सम्झनामा ‘कम्युनिष्ट आदर्शका सतिसाल’ स्वनाम साथी

स्वनाम साथी एक मार्क्सवादी आदर्श व्यक्तित्व हुनुन्थ्यो, एक असल कम्युनिस्ट ! तपाईंको सख्त खाचो भएकै बेला तपाईं रहनु भएन भन्ने खबरले मर्माहत बनाएको छ ! तपाइका आदर्श हामी माझ बाचिरहनेछ ।
शकुन्तला जोशी, कवि/पत्रकार

‘मेरो सानू साथी’ कमरेड सोनामले गर्नुभएको सम्बोधन अहिले पनि कानमा गुन्जिरहेको छ । त्यसताका कमरेडहरुको हुलमा सायद मलाई सबैभन्दा सानी देख्नु भएछ । उहाँ सानो कमरेड भन्दै आउनु भो अनि भन्न थाल्नु भो ‘तपाईंको यो व्याइजकट कपालकोबारे साथीभाइले के भने, समाजले के भने, घरपरिवारले के भने अनि कस्तो महशुस भयो लेखेर मलाई दिनुेस है’ भन्दै इमेल एड्रेस र फोन नम्बर मेरो हातमा थमाउनु भयो । अनि उहाँको साथमा भएको केरा खोसल्दै मलाई खान अग्रह गर्नु भयो । मैले अप्ठ्यारो मान्दै आधि केरा खाँए, बाँकी सोनाम दाइले खानु भो । म अफसोसमा परेँ । मेरो कलिलो मथिङग्ल हल्लियो । यति ठुलो नेताले मेरो जुठो खानु भो । त्यसमा पनि म समाजले अछुत मानेको मान्छे । हैन, कम्युनिस्ट भनेको महान हुने रहेछ्न् । सबैलाई सम्मान गर्दा रहेछ्न् उहाँप्रतिको सम्मान र आदर्श भाव लिएर म भेलाबाट फर्किए। उहाँको राजनीतिक प्रशिक्षण पटक पटक प्राप्त भयो । उहाँले लेख्नु भन्नु भएको अनुभुति मैले उहाँलाई दिनै पाइन । नेपाली राजनीतिक आकाशको एउटा नक्षत्र, अत्यन्त सरल, सहज प्रिय मान्छे नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर आज अस्ताउनु भयो । यसले कम्युनिस्ट आन्दोलनमा अपुरणिय क्षति गरेको छ । कमरेड सोनामप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार जनहरुप्रति गहिरो समबेदना प्रकट गर्दछु । अलबिदा सोनाम साथी ।
अनिता परियार, राजनीतिकर्मी

कम्युनिष्ट आदर्शका सतिसाल कमरेड सोनामप्रति भावपूर्ण श्रद्धान्जली ।
शंकर पोख्रेल, मुख्यमन्त्री, लुम्बिनी प्रदेश

अनन्य मित्र स्वनाम साथीको कोरोनाभाइरसमाथि विजय हासिल गरिसकेपछि पनि न्युमोनियाका कारण भएको मृत्युबाट मेरो पुरै परिवार स्तब्ध र दुखित भएको छ । उनी नेपालका त्यस्ता अति थोरै मानिस थिए जसको निजी स्वार्थ थिएन । देश र समुदायको हित नै उनको सबै कुरा थियो । उनको मृत्युमा सिंगो देश शोकाकुल भएको छ । उनीप्रति दिलैदेखि श्रध्दाञ्जलि ! बहिनी किरणलाई हार्दिक समवेदना !
श्याम श्रेष्ठ, वाम विश्लेषक

