हे वीरेन्द्र ! कता भेटूँ ? शान्ति नेपालमा यहाँ

प्रीति आत्रेय ज्ञवाली

चाँदनी छिन् साथमा सधैँ
कहिल्यै देख्नु पर्दैन औँसी तिमीले

…… यो कविताको अंश हो ।

कुनै साहित्यिक कार्यक्रममा, तत्कालीन राजा वीरेन्द्रको शुभ जन्मोत्सवमा शुभकामना कविता वाचन गर्न कविता लेखेकी थिएँ । धेरै पहिले लेखेको भएर पूरै कविता सम्झना छैन । शुभ जन्मोत्सव स्मारिकामा छापिएको पनि छ ! स्वर्ण महोत्सवमा हो कि २०५२-५७ सालमध्येको कुनै एक सालकोमा लेखिएको कविताको अंश हो यो ।

जहिले जहिले पुस १४ गते आउँछ, सधैँ सम्झिन्छु । साहित्यकार क्षेत्रप्रताप अधिकारी अंकल पनि त्यस कार्यक्रममा संलग्न हुनुहुन्थ्यो । हामी तराइमा पनि एकै जिल्ला, काठमाडौँमा पनि एकै टोलमा भएका नाताले घर वरपर हुने विशेष समारोहमा हामी प्रायः भेट हुन्थ्यौँ । बानेश्वर घर नजिकै एउटा पार्टीमा क्षेत्रप्रताप अंकलसित भेट भयो । त्यसै भेटमा मैले अंकलसित राजाको जन्मोत्सवमा मैले कविता लेखेको जसमा यी लाइन पनि छन् भनेर चर्चा गरेँ । अंकल मेरो कुरा सुनेर मुसुक्क मुस्काउनुभयो । अनि एकै छिनमा दुई वटा स्मारिका र दुई वटा पाँच सयको नोट लिएर मेरो छेउ आउनुभयो । अनि मलाई दिँदै यो यौटा तिम्रो अनि यौटा बुवाको हो, आत्रेयजीलाई दिनु है भनेर दिनुभयो र बिदा हुनुभयो । यसरी मैले लेखेको कविताले पारिश्रमिक पाएको र स्मारिकामा छापिएको भनेर दंग परें । भेटिएदेखि त्यो स्मारिकामा मेरो कविता अझै पनि सुरक्षित नै होला ।

बुवाले मलाई नघच्घच्याउनुभएको भए मैले त्यो कविता लेख्दिनथेँ होला । पुस महिनाको जाडो याममा बुवा छतमा बसेर घाम ताप्दै आफ्नै लेखन कार्यमा व्यस्त हुनुहुन्थ्यो । म पनि छतमै भएको बेला बुवाले ल राजाको जन्मोत्सवमा कविता सुन्ने सुनाउने कार्यक्रम छ, झट्ट कविता लेखिहाल् भन्नुभयो । मैले राजाको बारेमा म के लेखौँ, म राम्रो जान्दिनँ भन्दा, जस्तो आउँछ त्यस्तै लेख् न । आफूले जानेको कुरा मिलाएर यौटा गद्यमा कविता लेखे भो नि ! भने पछि म हातमा कापी र कलम लिई मुढामा बसी सोचमग्न भएँ…. अनि कविता लेखेँ बिच भागमा माथिका लाइन थिए । बुवालाई देखाएँ, बुवाले हेर्नु भो, ती लाइन बुवालाई पनि मन पर्यो र यस्तै त हो नि कति राम्रो लेखिछस् ….. लेखेपछि हुने त रहेछ नि ! ल झट्ट राम्रो बुझिने अक्षरमा एकापट्टि मात्र लेखेर पन्नामा सार । म पनि फटाफट दाह्री फाल्छु अनि जानुपर्छ….

यसरी कविता लेखियो जुन मेरो लागि आजीवन स्मरणयोग्य छ । त्यतिबेला मैले अल्छी गरेको भए कविता लेखिँदैनथ्यो । कताबाट जाँगर गरेर लेखिछु । लेखेकी भएर आज यतिका वर्ष पछि पनि विगत सम्झिन पाएकी छु ।

अझ, कविता सम्झिँदा रमाइलो लाग्ने यी कुराका साथै यी दुई लाइनको महत्ता पनि एक पाटो हो । त्यतिबेला मैले लेखेको कविताका यी लाइनमा जस्तै

चाँदनी छिन् साथमा सधैँ
कहिल्यै देख्नु पर्दैन औँसी तिमीले

राजा वीरेन्द्र बाँचुन्जेल सधैँ चाँदनी (रानी ऐश्वर्य) कै साथ रहे । हरेक महिनामा तिथिले कृष्ण पक्षमा औँसी परे पनि उनकी श्रीमतिको उपनाम चाँदनी भएको कारणले उनले कहिल्यै बाँचुन्जेल जीवनमा अँध्यारो देख्नुपरेन । उनलाई उनकै चाँदनीले जीवनपर्यन्त जोगाइरहिन् ।

अहिले मलाई खै किन किन मनमा लाग्छ, शायद मैले कविता लेख्दा
अझै दुई लाइन…..

नलागोस् कुनै ग्रहण चाँदनीमा
जोगाऊन् तिमीलाई सधैँ उनीले

………यस्तो पनि भनेर लेखेकी भए हुन्थ्यो नि ! मेरो त्यतिबेलाको बुद्धिले त्यति मात्र लेख्न जानेँ र त्यति लेख्न सकेकोमै फुरुक्क परेँ ।

शायद् त्यो जेठ १९ को कालो रातमा ऐश्वर्य आफू आहत नभएकी भए राजालाई आफ्नो सौभाग्यलाई अवश्य बचाउने थिइन् होला ! शायद् अहिलेको समय अर्कै हुन्थ्यो होला । आज म राजाकै जन्मोत्सवको लागि कविता लेख्दै हुन्थेँ होला । अहिले छन्दमा पनि कलम चलाउने भएकीले छन्दमै कविता लेख्थेँ होला पक्कै पनि भन्दै निकै भावुक बनेँ ।

आज न त मेरो कविताका नायक, न त मेरा आदर्श पिता र न त स्मारिका र पारिश्रमिक ल्याएर दिने स्नेही अंकल नै हुनुहुन्छ । तीनै जना यस लोकमा हुनुहुन्न तर यी तीनै जना सम्झाउने मेरो कविताको लाइन भने सधैँ मेरो मानसपटलमा अविस्मरणीय रहनेछ ।

यसरी, आज मैले विगतका कुरालाई सिंहावलोकन गरी सम्झिएँ । शायद् यी तीनै जनाले साथमा चाँदनीले पनि परलोकबाट देखिने भए हेर्दै हुनुहोला र ती कुरा सम्झेर हाँस्दै हुनुहोला । यति भन्दै प्यारा राजालाई यी नयाँ पंक्तिहरूमा फेरि सम्झिँदै अनुष्टुप् छन्दमा शब्दरूपी श्रद्धासुमन अर्पण गर्दछु …….

छहारी थ्यौ तिमी हाम्रो, नेपालको सधैँभरी ।
रुवाएर गयौ राजा, परिवार सँगै तिमी ॥
त्यहाँ पनि बसायौ कि ! राज्य नेपाल छौ जहाँ ।
हे वीरेन्द्र ! कता भेटूँ ? शान्ति नेपालमा यहाँ ॥


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button