नयाँ स्तम्भ ‘ओल्ड इज गोल्ड’मा देवकोटा

यात्री/कविता
महाकवि लक्ष्मीप्रसाद देवकोटा

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो ?

हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार
मस्तिष्कको यो सुनको छानो, इन्द्रियहरूका द्वार
नशा-नदीका तरल तरङ्ग, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?

मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज
चेतनको यो ज्योतिहिरण्य, उसको शिरको ताज
शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ ।

भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँडछौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ? हृदय उगाऊ, बत्ति बाली तेज प्रचुर ।

साथी यात्री ! बीच सडकमा, ईश्वर हिँडछ साथ
चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ ।

सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीँ दिँदैन, चर्म-चक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ?

फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button