भुईचालोले सतायो, बाढी पहिरोले दुःख दियो, कोरोनाले थलायो

शान्तिको विगुल

विद्या खड्का

‘विद्या ! आज तिम्रो मुहार काला बादल मडारिएकोझैं देख्दैछु । के भयो ?’, मीसको प्रश्न सुनेर झस्किन्छिन् उनी ।

‘हेर्नुस् न मीस, जता हेरे पनि भीड भाड, कोलाहल, रोग, भोक, असुरक्षा, सँधै हत्या, बलत्कार, चोरी डकैतीका समाचार हाम्रो देशमा मात्र हैन, विदेशतिर पनि त्यस्तै छ । एक अर्का देशसँग युद्ध गरेका छन् लडेका छन् । अकारण र अकालमै कति मारिएका छन् । हाम्रै समयमा भुईचालोले सतायो, बाढी पहिरोले दुःख दियो, कोरोनाले थलायो । मलाई त दिक्क लागिसक्यो । कति अशान्त छ यो संसार । यस्तो आक्रान्त धर्तीमा कसरी बाँच्ने होला ?’

‘कोलाहल बाहिर हैन, तिमी भित्र छ । तिमी योग, ध्यानको अभ्यास गर । चित्तलाई शुद्ध, सफा र शान्त बनाऊ । जब तिमीभित्र शान्ति भेट्छौ, तब संसारको कोलाहलले केही फरक पर्दैन । ‘

विद्या निन्द्राबाट बिउँझन्छिन् ।

‘अहो ! गुरु भनेको त साँच्चै अँध्यारो हटाउने व्यक्ति नै हुन् । आज मीसले सपनामै आएर कति ठुलो ज्ञान दिनुभयो । मेरो कानमा शान्तिको विगुल फुकेर जानुभयो । बच्चा बेलामा पनि यस्तै गरी सम्झाउनु हुन्थ्यो ।’

सबै शिक्षकले आफ्नो पेशालाई काम मात्र नठानेर यस्तै गुरु बन्ने हो भने यो संसार भौतिक, अभौतिक दुबै रूपमा शान्त हुन समय लाग्ने थिएन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button