
तातो मः मः जस्तै मलाई मेरो जागिर
कथाः मनको व्यथा
बबिता ढुङ्गेल
‘आमा म अफिस हिँडेँ’, विद्याले तलैबाट सासूलाई आफू हिँडेको जानकारी दिइन् ।
‘ए त्यहाँ सानो बाबु ट्वाइलेटमा छ । त्यसलाई सफा गरेर पो जाने हो कि’, जवाफ आउँछ ।
टाउकोमा लगाईसकेको हेलमेट अनि जुत्ता खोलेर विद्या छोराको सफाईमा फर्किन्छिन् । नर्सरीमा पढ्ने छोराको स्कूल बस नौ बजेतिर आइपुग्छ । विद्याको अफिस पुग्ने समय पनि नौ बजे नै हो । बेलैमा नहिँडे सधैँ ढिला हुने ।
‘आज पनि मलाई ढिला नै हुने भो । सधैँ यस्तै के–के काम आइलाग्छ । आमा, मैले यसलाई सफा त गरेँ । तर, लुगा लगाउन चाहिँ भ्याइनँ । मलाई आज निक्कै ढिला भैसक्यो ।’
‘एकछिनको काम त हो नि । त्यो लुगा पनि फुत्त भिराइदिए त भै हाल्यो नि । स्कुटरमा जाने हुँदा त भ्याइहालिन्छ नि । मेरो हात खाली छैन । बत्ती कात्दै छु’, पुनः जवाफ आउँछ ।
‘उहाँलाई के थाहा । काठमाडौंको अफिस टाइमको जाम । कहिले घण्टौँ लाममा बस्नुपर्छ, घाम, धुवाँ, धुलो अनि गाडीको चापले त्यसै त्यसै वाक्क लागेर आउँछ ।’
विद्या अफिस त पुग्छिन् । आज पनि दस मिनेट ढिलो हुन्छ ।
विद्यालाई हाकिमले भेट्न खोजेको कुरा कार्यालयकी सहयोगी ताराले सुनाउँछिन् । ताराले त बुझेकी छिन्, विद्याको मर्म । उनी पनि एक नारी नै हुन् ।
‘नमस्कार सर’, हात जोड्दै विद्या हाकिमलाई अभिवादन गर्छिन् ।
‘म्याम, तपाईको अफिस आउने समय यही हो ? म धेरै दिनदेखि ख्याल गरिरहेको छु । तपाई सधैँ ढिलो आउने गर्नुहुन्छ । ठिकै छ, तपाईँ भ्याउनु हुन्न भने बरु जागिर नै छोडिदिनुस् । यहाँ, कामका लागि ढोका ढक्ढक्याउनेहरुको कमी छैन’, हाकिमको जवाफ सुनेर विद्या मौन हुन्छिन् ।
‘जानुस् आफ्नो काममा । अबदेखि सधैँ समयमा आउनु नि’, हाकिम झोक्किदैँ भन्छन् ।
हाकिमलाई भेटेर आफ्नो कार्यकक्षमा पुगुञ्जेल विद्याका मनमा अनेकन कुराहरु खेल्छन्, ‘ढिलो त कहिलेकाहीँ भैहाल्छ नि । कहिले घरका कामले ढिलो हुन्छ त कहिले सडक जामले ।’
‘ढिलो गर्न त मलाई पनि कहाँ मन लाग्छ र ! कहिलेकाहीँ अफिसमा काम पर्दा अफिस आवरभन्दा बढी समय खटिएर पनि काम गरेकै छु । न त त्यसको पारिश्रमिक नै पाइन्छ न त भोक प्यास नभनी काम गरेकी थिई भनेर प्रशंसा नै’, सम्झेर दिक्क मान्छिन् । लाग्छ, आजै यो जागिर छाडेर घरै बसौँ । फेरि सम्झन्छिन्, ‘घर बसेर के गर्नु, त्यही भात भान्छा ? भात भान्छा त अफिस भ्याएर पनि गरेकै छु । जागिर छोडेर बसेर पनि वेकम्मा भन्ने पगरी गुथ्नु त हो नि । यस्तो पगरी गुथ्नु छैन मलाई’, भन्दै काम गर्न थाल्छिन् ।
अरुणा विद्याकी अफिसकी साथी । विद्यालाई खाजा खान बोलाउन आउँछिन् । सधैँ हाँसो मजाक गर्ने विद्या आज मजाक गर्ने मुडमा थिइनन् । कता कता बिहानको गालीले उसलाई नरमाइलो लागिरहेको हुन्छ ।
