हात्तीका बथानहरू हो ! एटीएमको चारकोसे खल्तीबाट फुत्तफुत्त निस्क

कविता: वायु

मीरा प्रसाईं

जनढुकुटी सोहोरेर भरिपुर्ण भएका
हात्तीका बथानहरू हो !
एटीएमको चारकोसे खल्तीबाट फुत्तफुत्त निस्क ।

उ हेर त !
सडकदेखि सदनका
झुपडीदेखि महलका
पन्चतत्वहरू ढल्दैछन्
सपनाहरू ढल्दैछन्
आशाहरू ढल्दैछन्
विश्वासहरू ढल्दैछन्
वेतका लौराहरू ढल्दैछन्
र, ढल्दैछन् देशका खम्बाहरू ।

पन्चतत्वमा वायु यथास्थान रहे
बाँच्छन् थुप्रै-थुप्रै
आकाश, अग्नि, जल, पृथ्वी
अनि बाँच्छन् थुप्रै-थुप्रै
-आशाहरू
-भरोशाहरू
-सपनाहरू
-विश्वासहरू
-देशका खम्बाहरू ।

उ.. त्यहाँ हेर त
घिटिक् घिटिक् छन्
एक फाँको वायुका लागी पँहेलपुर पन्चतत्वहरू
उ… त्यहाँ प…र हेर त
उस्तै घिटिक् घिटिक् छन् पित्तलपुर पन्चतत्वहरू ।

को सानो जातको को ठूलो ?
कस्को सत्ता कस्को शक्ति ?
को शिक्षित को अशिक्षित ?
को धनी को गरिब ?
सबैको पञ्चतत्व त एक फाँको वायुमा
अडिएको हुने रहेछ
वायु रहे आयु रहेछ ।

ए हात्तीका बथानहरू हो !
`एटिएम´बाट फुत्तफुत्त निस्किएर आउ
र, पन्चतत्वबाट उड्नै लागेको वायु
उड्नबाट बचाउ ।

नारदमुनी तिनै लोक घुम्छन् रे !
के थाहा,
तिम्रो वायु घिटिक् घिटिक् भएको कुनै पला
टुप्लुक्क आइपुग्छन् कि !
तिम्रो परोपकारको समाचार
भोलेनाथ समक्ष लैजान ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button