राम्रो सारी लगाउने रहर

मात्रीका भन्डारी मुना

२०३९ सालको कुरा हो । स्थानीय चुनाव थियो त्यो दिन ।

उबेलामा राम्रा लुगा र गरगहनाले सजिसजाउ भएर लाम लागेर भोट खसाल्न जाने चलन थियो । जस्तै बिहे बर्तबन्ध, पार्टी भोजमा गए जसरी शोभायमान भएर सबैजना सजिसजाउ भएर हिंडेको देखेर म भने घुटुघुटु थुक निल्दै टुलुटुलु हेरिरहेको हुन्थेँ, उनीहरुप्रति एकोहोरो भएर । किनकि मेरो पनि मनमा उनीहरुको जस्तै राम्रो सारी र गरगहना लगाएर झकिझाकाउ देखिएर भोट खसाल्न जाने रहर थियो । तर, मसँग थिएन त्तिति माथिपुग्ने सामर्थ्य र सारी किन्ने क्षमता । गरगहनाको त कुरै नगरौं, माइतीले दिएको अलिअलि पनि उहाँकै पढाईमा खर्चंदै थिएँ ।

आफ्नो राम्रो लगाउने र मिठो खाने रहर भने सबै उकुसमुकुस भएर भित्रभित्रै मडारिने गर्थे र मलाई प्रश्नचिन्ह खडा गर्दथे मेरो मनभित्रका रहरहरुले । कहिले भन्थे, ‘मुना ! आफ्नु रहर पुरा गर । जिन्दगीको के भरोसा आज छ भोलि के हुन्छ !’ अनि फेरि कहिले भन्थे, ‘मुना ! किन निराशाको आशु बगाउँछेस् ? औँशीको कालो रातपछि पुर्णिामाको उज्यालो जुन देखिने छ । र, यी सबै तेरा दुख अतिततिर मोडिने छ्न् एकदिन । धर्य गर ।’ त्यसो भनेर समझदारीतिर धकेल्ने गर्दथे मेरा सारा इच्छा आकांक्षालाई मभित्रका अनेकौं भावनाहरुले ।

मेरो श्रीमान बिकम पढ्दै हुनुहुन्थ्यो । त्यो बेला पैसाको स्रोत थिएन । दुखले उहाँको पढाई र घर व्यवहार चलिरहेको थियोे । दिन सँगसँगै महिना र बर्ष बित्दै गयो । र, केहि राहत हात पर्न थाल्यो । उहाँले खाद्य सँस्थानमा जागिरको कुर्सी पाउन सफल हुनुभयो । त्यहाँदेखि निकै सहज महसुस पनि भयो । महिनैपिच्छे पैसाको मुख देख्न पाँउदा मेरो जिन्दगीमा खुशीको सानुसानु बाहार आउन थाल्यो ।

जुनबेला मलाई रहर थियो राम्रो लुगा फेरीफेरी लगाएर हिँड्ने, त्यो बेला मलाई भन्ने गर्नु हुन्थ्यो उहाँले, ‘मैले जागीर खाएपछि तिम्रा साथीहरूको जस्तै सारी किनिद्न्छु है अनि फेरीफेरी लाउली ।’ म त्यहि पर्खाइमा थिएँ । यो शब्द अझै ताजै छ मेरो स्मरणमा अनि मेरा रहरहरु पनि प्रफुल्ल भए । सुदिनको आगमनलाई भेट्न पाउँदा ।

नेपालनम्चाका सम्पूर्ण पाठकमाझ म के भन्न चाहन्छु भने सुख र दुख दुबै स्थायी नभएर, १०० प्रतिशत सहि र सत्य हो, यी दुवै अस्थायी हुन् । यो यथार्थ हो, आजको रात मस्त निदाए भोलि बिहान शरीर चंगा हुनेछ र स्फुर्ति पनि बढ्नेछ । अन्धकारमा दियालो बालेर गोरेटो पहिल्याएदै हिंड्न सके भोलिको झुल्केघाम सँगसँगै अवश् फराकिलो मुलबाटोमा हाम्रो पाइला पुग्नेरहेछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button