१२ बर्षमै दुलही हुँदा के–के भयो ?

निशा
नाम परिवर्तन

तीन दिनको झरी पछि बल्ल आज आकाश खुलेको छ । आकाश खुलेझै मेरो मन पनि खुलेको छ । आज शनिवारको दिन भएर स्कुल विदा छ भने काममा चाहि विदा छैन । बिहान सबेरै उठेर नुहाईधुवाई सकें अनि चियानास्ता गरें । अनि आफ्नो ओछ्यानमै किताब फिजाएं र ध्यान केन्द्रित गरें । मलाई हिसाव विषय अलि गाहे लाग्छ । फुर्सद समयमा गणितको किताब लिएर पढ्न थाल्छु । आफ्नो ओछ्यानबाट पर भित्तामा रहेको घडीलाई हेरें । घडीले त ९ः४५ बजेको संकेत दिईसकेछ । हतार हतार गरेर खाना खाएं अनि कपडा लगाएर काममा हिडें ।

म ११ बजेदेखि ७ एउटा क्याफेमा काम गर्छु । बिहान म स्कुल पढ्ने हुनाले स्कुल सकेपछि ११ बजेबाट मेरो जागिर सुरु हुन्छ ।

११ बजे ठ्याक्कै क्याफेको ढोका खोल्दै भित्र छिरें । क्याफेको दिदीसंग मेरो आँखा जुध्यो ।

“दिदी नमस्कार, सन्चै हुनुहुन्छ?” दिदीसंग कुरा गर्दै आफ्नो ब्याग सधै राख्नेठाउँमा राख्न लम्कीएं ।

“आइपुग्यौं निसा” दिदीले प्रश्न गर्नुभयो ।

“अं आइपुगे दिदी ।” दिदीलाई हेर्दै उत्तर दिएँ ।

अनि अझै थप्दै भने “दिदी आज हजुर कति राम्री देखिनुभएको ।” दिदी पनि हास्दै भन्नुहुन्छ “तिमी पनि आज निकै फ्रेस देखिएकी छौ । ”

आफ्नो काम गर्ने ठाउँको बोसले मेरो पनि तारिफ गरेको सुन्दा शरिरमा निकै उर्जा थपिएको जस्तो महसुस भैरहेछ । उहाँलाई हेरेर मुस्कुराएं र ंधन्यवाद भन्दै हतार हतार गरेर वेकरीको भित्री कोठामा छिरें ।

यहां म र मेरो एकजना साथी संगै काम गर्छौं । यहा काम गर्न थालेको करिब ८ महिना भयो । अरु दिन झैं आज पनि आफु काम गर्ने कोठामा छिर्छु । अनि दुनोट बनाउनको लागि पिठो तयार गर्न थाल्छु ।

साथी पनि संगै छिन् । साथी चाहिं सुरिलो भाकामा गित गाउँदै बेकरीका भाँडा माझ्दै छिन् ।

“निसा पहिला स्यान्डविच बनाउनु पर्यो अर्डर आएको छ ।” पल्लो कोठाबाट दिदीको आवाज सुनें । उहांको आवाज सुन्नासाथ पिठोबाट हात धोएर स्यान्डविच बनाउनको लागि बन्दा, गाजरलाई मसिनो टुक्रापारेर काटें । त्यसपछि चिज, मरिचको धुलो लगाएत चाहिने अन्य सबै सामानहरु तयार पारे । ब्रेडलाई आकार दिएर टुक्याँए । पहिला तयार पारेको मसला ब्रेडमा मिलाएर राखें अनि स्यान्डविच तयार भएपछि प्याक गरेर बाहिर सो केसमा राख्न दिएँ । यसरीे बेकरीमा एकपछि अर्को आवश्यकता अनुसार सामान बनाउंछौं । अघि मुछेर तयार पारेको पिठोको दुनोट साथीले बनाई भने त्यसपछि म चाहि अब केक अर्डर आएको हुनाले केकको बेस बनाउन थालें ।

केकलाई खण्ड खण्डमा सिंगार्दै जाँदा मैले मेरो जिन्दगीलाई पनि यसरी नै सिगांन सके कति राम्रो हुन्थो ? मनमा धेरैथरि कुराहरु तछाड मछाड गर्दै घुम्दै थिए ।

साच्चै, १२ वर्षको कलिलो उमेरमा आफ्नै परिवारले जवर्जस्ती विवाह गरेर पठाएको नर्कजस्तो घरबाट म भागेर नआएको भए अहिले कहाँ हुन्थे होला, त्यसबेलाको समयलाई सोच्दा अहिले पनि कहाली लागेर आउछ ।

फेरी मनमनै सोच्छु, चिन्दै नचिनको मान्छेसंग आफ्नो फुलजस्ती छोरीलाई कसरी धकेलिदिएको होलान ?

