सम्झिँदा पनि कहाली लाग्छ बाइ मलाई त !

पाखा पखेरामा बाल्यकाल

मञ्जु श्री पौडेल

कति प्यारो ! त्यो वाल्यकाल, त्यो सङ्घर्ष, बाध्यता, रहर, दुःख अथवा दैनिकी के थियो थाहा छैन । बिहान घाँस काट्न जानु अनिवार्ये नै हुन्थ्यो । आफ्नो खेतबारीमा नभएर त के हुन्थ्यो ! वनमा जाने रहरले जहाँ अप्ठ्यारो र असजिलो छ, त्यहीँ गएर घाँस काट्नु पर्ने क्या । त्यहिँ हुन्थ्यो गाईभैंसीलाइ मनपर्ने राम्रो घाँस । राम्रो घाँस खान पाए गाईभैँसीले धेरै दूध दिने अनि धेरै घिउ हुने, त्यही घिउ बेचेर व्यवहार चलाउनु पर्ने बाआमाको बाथ्यता । धेरैजसो त, त्यही पनि कहिले काठमाडौं त कहिले चेलिबेटीलाइ कोसेलीको पोको बनाउँदै ठिक्क ! विचरा !

धेरैलाई थाहा छ नि है, त्यो चिचेपुको अप्ठ्यारो भिरको बाटो घाँसको भारी बोकेर खुट्टामा सल्किएका जूका टिप्दै सजिलै पार गरेको । कसैलाई याद आउँदैन होला कि ! कठै ! आज सम्झिँदा पनि कस्तो कहाली लाग्छ बाइ मलाई त ! अनि बस्ने ढुङ्गामा भारी बिसाएर गीत गाउन थालेपछि फेरि दिन बितेको के पत्तो हुन्थ्यो र ! घरका मान्छे आत्तिएर खोज्न जाने कहिले त ।

अनि त्यो बिमिरेको उत्तापट्टि क्या ! साल्घारितिर एक्लै जाने, कहिले बाघ देखिन्थ्यो त कहिले अरु जनावर । हरे ! अहिले सम्झन्छु त्यत्ति बेला किन डर नलागेको होला नि ! गोठमा घाँसको भारी बिसाएर तरकारी भात खाँदा कति मज्जा ! कति मिठो ! दिउसो गाईबाख्रा गोठालो त छँदैछ ।

एक दिन एउटा बाख्रा पहरामा गएर फर्किन सकेन र तल हाम फाल्दा भुतुककै मर्यो, विचरा ! अनि एकदिन त्यो माथि थुम्कीको डिलबाट एउटा बच्चा लडेर तल रुखमा आएर अड्किँदा पनि सकुशल नै भएको पनि याद छ । भारी बोकेर त्यो उकालो बाटो सकेर चौतारीमा बिसाइ बसेरी धाराको पानी तँ कति मिठो नि ! वाह !

क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button