‘आज मलाई खाजा खान मन नै छैन’, विद्याको प्रतिकृया सुनेर अरुणा छक्क पर्छिन् ।
‘मजाक नगर न । आज त झन् क्यान्टिनमा तिम्रो फेवरेट मः मः पाकेको छ । त्यसमाथि आज मेरो खाजा खुवाउने पालो । तिमीले जान्न भनेर हुन्छ र ! म त जसरी पनि लान्छु’, अरुणा विद्याको हात तान्न खोज्छिन् । केही नलागेपछि विद्या खाजा खान जानका लागि तयार हुन्छिन् ।
‘आज तिम्रो मुड ठिक छैन जस्तो छ, के भयो ?’, अरुणा प्रश्न गर्छिन् ।
‘यस्तै हो कहिलेकाहीँ, छोडिदेऊ यी कुरा । मः मः साँच्चै मीठो होला जस्तो छ । हुन त आज मैले खाना खान भ्याएको पनि थिइनँ । मः मः खाएपछि पक्कै पेट भरिन्छ’, विद्या मः मः को प्लेट एउटा अरुणातिर र एउटा आफूतिर राख्छिन् ।
विद्याले विचारै नगरी तातो मःमः खान लागेको देखेर अरुणाले रोक्दै, ‘अहिले पोलेर निल्नु न ओकल्नु होला नि’ भन्छिन् ।
‘कहिलेकाहीँ त मलाई यो जागिर पनि यही तातो मः मः जस्तै लाग्छ । न निल्नु न ओकल्नु’, विद्याले खान लागेको मः मः प्लेटमा राख्छिन् ।
‘हैन ! आज तिमीलाई के भयो, यस्तो अन्टसन्ट कुरा गरिरहेकी छौ ?’, छक्क पर्दै अरुणा विद्यालाई हेर्छिन् ।
अर्को टेबुलमा बसेर मः मः खाइरहेकी तारा उनीहरुको वार्तालाप सुनिरहेकी हुन्छिन् । अनि बोल्छिन्, आज म्यामलाई हाकिम साहेबले भेट्न बोलाउनु भएको थियो । राम्रै पुरस्कार पाउनु भए जस्तो छ ।’ अरुणालाई भने के भएछ भन्ने कौतुहलता जाग्छ, ‘साँच्चै पुरस्कार नै पाएकी हौ त तिमीले ? पुरस्कार पाएका मानिस त प्रफुल्लित हुनुपर्नेमा तिमी त झन् दुखित देखिन्छौ ।’
‘साथीभाइले सारै खटिने कर्मचारीको उपाधि दिए पनि दिनुपर्नेले कहिले दिएनन् मलाई । लाग्छ म त एक ओझेलमा परेको पात्र हुँ । रंगमञ्चमा प्रदर्शन गर्न मञ्चमै उत्रने पात्र परिचित हुन्छन् । तर नेपथ्यका पात्रको त्यो भन्दा बढी भूमिका भएपनि कसले देख्छ अनि कसले चिन्छ र उनीहरुलाई ? गीतकै कुरा गर्ने हो भने लेखक र संगीतकार भन्दा गायक नै परिचित हुन्छन् । नृत्यमा त्यस्तै । यहाँ जो हाकिमको उपासक हुन्छ, ऊ नै उत्कृष्ट कर्मचारी । पोहोर सुनिलले पुरस्कार पाएको हैन र ? न त ऊ कार्यकक्षमै भेटिन्छ, न त मिटिङमा नै । अघिल्लो दिन छुटेको हाजिरसमेत भोलिपल्ट गर्छ ऊ’, काँटामा उनेको मः मः लाई अचारमा चोप्दै आफ्ना व्यथा पोख्छिन् विद्या ।
‘छाडिदेउ यी कुरा । यो निजी अफिस हो । काम नै यस्तै’, अरुणा मः मः निल्दै बोल्छिन्, ‘पन्ध्र मिनेट अझै बाँकी रहेछ, बरु चौतारीमा बसेर कुरा गरौँ’ । दुवै त्यतै लाग्छन् ।
