‘ऊ त स्कुल होइन, बोर्डिङ जान्छे’
अशोक सिलवाल
नयाँ गाउँ, दहचोक, प्युठान ।
साइकल यात्राको सातौं दिन । अंग्रेजी मिती अनुसार १० नोभेम्बर २०२० । पश्चिम नेपालको प्युठानस्थित प्रिय पवित्रस्थल स्वर्गद्धारीबाट दाङको भालुवाङतिर साइकलिदै छ, नेपाल साइकल उत्सव टोली ।
माथि स्वर्गएद्धारीबाट ओर्लनुजति ओर्लेर सम्ममा आइपुगेका हामीमध्ये कोही अगाडि पुगिसके । कोही पछि छन् । हामीचाहिँ बीचतिर । त्यही बीचतिरबाट सुरु, हुन्छ प्युठानकै दहचोकस्थित नयाँ गाउँ । किन अनि कसरी ‘नयाँ गाउँ’ भयो त्यो ? नयाँ सडक, नयाँ बजारजस्ता नाउँ र ठाउँ सुनिरहेको मलाई ‘नयाँ गाउँ’ त्यसै त्यसै प्यारो लाग्यो । तर, नामले मात्र होइन, त्यो गाउँ मलाई झनै प्यारो लाग्यो, जसको जगमा मोनिका रसाइली छिन् । आहा !
…
गाउँको सडकछेउ ३ जना फुच्चाहरु थिए ।
‘हेलो ! नमस्ते !’, मैले सोधेँ ‘के नाम हो तिमीहरुको ?’
‘मेरो ?’, एउटाले सोध्यो ।
‘अँ’। मैले भनेँ ।
‘आशिष’, उसले भन्यो, ‘अनि त्यसको रोहित ।’
‘रोहितको फूलनेम के हो ?’, मैले सोधेँ ।
‘रोहित रसाइली ।’
‘तिम्रो ?’, अर्कोतिर औला देखाउँदै मैले सोधेँ ।
‘आशिष सुनार ।’
‘तिम्रो ?’
‘खमन सुनार ।’
‘अनि तिमीहरु कति कति कक्षा पढ्छौ ?’
‘५, ४ र २’, क्रमशः उनीहरुले भने ।
‘कस्तो छ, तिमीहरुको पढाई ?’
‘पढाई त लकडाउन छ’, उनीहरुमध्ये २ कक्षा पढ्ने सबभन्दा सानुचाहिँले भन्यो ।
उनीहरुलाई मैले राष्ट्रिय गान गाउन भनेँ । एक छिन अन्कनाएर उनीहरुले सुरु गरे । म पनि स्वर थप्न थालेँ ।
‘सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची-महाकाली’
‘तर, हामी त महाकाली–मेची गर्दै छौं’, मैले बीचमा गीत रोक्दै भनेँ ।
हामी महाकाली–मेची गर्दै थियौं साइकलमा सरर, १७ सयभन्दा बढी किलोमिटर । हामी देशका मुख्य शहरहरुलाई छुँदै र तिनलाई अनुभव गर्दै साइकलयात्रा गदै छौँ । योजना अनुसार २४ दिनमा हामीले पुरा गर्नुछ यो यात्रा ।
फेरि उनीहरुले गीतलाई बढाए । मैले स्वर थप्न पनि छाडिनँ ।
‘प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल’
उनीहरु एक छिन अड्किए । र, फेरि सुरु गरे ।
‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।’
‘जय जय नेपाल’ भन्दा उनीहरुको स्वर निकै चर्को भइसकेको थियो । त्यही स्वरको करामतले हो वा त्यसै कताबाट हो कुन्नि ! झन्डै दर्जन बच्चीहरु जम्मा भइसकेका थिए । उनीहरुले हाम्रो यात्राबारे अनेक सोध्न थाले ।
‘तपाई दाङ जानु भएको छ ?’, एउटा फुच्चेले सोध्यो ।
‘किन नजानु हामी हिजो घोराहीबाट हिँडेको । र, राती स्वर्गद्धारी पुगेको । र, अनि आज स्वर्गद्धारीबाट आएको’, मैले भनें ।
‘अनि मसिना त ?’
‘मसिना पनि गएको ।’
‘हाम्रो मामाघर दाङको मसिना हो’, उसले हतारिएर भन्यो ।
‘म पनि स्वर्गद्धारी गएको छु’, अर्कोले भन्यो ।
‘तिमी गा’को छौ ?’, एउटीले अरुलाई सोधी ?
‘कस्तो छ स्वर्गद्धारी ?’, अर्कीले उत्तरको सट्टा प्रश्न गरी ।
अरु पनि थपिए । धेरै जना जम्मा भएपछि सबैलाई मैले ठूलो स्वरमा ‘नमस्ते’ भनेँ ।
उनीहरु सबैले पनि ‘नमस्ते’ भने ।
‘सबैले एक पटक नमस्ते नेपाल भनौं’, मैले भनेँ ।
‘नमस्ते नेपाल !’, हामी सबैले एकै स्वरमा भन्यौं । आहा ! ‘नमस्ते नेपाल’ले कति मीठो भयो समय ! त्यो सानो तर साना नानीबाबुहरुसँगको भेट कति विशाल ! कति आनन्ददायी ! कति स्मरणीय !
