ओ प्रधानमन्त्रीज्यु, मबाट फुस्किएको श्वास उडेर तिम्रो फोक्सो भरियोस्

कविता
लीला अनमोल

म अमृता विश्वकर्मा
बर्ष ३४
उपचार नपाएपछि अस्पतालबाट
केवल मृत्यु पर्खिएर बसेकी छु ।

अहिले म
अक्सिजन अभावले छट्पटिनुको त के कुरा !
पैसा भएर पनि उपचार नपाएर
छोरीको मृत्यु कुरिरहेका बाआमाको
छट्पटी देखेर यस्तो लाग्दैछ
कि अब म एक सेकेन्ड पनि बाँच्न नपरोस् ।

कमाएकै थिएँ अलिकति सामाजिक प्रतिष्ठा
पास गरेर लोकसेवा आयोग
जनताको सेवा गरिरहेकै थिएँ
इष्टमित्र, नातागोता सबैको दुख बुझ्न म
हर हमेशा पुगेकै हुन्थेँ
उनीहरुको अप्ठ्यारोमा ।

यो देशको एक शिक्षित नागरिक म
आज अस्पतालमा बेड नपाएर मृत्यु कुरिरहेछु ।

एकाएक स्मरण भएरहेछ मलाई
गाउँमा चेतनाको अभिवृद्दि गर्दै हिँड्ने म
आज त्यही समाजबाट अपहेलित छु
आउँदैन कोहि मेरो घरको बाटो भएर
न सधै दूध आउने ग्वाला आउँछ दूध बोकेर
मेरै घरमा बहालमा बस्नेहरुको समेत अनुहार देखिदैन
डराउँछन् मान्छेहरु नजिक आउन पनि
यस्तो सुनसान भएको छ कि मेरो घर परिसर
मानौ यो मुर्दाहरुको बस्ती
जहाँ मान्छे जान मनाही छ ।

यसरी, अक्सिजन अभावले छट्पटिएर
मृत्युसँग लडिरहेकी म
टड्कारो सुनिरहेछु एफएम रेडियोबाट
सरकारले सार्वजनिक गरेका अभिव्यक्तिहरु
‘स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाइ दिनु
हामी जनतालाई राहत पुर्याउने कोसिस गरिरहेछौ
हरेक अस्पतालमा अक्सिजन पुर्याइरहेछौ
आइसोलेसन कक्षहरु निर्माण भैरहेछ
भेन्टिलेर पुगिरहेकै छ
जिल्ला जिल्लाका अस्पतालमा आइसियुको ब्यवस्थापन भएको छ !’

एफएम बन्द गरेर
छेउमा सुकसुकाउदै आमा भन्दै हुनुहुन्छ-
‘छोरी तिमीलाई केही हुँदैन !’

सात दिनदेखि पाँच बर्षे छोरीको स्पर्श नपाएकी म
संसारकै सबैभन्दा प्यारी छोरीले भन्दैछिन्-
‘मामु, म एकछिन हजुरको छेउमा बस्छु नि !’

मेरो ननिस्किएको बोली
एकपटक निस्कियोस् हे भगवान्
कि मलाई भन्न मन छ-
‘ओ प्रधानमन्त्री ज्यु
मबाट फुस्किएको श्वास उडेर
तिम्रो फोक्सो भरियोस्
र, बाँच तिमी
मजस्ताहरुको अकाल श्वास बटुलेर युगौंयुग ।’

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button