बिहे गर्छौं र आमालाई सम्झँदैनौं हामी

आमाको माया

विश्वदिप न्यौपाने
७, ख, स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं

बुबा–आमा भनेर सुन्ने बित्तिकै हामीलाई जीवन दिने मान्छे भन्ने कुरा हाम्रो दिमागमा आउँछ । तर, कति यस्ता छोराछोरी हुन्छन्, जसले आफ्नै आमाबुबालाई छाडिदिन्छन् । आज म हाम्रो जीवनको दुई हस्तीमध्ये एक जनाको बारेमा भन्न गइरहेको छु ।

आमाले हामीलाई यस संसारमा देख्ने मौका दिन्छिन् । आमाले हामीलाई यति माया गर्छिन् कि उनले हामीलाई कहिले चोट पु–याउने सोच्दै सोच्दिनन् । उनको माया त महभन्दा गुलियो हुन्छ । आमाले हामीलाई यति माया गर्छिन् कि उनले आफू नराम्रो भएर पनि आफ्ना छोराछोरीलाई राम्रो बनाउँछिन् । हामी ठूलो भए पछि विदेश जान्छौँ, ठूलो मान्छे बन्छौं । बिहे गर्छौं र आफ्नी आमालाई सम्झँदैनौं । तर, उनले हामीलाई ठुलो बनाउन्जेल कति कडा परिश्रम गरिन् होला भन्ने कुरा उनलाई जति राम्ररी अरू कसैलाई थाहा हुँदैन ।

आमाले हामीलाई यति माया गर्छिन् कि रात दिन नभनी काम गरेर हाम्रो उज्ज्वल भविष्यको लागि आफ्नो स्वास्थ्यको समेत ख्याल नराखीकन काम गर्छिन् । आफ्नो छोराछोरीको लागि भनेर आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राख्न सक्ने व्यक्ति हुन् हाम्री आमा ।
जाडो होस् वा गर्मी, आमाले हामीलाई उत्तिकै माया गर्छिन् । हामीलाई निन्द्रा नआउँदा लोरी सुनाउँछिन् र हामी बिरामी हुँदा हाम्रो स्वास्थ्यको ख्याल राख्छिन् । उनले हामीलाई विद्यालय पढाउनको लागि काम गर्छिन् । हामी विद्यालय जान्छौं । विद्यालय गएर आउँछौँ । विद्यालयबाट आएपछि हाम्री आमाको सधैं एउटा मात्रै प्रश्न सोध्नुहुन्छ कि बाबु, आज विद्यालयमा कस्तो भयो त ? यस्तै प्रश्न सधैं सोध्नुहुन्छ ।

हाम्रो समाजमा धेरै यस्ता उदाहरणहरू छन् कि कसैकसैका बाबा हुँदैनन् । तर पनि उनीहरूकी आमा नै उनीहरुका बुबा बन्छिन् र घरको सबै जिम्मेवारी आफ्नो काँधमा लिन्छिन् । यसरी हामी यो बुझ्न सक्छौं कि आमाले आफ्ना बच्चाहरूका लागि जे पनि गर्न सक्छिन् ।

हामीसँग जति पैसा र सम्पत्ति भए पनि हामीलाई त्योभन्दा माथि सधैं आमाको माया मात्रै हुन्छ । आमाले जब आफ्नो घरमा केही हुन्छ वा केही दुर्घटना हुन्छ, तब आमा आफू बिरामी हुँदा पनि आफ्नो परिवारका सदस्यहरूको हेरचाहमा नै लाग्छिन् । त्यो हो आमाको माया ।

त्यति मात्रै कहाँ हो र, जब हामी केही काममा सफल हुन्छौं, त्यति बेला हामीभन्दा धेरै खुसी हुन्छिन् हाम्री आमा । हामीले पाएका जुनसुकै समस्यामा पनि हाम्री आमाले भन्छिन्, बाबु केही हुँदैन, अर्कोपालि राम्रो गरौला नि ।

आमा जब हामीलाई जन्माई हुर्काउँछिन्, खुवाउँछिन्, त्यतिबेला आमाको दिमागमा एउटा मात्रै सवाल आउँछ कि यदि मलाई केही भयो भने मेरा छोराछोरीको के होला ?

आमाले जब हाम्रो जीवनमा हामीले भनेको कुरा मान्दिनन्, त्यति बेला हामी निकै दुःखी भएर हाम्री आमासँग रिसाउँछौँ । तर जब हामी रिसाउँछौं, तब हाम्री आमाले हाम्रो आँसु देख्न नसकेर आफै हामीले मागेको चिज ल्याइदिन्छिन् । यो हो आमाको माया ।

यसरी, आमाका यस्तै गुणका कारणले हामी कहिल्यै रिसाउनु हुँदैन । आमाले हामीलाई त्यति माया गर्छिन् कि, यसलाई न जोख्न मिल्छ न अवमूल्यन नै ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button