‘हैन, घरभरि त्यत्रा मान्छे भएर पनि तिमीलाई सँधै किन ढिला हुन्छ अफिस आउन ?’, अरुणा कौतुहलतापूर्वक प्रश्न गर्छिन् ।
‘कुरा नगर तिमी, कहिलेकाहीँ त मलाई आफैदेखि दिक्क लागेर आउँछ । श्रीमान् सरकारी कर्मचारी । कहिले कता त कहिले कता । प्रायः सरुवाकै चटारो । घरमा सासू–ससुरा, छोरी अनि सानो छोरा । जनसंख्या त राम्रै छ हाम्रो घरमा’, विद्या यति भनेर चुप बस्छिन् ।
‘अनि त्यतिका मान्छे घरमा हुँदा त तिमीलाई सहयोग गरिहाल्नु हुन्छ नि । छोरी पनि ठूली भई, सहयोग गर्दिन र ?’, अरुणा पुनः कुराकानीलाई अघि बढाउँछिन् ।
‘हुनत सबै हुनुहुन्छ । कहिलेकाहीँ त यस्तो लाग्छ, यी कामकाजी महिलालाई कति कामको चटारो, मजस्तै मध्यमवर्गीय परिवार त्यसमाथि मेरैजस्ता घरका सदस्य । कोही अशक्त, कोही केटाकेटी हुने हो भने त, झन कति हैरानी होला ! घरपरिवारबाट सहयोगको आशा त कसले नगर्ला र ? बिहान पाँच बजे उठेर घरका कामकाज शुरु गरिएन भने त, मैले अफिस आउने कल्पना नगरे पनि हुन्छ । छोरीको स्कूल बस साढे सात नबज्दै हर्न बजाउन थाल्छ । विहान केही त खुवाउनै प¥यो । धन्न आफ्नो काम आफै गर्छे र केही राहत मिलेको छ ।’
‘सानो छोरा बेलामा खाइदिँदैन । खेलाउँदै खुवाउनु पर्ने हुनाले धेरै समय लाग्छ । घरका अन्य सदस्यमा कसैलाई तातोपानी, कसैलाई चिया त कसैलाई हर्लिक्स खानुपर्ने । त्यो बनेको चिज लिन भान्छामै आइदिए पनि आफू अर्को काम भ्याउने थिएँ जस्तो लाग्छ । तर मान्छे खोज्दै तल माथि गर्दा त मेरो समय त्यसै बिते झैँ लाग्छ । कहिलेकाहीँ घडी हे¥यो, नेटो काटी सकेको हुन्छ । खान्छु भनेर पकाएको खानेकुरा पनि त्यसै छाडेर कुद्न बाध्य हुन्छु म । खाना खानुभन्दा गाली खानु उचित लाग्दैन मलाई ।’
‘बेलुका घर फर्कदाँ पनि कामको लर्को हुन्छ । कहिलेकाहीँ ढिलो पुग्दा त घरमा खाना बनिसकेको होस् जस्तो लाग्छ । तर त्यो कहाँ हुन्छ र ? बेलुकाको खाना खाँदा झण्डै नौ बज्छ । बाबुलाई उही हो बिहान जस्तै घण्टौँ लाग्ने खुवाउन । तिमी खाऊ न त, म बाबुलाई खुवाइदिन्छु भन्ने वाक्य सुन्न कान लालायित हुन्छन् । तर त्यो कहाँ पाउनु र ! खाना सेलाइ सक्छ । पुनः तताउँछु, अनि खान्छु । खाना खाएपछि छोरी गृहकार्य गर्न लाग्छे । अनि भाइलाई पनि गराउँछे । कहिलेकाहीँ त कस्तो गरेका छन् बाबु नानीले, त्यो पनि हेर्न भ्याउँदिन’, विद्या एकोहोरो बोलिरहेकीले अरुणा छक्क पर्छिन् ।
‘ए, बेला भएछ है, कार्यकक्षतिर जाऔँ । हाकिमको नजर यतै होला । फेरि, बिहानको जस्तै पुरस्कार पाइएला नि !’, दुवै आ–आफ्नो कोठातिर लाग्छन् ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
पहिलो पटक पढ्न पाए पनि लेखिरहने मान्छेको जस्तै परिपक्व लेखन रहेछ । बधाई अनि शुभकामना बबिता !!