प्रिय स्वनाम दाई !
हामी भेटिएका रहेछौं ०६० सालमा । त्यसयताको दिनका कति सम्झना मुटुभरी छन् के हिसाब !
भर्खरै शान्तिप्रक्रिया शुरु भएपछि विप्लव मनमैजुमा डेरा लिएर बस्नुभएको समय थियो । त्यहाँ तपाइँ, विप्लव दाई र मैले झण्डै ३ घण्टा कुरा गरेर विप्लब दाईको डेरामा ढिंडो खाएर फर्किएका थियौं ।
कुराकानीको क्रममा वलिदानको सन्दर्भमा विप्लव भावुक भएपछि तपाईंले भन्नुभएको थियो : साथी हामी कति बाँच्ने होइन, कसका लागि, के का लागि बाँच्ने र कति मानिसको मनमा बाँच्ने भन्ने मुख्य कुरा हो ।
स्वनाम दाई !
तपाईंले सिँगै जिन्दगी गरिखाने वर्गका मानिसहरूको पक्षमा निर्भिकतापूर्वक, शालिनताकासाथ बाँच्नु भयो । हामी जस्ता अगणित मानिसहरुको मुटुमा प्रेमपूर्वक बाँच्नुभयो । बाँचिरहनु हुनेछ ।
तपाईंको महाप्रस्थानको खबर जति अपत्यारिलो छ, उत्तिकै पीडादायी र स्तब्ध बनाउने ।
तपाईंप्रति सधैं सधैं सम्झना र सम्मान ! किरणजी र हामी सबै स्वनामका स्नेहीहरुप्रति समवेदना !!
अलविदा आदरणीय गरिखानेका मित्र !!!
यादव देवकोटा, अध्येता

साथीहरू ! कमरेड स्वनाम साथीको दुःखद् निधनबाट हामी एउटा असल मान्छे, एउटा सन्त कम्युनिस्ट र एउटा प्रेरक अगुवाबाट बिछोडिएका छौं । उहाँका अन्तर्वार्ता, विचार पढ्दै आएको विगत २० वर्ष र फुटकर सङ्गत गर्न पाएको पछिल्लो १२ वर्षमा सधैंभरि उहाँप्रति सम्मान बढिरह्यो । सधैंभरि उहाँबाट उत्साह मिलिरह्यो । निराश हुँदा, एक्लो पर्दा र दिक्क भइरहँदा सम्झन मन लाग्ने थोरै नामहरुमध्ये एक थियो– स्वनाम साथी। नयाँ पत्रिकामा काम थाल्दा मैले पहिलो अन्तर्वार्ता उहाँसँगै लिएको थिएँ। त्यसयता धेरै औपचारिक वार्ताहरु र अनौपचारिक संवादहरु भए । उहाँका संवाद र विचारहरुलाई संकलन गरेर धेरैभन्दा धेरै पाठकबीच लैजानेबारे पनि केही चरण हामीबीच कुरा (प्रारम्भिक काम) भएको हो। धेरै संस्मरण छन्, धेरै उत्प्रेरणा छन् ।
संगीत श्रोता, पत्रकार/लेखक

भेटघाट र बातचित गर्छु भनेको अब घाट र चित मात्र बाँकी भो । उहाँको लेखाइ पढेको छु । उहाँको सादा जीवनका थुप्रै किस्सा सुनेको छु ।
दामपन्थी-कमाउनिस्ट ढोङबारे पछिल्लोपटक उहाँको लामै लेख पढेको थिएँ । सर्वहारी कमरेडहरू कट्टु खोलाखोल गरिरहँदा एक जना सच्चा सर्वहाराले भौतिक शरीर छोडेर गए । हार्दिक श्रद्धाञ्जलि साथी ।
विमल आचार्य, पत्रकार/लेखक

मेरो साथी, हामी सबैको प्यारो साथी (डियर कमरेड) सोनाम साथीको निधनले स्तब्ध छु । साथी ! हजुरले कल्पेको समानतामुलक समाज, आमुल परिवर्तनकारी व्यवस्था र समृद्ध राष्ट्र निर्माणको अपुरो सपनालाई पूरा गर्ने अभियानमा हामी दृढ छौ। हामी यस दुखद् घढीमा प्रण गर्दछौं, अलविदा डियर कमरेड (साथी) ।
जन्मदेव जैसी, केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ

प्रिय स्वनाम साथी, जे सुनें मर्माहत छु । तपाईंसङ्ग भएका भेट र भलाकुसारी यादगार रहनेछन् । तपाईंको ब्रम्हको इन्साइक्लोपेडियाका केही छेउ भावी पुस्ताको लागि सङ्ग्रह गर्ने मेरो सपना अधुरै रह्यो । तपाईंको अभाव सधैं महसुस हुनेछ । श्रद्धाञ्जली ।
प्रकाशमणि अम्गाईं, टुर गाइड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button