केटाकेटीलाई पढाउँदै गर्दा शिक्षकले रचेको बालकविता ‘भोलिको म’

हरिप्रसाद गौतम

१.
सुन्दर गोरेटो जिन्दगीको
कोर्ने छु आफ्नै पौरखले,
पछ्याई पाउ देशभक्तका
बन्ने छु सपुत यो भूमिको ।

२.

बनेर मल्हम ती घाउमा
दल्ने छु आमा तिमीभरि
पुर्नेछु खाटा वीरताले
लडेर दुश्मन रूनेगरी ।

३.

अलमल कत्ति नगरेरै
झलमल यो देश पार्नेछु
विसङ्गति छन् जताततै
एक एक गर्दै सुधार्ने छु ।

४.

बनाई कानुन सुहाउँदो
त्यागी कुमार्ग अशान्तिको
थप्ने छु बुँदा सुधारका
काट्ने छु जरो कुरीतिको ।

५.

गर्नेछु कर्म स्वदेशमै
रम्दै सुकर्म हरघडी
मर्नै परे म यो धर्तीको
खातिर तयार छु सधैँभरि ।

६.

यौटै छ लक्ष्य महान भई
पार्नु छ धर्ती झलमल यो
हँसाई सबलाई मनैदेखि
बन्नु छ सान म भोलिको ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button