मानिस फूल जति पनि बुद्धिमान रहेनछ

बालकथाः कति ज्ञानी फूलहरु

देवकी केसी

रुविनाको आमाबाबाको ठूलो बगैंचा छ । उहाँहरु फूलहरुको राम्रो हेरचाह गर्नुहुन्छ अनि फूलहरुलाई बजारमा लगेर बेच्नुहुन्छ । रुविना कक्षा पाँचमा पढ्छिन् । उनलाई फूल हेर्न मनपर्छ ।

एक दिन रुविना आफ्नो कोठाको झ्यालबाट बगैंचामा विभिन्न रङ्ग र आकारप्रकारका फूूलहरु हेर्दै थिइन् । बगैंचामा राता, पहेला, सेता, फुस्रा बिभिन्न रङका फूलहरु थिए । बगैंचामा गुलाफ, गोदावरी, लाहुरे लगायत धेरे जातका फूलहरु थिए । बगैंचाको एउटा कुनामा पारिजात मगमगाईरहेको थियो । बगैंचामा भएका सबै जातका फूलहरुका नाम त रुविनालाई थाह छैन । तर पनि एउटै बगैंचामा त्यतिका धेरै फूूलहरु मिलेर बसेको देख्दा भने रुविनालाई खुसी लाग्थ्यो ।

अनायसै पधेँरामा झगडा गर्दै गरेका पण्डितनी गीता बज्यै र गौथली भाउजुको चर्को आवाजले बगैंचामा फूलहरु हेर्दै गरेकी रुविनाको ध्यान पधेँतर्फ केन्द्रित भयो । रुविना एक्लै भन्न थालिन्, ‘सन्तमान दाई र गौथली भाउजु आरनमा हतियार अर्जाप्ने र बनाउने काम गर्नुहुन्छ । सबै गाउँलेहरु हतियार अर्जाप्न र बनाउन उहाँहरुकोमा जानु हुन्छ । पण्डितनी गीता बज्यै भने सधै गौथली भाउजुसित पधेँरामा पानी छोएको निहुँमा झगडा गर्नुहुुन्छ । आज पनि पक्कै त्यहि निहँुमा झगडा गरेका होलान् ।’

कोठामा चिया लिएर पस्दा रुविना एक्लै फत्फताइरहेको देखेर आमाले भन्नुभयो, ‘किन एक्लै बोलिरहेको ?’

‘छ्या ! के भएको होला हाम्रो समाज आमा ? पधेँरामा पानी छोइएको निहुुँमा गौथली भाउजु र गीता बज्यै सधै झगडा गर्नुहुन्छ । अस्ति पण्डित जनकप्रसादले बिरु दर्जी दाई मन्दिर पसेको निहँुमा मरणासन्न हुने गरी कुटे । विचरा ! बिरु दाई थला नै परे । हिजो स्कुुलमा दलित छात्रवृत्ति बाँड्ने भन्दै सबै विद्यार्थीहरुलाई अलग्गै लाइन लगाउँदा उनीहरुले आफूहरु दलित अलग्गै बस्नुुुपर्छ भन्दै निकै नरमाइलो माने । आमा हर्नोस् त, बगैंचाका फूुलहरु कति ज्ञानी छन् । जुनसुकै जात र रङ्गका भएर पनि मिलेर बसेका छन् । हामी पढेलेखेका मान्छेहरु बगैंचाका फूुलहरु जति पनि मिलनसार हुन सकेनौं । मानिस के सर्वश्रेष्ठ भन्नु ? मानिसको त फूल जति पनि बुद्धि रैनछ ।’

रुविनाको कलिलो दिमागमा पनि यति राम्रो विचार आएको देखेर आमा निकै खुुुुुुसी हुँदै भन्नुुुभयो, ‘रुविना, समाज परिवर्तन हुन समय लाग्छ । हिजोभन्दा समाज त परिवर्तन भएको छ । तर पनि समाज पुरै परिवर्तन हुन समय त लागिहाल्छ नि ।’

अब तिमी पढेर बस है भन्दै आमाबाहिर निस्कनु भयो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button