बा ! गणतन्त्र त बालुवाटारतिर डुल्दै छ रे

कविता/ बा ! गणतन्त्र खोइ ?

गोविन्द श्रृङ्खला
१४-काठमाडौं ।

ए ! बा, गणतन्त्र आयो भन्थे
जनताको राज आयो भन्थे
मैले त कही पनि देखिन त
खोइ गणतन्त्र ?
गाउँका बस्तीहरुमा
गरिवका झुपडीहरुमा
अस्पतालका वेडहरुमा
अक्सिजनका सिलिन्डरहरुमा
कोरोनाले थलिएको देशको चौतारीमा
कही कतै पनि गणतन्त्र देखिएन
कता हरायो गणतन्त्र ?

ज्वरोले निस्लोट धर्मेको छोरो
बाबुसँग प्रश्न गरिरहेछ ।
बा गणतन्त्रले मेरो औषधी ल्याउँछ है ?
कति खेर आउँछ गणतन्त्र ?
गणतन्त्र आएपछि म निको हुन्छु है ?
अनि कोरोनाले थलिएको म निको हुन्छु है ?
गणतन्त्र आएपछि त निको होला नि
यस्तै आशा लिएर ऊ
अस्पतालको शैयामा
बडबडाइरहेको छ ।

सेतो कोट लगाउनेको
अथक प्रयासले मात्र
जोगिएन पल्लो वेडको जीवन
रेम्डीसिविर पाएन उसले
औषधी त ओम्नीकै नियतिमा परेछ ।

एम्वुलेन्समा गणतन्त्र छैन
अस्पतालमा गणतन्त्र छैन
शववाहनमा गणतन्त्र छैन
आर्यघाटमा गणतन्त्र छैन
सेतो प्लास्टिकले बेरिएको शव
गणतन्त्रको पर्खाइमा छ
तर… गणतन्त्र कतै देखिएन ।

काठमाडौंमा गणतन्त्र घेरा प-यो रे
जनताको राजमा
जनताकै नाइकेहरुले
गणतन्त्रलाई पिंजरामा थुनिदिए रे !

गाउँका बस्तीसम्म
गणतन्त्र पुग्न नपाउंदै
गणतन्त्र हठात् थुनियो रे
ऊ झल्याँस्स व्युँझ्यो
पसिनाले शरीर निथ्रुक्क भिजेको छ
ऊ एक्कासी चिच्यायो–
बा ! गणतन्त्र खोइ ?

मैले सुन्छु, बा ! गणतन्त्र त
बालुवाटारतिर डुल्दै छ रे
कहिले शितल निवासतिर पनि देखिन्छ रे
सिंहदरवारमा देखापर्न छोडेको धेरै भयो रे
नयाँ बानेश्वरमा पनि भेटिदैन रे
बा ! गणतन्त्र खोइ ?

गणतन्त्र त सबैको मनमनमा
आउनु पर्ने होइन र ?
किन बरालियो गणतन्त्र ?
खोइ त गणतन्त्र ?
खोइ त गणतन्त्र ?
गणतन्त्र साँच्चिकै वेपत्ता नहोस्
बा ! गणतन्त्रलाई सम्हाल्नुस् है ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button