‘त्यो रातो लुगा लगाएको सानो मान्छको नाम के हो ?’, मैले सोधेँ ।
‘आयुषा ।’
‘त्यो भन्दा पनि सानो मान्छेको नाम त ?’, अर्की सानीलाई औला तेर्साउँदै सोधेँ ।
‘कृषिका ।’
‘आहा ! कस्तो राम्रो नाम ।’
‘अनि त्यो कृषिकाको कपाल चलाइरहेको मान्छेको नाम के हो ?’
‘कृतिका ।’
‘अनि तिम्रो नाम के हो ?’, अलि बाठीजस्ती देखिने फुच्चीलाई सोधेँ ।
‘अस्मिता ।’
‘अनि पछाडिको रातो लुगा लगाएकी रातीको ?’
‘काजल ।’
‘अनि तिम्रो नाम ?’
‘किन्जल ।’
‘अनि तिम्रो ?’
‘आरती ।’
‘कस्तो राम्रो नाम रहेछ । तिमीहरु मान्छे पनि राम्रो । नाम झनै राम्रो ।’
‘तिमीहरुको घर यतै हो ?’
‘… उ त्यो ।’
‘… उ त्यो ।’
‘…उ त्यो ।’
उनीहरु सबैले नजिकैको आफ्ना घरहरु देखाउँदै भने ।
‘तिमीहरु को-को स्कुल जान्छौ ? हात उठाउ त ।’
सबैले हात उठाए । एउटीले उठाइन ।
हात नउठाउनीलाई देखाउँदै अर्कीले भनी, ‘ऊ त बोर्डिङ जान्छे ।’
‘तिमीचाहिँ स्कुल होइन बोर्डिङ जान्छौ ?’, मैले सोधेँ ।
‘हो ।’
‘बोर्डिङ र स्कुलमा के फरक छ ?’
साना नानीहरु उत्तर सायद सोच्दै थिए । अघिका ३ जना फुच्चा केटाहरु टुप्लुकिए । र, उत्तर दियो एउटाले, ‘स्कुलमा धेरै पैसा तिर्न पर्दैन, एक्जाम फी मात्र तिरे पुग्छ । बोर्डिङमा धेरै पैसा तिर्नुपर्छ ।’
सडकमा हुँइकिइरहेका गाडीहरु बेलाबेला कराइरहेकै थिए । र, बच्चाहरु पनि । तर, बच्चाहरु कराएको कति मीठो ! तल नदी पनि कराइरहेकी थिई एक तमासले । र, नदी झन् सुन्दर सुनिइरहेकी थिई ।
तर, मैले एक्कासी अर्कै प्रश्न गरेँ, ‘तिमीहरुलाई खानेकुरामा के मन पर्छ सबभन्दा बढी ?’
‘मलाई चाखोफन’, एउटीले भनी ।
‘मलाई चउचउ मनपर्छ’, छातीमा औंला लैजादै सानीले भनी ।
‘मलाई सुजी र जेरी’, केटो बोल्यो ।
‘मलाई मम’, अर्कीले भनी ।
‘तिम्लाई ?’
‘एप्पल ।’
‘तिम्लाई ?’
‘चाउमिन ।’
‘सबभन्दा धेरै खानी को ?’
‘म’, हात उठाएर सबभन्दा सानीले भनी ।
सबै हाँसे ।
‘तिमीहरुलाई नाच्न पनि आउँछ ?’
‘अहँ’, एउटीले टाउको हल्लाउँदै भनी ।
‘मलाई आउँछ’, अर्की उत्साही भई ।
‘गीत गाउन पनि आउँछ ?’, मैले सोधेँ ।
‘आउँछ’, एउटीले भनी ।
‘ल ! तिमी गीत गाउ । हामी सबै नाच्नी’, सबैलाई समेट्न खोज्दै मैले भनेँ, ‘तिमीहरु पनि आउ ।’
एउटी अलि हुर्केकी जस्ती देखिने फुच्ची कताबाट हो कुन्नि ! हामीतिर आई । उसलाई देखाउँदै सबैले भने, ‘उसलाई नाच्न आउँछ ।’
तर, उसले नाच्नुको सट्टा मलाई थर्काए झैँ गरी सोधी, ‘तपाई कहाँबाट आउनु भा’ ?’
‘म त आज स्वर्गद्धारीबाट’, मैले भनेँ ।
… र, ऊ थिई मोनिका । कक्षा ४ मा पढ्ने मेरो प्रिय सानी साथी मोनिका रसाइली, जो नोभेम्बर १० देखि मेरो ह्रदयमा गडेकी छिन् । र, हरेक दिन र छिन म उनलाई सम्झेर खुशी छु । र, उनी यो देशकी एउटा महान प्रतिभा ! उनीबारे नेपालनाम्चा सगौरव प्रस्तुत गर्दैछ, एउटा विशेष स्टोरी । प्रतिक्षा गर्नु होला ।
…
नयाँ गाउँका सानासाथीलाई भिडियोमा पनि हेरौँ ।