यो लेख नेपालनाम्चामा मेरो पहिलो, अब नियमित लेख्छु

सुवेक्षा मेयाङ्बो

मबाट शुरु भएको मेरो जीवन आज हामी र हाम्रो शब्दमा आइपुगेको छ । मेरो जन्म १८-०१-२०३४ साल मोरङ जिल्ला विराटनगरको कोशी अस्पतालमा आमा चन्द्र मायाँ लिम्बु (लोहोरुङ्ग) र बुवा देउमान लिम्बुको कोखबाट भएको थियो । मेरो परिचय दिँदा सबै आश्चर्यमा देखिन्छन् । कारण, मेरो जन्म लिम्बु जातीमा भएता पनि अनुहारको बनावट श्रेष्ठ वा आर्यन जातीसँग मिल्दोे देखिन्छ ।

२०४७ सालको एक अनुभव, म नृत्यकार (मेचीकाली सांस्कृतिक अभियान) वरिष्ठ बाँसुरी वादन अमृत राई जो (दृष्टिविहिन) धरानमा उहाँसंग परिचय गर्ने क्रममा मैले नाम नानु सुब्बा भनेँ, (घरको नाम नानु) तर जो आँखा देख्नु हुन्न उहाँले मलाई मान्छे चै बाहुनी जस्तो छ सुब्बा पो भन्छ भनेर छक्क पार्नु भएको थियो ।

मेरो वाल्यकाल मोरङको सुन्दरपूर–५, तिनपैनी बजारमा बितेको थियो । म घरको सबैभन्दा कान्छी छोरी थिएँ । हाम्रोे छिमेकीको घरमा स्वर्गीय कमरेड मदन भण्डारीको मामाघर थियो । उहाँहरु मामाघरमा आउने क्रममा हाम्रो घरमा पनि आउन थाल्नुभयो र दिदीदाजुहरुलाई कम्युनिष्टका बारेमा बुझाउनुहुन्थ्यो । पछि गएर हाम्रो घर कम्युनिष्टहरुको सेल्टर हाउस भनेर चिनिन्थियो । उहाँहरु त्यस समयका विकृति, कुरीतिहरुलाई गायन र नृत्यको माध्यमद्धारा समाजलाई सचेत गराउनुहुन्थ्यो । दिदीदाजुहरुको नाच देखेर मलाई पनि नृत्य गर्न मन लाग्थ्यो र म सानैदेखि दिदीदाजुहरुसँग कलाकारिताको क्षेत्रमा जानिनजानी हिँड्न थालेँ ।

सबैले मलाई राम्रो नाच नाच्ने नानी भनेर माया गर्नु हुन्थ्यो । गाउँमा भएको श्री ज्योति निम्न माध्यमिक स्कूल र श्री साजिलाल माध्यमिक स्कूलमा एस.एल.सि. सम्म अध्ययन सकेर काठमाडौंमा उच्च अध्ययनको लागि पाटन संयुक्त क्याम्पसमा भर्ना भएँ । नृत्य गर्दा विभिन्न जाति, संस्कृति अन्तर्गतका पोषाकहरुमा सजिएर सानैबाट कलाकारिताको क्षेत्रमा हिँडेको हुनाले मलाई संस्कृति बिषय पढ्न मन लाग्यो र मैले त्यहि बिषय रोजेँ ।

रोजाईको क्रमले आज एमफिल पिएचडी पनि त्यहि बिषयमा गर्ने जमर्कोमा जोडिरहेकी छु । हाम्रो संस्कृति, चाडपर्व, रितिरिवाजसँग जोडिएका हर कुनै पनि बिषयमा नियमित लेख लेखनका लागि तपाईहरु माझमा रहने छु । हाम्रा पुर्खाहरुले छाडेका ति विरासतहरुको जरा जरामा पुग्नु छ मलाई, तिनीहरुलाई छुन मन छ । तिनीहरुलाई सबै सामु चिनाउन मन छ साथै हामीसँग भएका हरसंस्कृतिहरुको सम्बर्धन गरी जोगाएर राख्न मन छ । यहाँहरु समक्ष भएका कुनै पनि साँस्कृतिक ज्ञान, जानकारी, सन्दर्भ आदि मलाई भन्न सक्नुहुनेछ जसलाई म अक्षरमा नेपालनाम्चाद्धारा सबै समक्ष राख्ने कोशिश गर्नेछु ।

जीवनको भोगाईमा विभिन्न उतारचढाव हरकसैकोमा फरकफरक तवरले बितेका हुन्छन् जसमा म अछुतो रहन सक्तिनँ । आज जीवनको अवनरत यात्रामा वगिरहँदा मेरो जीवनको समयले धेरै कोल्टे फेरेको छ । यसै सन्दर्भमा र म संस्कृतिको विद्यार्थी भएकोले गर्दा यस विषयको चासो राख्नु मेरो कर्तव्य हो भन्ने म मान्छु । त्यसैले गर्दा हाम्रो देशमा भएका धेरै जातिहरुकोबारेमा चिनाउन मन छ । ति जातिका कर्ममा धेरै संस्कृतिहरु भएको हुनाले मलाई पनि अक्सर ति हरेक संस्कृतिहरुमा रुमलिन मन छ, बरालिन मन छ, पौडिन मन छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button