जति आफ्नो केक बनाउने काम अगाडि बढ्छ त्यति नै मेरो जिवनका बितेका पानाहरु पालैपालो पल्टीन थाल्छ ।

विवाह शब्दको अर्थ नबुझ्ने उमेर, आफ्नो आमाबुबाको काखमा खेल्दै रमाउने बेला र अर्कोको घरमा जिम्मा लगाई कन्यादान गरे भन्दै धाक दिने मेरा बुबा ? केटामान्छेको वर्चस्व भएको हाम्रो घरमा कुज्जिएर बसेकी मेरी आमा यि सबै कुराले मेरा जिन्दगीमाथी खेलेको महसुस हुन्थ्यो । म यस्तै सौच्दै आफुमै हराउदै थिएं ।

मेरो छेउमै रहेकी साथीले झस्यांग तर्साइदिन्छे “के भो तिमीलाई कहाँ हराएको ?” दिदी केक लिन आइसक्ने भयो ?

काम सकेर म र मेरा साथी कोटेश्रबाट महानगर यातायात चढ्यौं ।

अरुबेलामा सबै भिडामभिड हुने महानगर यातायात आज खाली थियो । हामी दुवै गाडि भित्र रहेको बिचको २ वटै सिट खालीभएको ठाउँमा गएर बस्यौं ।

भन त निसा तिमी आज निकै टोलाइरहेकी थियौं कामगर्ने बेलामा ? साथीको कुराले मलाई मेरो अतित केहि सेयर गर्न मन लाग्यो ।

तिमीलाई तिम्रो बुबाले कहिल्यै कुटपिट गर्नुहुन्थ्यो होला है ? मैले साथीलाई उत्तर दिने मौका नै नदिई फेरी आफ्नै कुरा अगाडि बढाए,

“म आफ्नै परिवारबाट हेलित थिएं । न स्कुल पढ्न पाएं न परिवारको न्यानो माया नै । फेरी हाम्रो घरमा आमा तथा छोरीहरुले बोल्नु हुंदैन भन्थे । मेरी आमा पनि म जस्तै पिडित थिइन । आमाको कुरा बुबाले कहिल्ये सुन्नहुन्नथ्यो । छोरीले पढ्नु हुदैन, चांडै विवाह गरेर पठाउनु पर्छ भन्ने समाज तथा परिवारमा म जन्मीएकी थिए ।

मेरो कुरा सकिन्न नपाउदै फेरी साथी बोलीहाली “अनि सरकारी स्कुलमा त केहि खर्च पनि लाग्दैन नी त”

खर्चले मात्र मेरो पढाई रोकिएको थिइन साथी घरको भाईबहिनी हेर्नुपर्ने, खेतमा आमालाई काममा सघाउने पर्ने बाध्यता र “अर्कोको घरको भित्ता टाल्ने जात किन पढ्नु पर्यो” बुबाको मुखमै झुण्डिएका यस्ता बिझाउने शब्दहरुले मलाई स्कुलको ढोकासम्म पुग्ने अवसर दिएन । बाल्यकालदेखि भोग्नुपरेको पिडा र हिंसाले गर्दा आफ्नो भविष्यको बारेमा सोच्नु त परै जाओस जिवनमा धेरैपटक आत्महत्याको प्रयास पनि गरेकी थिएं ।

साथीसंग कुरा गर्दा गर्दै आँखा रसाएछन, आफ्नो टाउकोमा बेरेको सलले आँसु पुछेको साथीले थाहा नै पाइन ।

साथीको जिज्ञासा अझै बढ्दै थियो, मेरो भने मुटुमा गाठोपरेको जस्तो भएर बोली नै अढ्कियो ।

बसको सहचालक भाईले “सातदोबाटो झर्ने कोहि हुनुहुन्छ ?” भनेको आवाज सुनेपछि म झसंग भएँ ।

बस अगाडि बढिरहेकोले गर्दा केहिबेरमै फेरी शान्त वातावरण भयो ।

“अनि कसरी तिमी यहाँ आइपुग्यौं त ?” साथीको झिज्ञासा अझै सकिएको थिएन ।

मैले पनि मनमिल्ने साथी पाएको महसुस गरे । मनभित्र रहेको भागाईहरु सबै साथीलाई सुनाउदै गएँ ।

बिस्तारै बिस्तारै आफुले आफ्नो मन बलियो बनाउदै गए । अब म मेरो लागि बाँच्नु पर्छ । जसले मेरो जिवन नर्कजस्तो बनाईदियो म त्यस्तालाई केहि उदाहरणीय काम गरेर देखाउनु पर्छ भन्ने भित्री आत्मादेखि अठोट गर्नथाले । सकारात्मक सोच्न थालेपछि बिस्तारै भित्री मनबाट आँट आउन थाल्यो । मलाई पढ्न धेरै रहर थियो तर घरमा पढ्ने अवसर पाउन सकिन त्यहि भएर पनि सबैभन्दा पहिला आफु सकेसम्म १० कक्षा सम्म पढ्ने र कुनै सिप सिक्ने योजना बनाए त्यसपछि मैले सहयोगी निकायहरुको खोजी गर्दै यहाँसम्म आइपुगें । तँ सोच म पुर्याउछु भन्ने उखान जस्तै मैले मेरो जिवनको बारेमा राम्रो सोच्दै गए एकपछि अर्को बाटाहरु बिस्तारै आउदै गयो र म अगाडि बढ्दै गए ।

मेरो कुराले बिट मार्दे थियो, बस नख्खुदोबाटोमा टक्क रोकियो । हामी दुवै बसबाट ओर्लियौं र आफ्नो गन्तव्यतिर लाग्यौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

Back to top button