
जिउँदै दिवंगत मान्छेहरु
प्रतिमा शर्मा
(जिउन र न्याय पाउन
केहि आस गर्दै -२)
टुलुटुलु हेर्दै गरेका ती कोपिलाहरु -२
माथिबाट चुइटाइन्छ,
तलबाट चुटाइन्छ,
हो, ती कोपिलाहरु नफुल्दै चुइटाइन्छ,
ए दिवङ्गत मान्छेहरु हो,
के फरक छ ?
जिउँदो लासमा तिम्रो सास उस्तै छ ।
विकास र निकासका कुरा गरिन्छ,
नागरिकले आखिर के पाइन्छ ?
कुर्चिको भाग दौडमा त्यहाँ
हारजितको सपना उस्तै उस्तै छ,
के पायो र भूमिले ?
जिउँदो लासमा तिम्रो सास उस्तै छ,
ए दिवङ्गत मान्छेहरु हो
के फरक छ ? उहिले र अहिले ?
जिउँदो लासमा तिम्रो सास उस्तै छ ।
परिवर्तनको नाम बेचेर
वाईघात गुमनाम चरित्र बोक्दै
आफ्नै लागि जोरजोर कात्रो किनेका छौ
कहाँबाट लुट्न सकिन्छ,
यत्र त्यत्र चिनेका छौ ।
त्यसैले,
रुवाबासी मच्चिन्छ छोड्दा कुर्चीहरु
के पायो र सिरले यहाँ ?
तलबाट देखें
कुना र काप्चाबाट देखें
जिउँदो लाशमा तिम्रो सास उस्तै छ,
ईमान र जमान नहुने
जिउँदो लासमा तिम्रो सास उस्तै छ
जिउँदै मलामी जाने साथ उस्तै छ
ए जिउदै दिवङ्गत मान्छेहरु हो
कोपिलाको मुर्दावाद छ
जुनकिरीको मुर्दावाद छ
फूलहरुको मुर्दावाद छ
जूनहरुको मुर्दावाद छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



