गण्डकीबाट आयो ‘चम्किलो सूर्य’

कविता

धनञ्जय दवाडी
प्रदेशसभा सदस्य, गण्डकी ।

बिहानको भुकभुके उज्यालोमा
मेरा कलिला हात समातेर तिमीले भन्यौ
रक्तिम सूर्य उदाउने छ पूर्वबाट
त्यो रातो सूर्यले
आकाशलाई
हिमाललाई
देउरालीलाई
हाम्रा गाम बेसीलाई उज्यालो छर्नेछ।
अनि
व्युँझने छन्
गरीवीको
अज्ञानताको
अविकास
र, अभावको
चीर निद्रामा परेकाहरु ।

यसपछि

तिम्रा स्वप्निल शब्दमा
समाहित भएँ
र, छोडिदिएँ
पढिरहेको विश्वद्यालय
जोतिरहेको खेतबारी
नानीहरु खेलिरहेको सुन्दर आँगन
आदेश मानेर तिम्रो
बोकेँ बन्दुक
पड्किए
पड्काएँ
कतै
पड्काइएँ
क्रमशः
मेरो कौमार्य
मेरो मुस्कान
मेरा सपनाहरु
रुपान्तरित भए तिमीमा
नीतिमा होइन
इशारामा चल्ने बनायौ ।
मलाइ लाग्थ्यो
तिमी नै मेरो सपना हौ
क्रान्ति हौ
र, सफलता हौ ।

जब सकियो क्रान्ति
बदल्यौ तिमीले आफ्नो भाषा
लवाइ
सङ्गत
विधि अनि व्यवहार ।

खै
आजभोलि
निश्चिन्त निदाउन्नन् आँखाहरु
बन्दुकको सिरानी राखेर
तिमीसँगै निदाउँदा झै
बरु
कचपल्टै छन्
तिमी सत्तासिन भएदेखि आँखाहरु
चिम्लिनै मान्दैनन् ।

बदल्छु समाज भन्थ्यौ, समाज
तिमी आफै पो बदलियौ
बरु
यतिबेला म पो त्यही देउरालीमा छु
कुरिरहेछु भालेको डाँक
र, बिहानको लालिमायुक्त चम्किलो सूर्य ।

रचनास्थान/कालः बेसीशहर, २०६७ साउन ७ ।

(तपाईं पनि आफ्ना कविता नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button