एउटा न एउटा साथी अवश्य हुन्छ, सबैको
मेरो घनिष्ट साथी
श्रुति पन्त
६ (क), स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं
हामी सबैको जीवनमा एउटा न एउटा साथी अवश्य हुन्छ । कतिका त धेरै साथीहरु पनि हुन्छन् । साथी भन्नाले यस्तो व्यक्ति हो, जसले हामीलाई हाम्रो जीवनमा जस्तो आपत विपद् आए पनि सहयोग गर्छन् । हामी हाम्रो साथीहरूसँग घुलमिल हुन्छौँ र रमाइलो गर्छौँ । साथीहरूसँग हामी हाम्रो दुस्ख, पीडा, सुख, खुसीयाली बाँड्छौँ ।
मेरा पनि धेरै साथीहरु छन् तर तीमध्ये मेरी एउटी असाध्यै मिल्ने साथी छ । ऊ मेरी सबैभन्दा घनिष्ट साथी हो । हुन त अरू धेरै साथीहरू पनि मिल्छन् तर ऊ मेरी निकै घनिष्ट साथी हो । यसको नाम वृक्षा हो । ऊ सबैभन्दा दयालु र सहयोगी छे ।
उसका छनोटहरू धेरै अनुपम र अनौठा छन् । उसलाई प्याजी रङ असाध्यै मन पर्छ । उसलाई बाहिरको खानेकुरा खासै मन पर्दैन । तर, मलाई र मेरा अरू साथीहरूलाई त साह्रै मन पर्छ । उसलाई प्याजी रङका साथै गाढा रङहरू पनि मन पर्छ । उसलाई कालो रङको लुगा लगाउन पनि असाध्यै मन पर्छ । उसलाई खेलकुदमा धेरै इच्छा छ । ऊ ठूली भएपछि व्याटमिन्टन खेलाडी बन्न चाहन्छे । उसलाई किताबहरू पनि पढ्न मन लाग्छ । त्यसैले ऊ विभिन्न प्रकारका किताबहरू किन्न मन पराउँछे ।
वृक्षा र म सानै बेलादेखिका घनिष्ट साथी रहेका छौँ । हाम्रो राम्रो सम्बन्धको कारण हामीमा धेरै समान गुणहरू भएकाले हो । उसलाई किताब, खेलकुद मन पर्छ भने मलाई पनि किताब पढ़न र खेलकुदहरु खेल्न मन पर्छ । मलाई गीत सुन्न, फिल्म हेर्न, नयाँ नयाँ ठाउँमा घुम्न मन लाग्छ भने उसलाई पनि यी सबै कुरामा इच्छा छ । म र वृक्षा खासमा छिमेकी थियौँ तर पछि गएर ऊ अन्तै घर सरी । तैपनि हामी घनिष्टका घनिष्ट नै साथी हौँ ।
म र वृक्षालाई अलग गर्नु भनेको त कुकुरको पुच्छर सिधा गर्न खोज्नु जस्तै गाह्रो छ । त्यसैले मलाई र उसलाई अलग गर्नु असम्भव छ भन्ने बुझ्न सकिन्छ । म ऊजस्ती असल साथी पाउँदा आफूलाई धेरै धेरै भाग्यमानी सोच्छु । हाम्रो यो सम्बन्ध सधैँ रहिरहोस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)