाँ वर्षको सँघारमा
म यतिखेर अल्मलिएको छु
म यतिखेर हल्का अधैर्य भएको छु !!!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)