मान्छेको स्तर

लघुकथा

लीलाराज दाहाल
बागमती ११ , कर्मैया, सर्लाही ।

रामबहादुरको हैसियत सम्भ्रान्तको थियो । ऊ सानातिना गरीव मान्छेहरुलाई गन्दैनथ्यो ।

काठमाडौंको मुख्य सडकमा रहेको उसको सात तले घरले उसको रवाफको आगोमा घीउ थपिरहेको थियो । ऊ आफू निकै ठूलो मान्छे भएको भ्रमको आसनमा बसिरहेको थियो । वल्लो पल्लो घरमा विहावारी, मरण पर्दा समेत जाँदैनथ्यो । यस्तो सोचेर कि त्यहाँ जान उसको हैसियत मिल्दैन । टोलमा आफूलाई एक्लो धनीको रुपमा प्रस्तुत गरेर बाँचिरहेको थियो ।

एक दिन अकस्मात् ठूलो भूकम्प आयो ।

भूकम्पको धक्काले उसको घर गर्लामगुर्लुम ढल्न पुग्यो । हेर्दाहेर्दै उसलाई इज्जतको सोफामा बसाइरहेको घर माटोमै मिल्न पुग्यो । अब ऊ निमेष भरमै करोडपतिबाट रोडपतिको अवस्थामा आइपुग्यो । परापूर्वदेखि सानो छाप्रोमा बसिरहेका श्यामकृष्णको टिनको छाप्रो छेउमा उसको पाल टाँगियो । घर भत्किएको भग्नावशेषमा रहेको सिमेन्ट र इँटको थुप्रोमा पाल टाँग्न पनि मिलेन । घरबाट प्राप्त हुने बहालले उसको इज्जतको जुँगा ठडिएका थिए । अब ती पनि लत्रिए । रामबहादुरको पाल किन्नेसम्मको हैसियत बाँकी रहेन । घरमा भएका बैंकका चेक, नगद, गरगहना आदि घरको खण्डहरमा पुरिएका थिए । सरकारले वितरण गरेको पाल र राहत रकमले उसले घर व्यवहारको जाँतो घुमाउन थालेको थियो ।

ऊ ओठमा मौनताको ताल्चा झुण्याएर आफ्नो भत्किएको घरतिर हेर्न थाल्यो । उसको अनुहारमा पश्चातापको लहर सल्वलाइरहेको थियो । उसका आँखाबाट झरेको आँशुलाई श्यामकृष्णको ओठको मुस्कानले जिस्क्याइरहेको थियो ।

अब रामबहादुर र श्यामकृष्ण साथी भए । पटकपटक उसले आफूलाई माग्ने, खाते भनेको श्यामकृष्णले बिर्सिएका थिएनन् । वैगुनीलाई गुनले मार्नु भने जस्तै उनले निकै भरथेग गर्नुपर्ने अवस्था आएको थियो । एक दिन ख्याल ख्यालमा श्यामकृष्णले उसलाई हेरेर भने, ‘भूकम्पले पो हामीहरुको स्तर मिलाई दियो है ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button