विदेशमा प्रेम, स्वदेशमा विछोड
कल्पना कथा श्रृंखला ८
कल्पना खरेल
रातको समय सुनसान । कोठामा मन्द डिम लाइट बलिरहेको थियो । परदेशको एक्लो बसाइ । निन्द्रा लागेको थिएन । छट्पटी भएको थियो । रातको बाह्र बजिसक्यो । विशालले टेबुलमाथिको गिलासको पानि पियो । विशालसँग कोठामा बोल्ने भित्ता सिवाय कोही थिएन । विशाललाई निकै एक्लो महसुस भयो । तिनै भित्ताहरूले पनि आफैलाई च्यापेको जस्तो भान हुँदै थियो । यता छाम्यो रित्तो, उता छाम्यो भित्तो ।
विशाललाई के गरौँ, कसो गरौँ भयो । विशालले आफ्नै छेउमा राखेको ल्यापटप खोल्यो । फेरि फेसबुक लग इन गर्यो । सुरुमै होम पेजमा एड भनेर आएको बिना नामको एक सुन्दरीको तस्बिर देख्यो । सुन्दरी केटीको तस्बिर देख्नासाथ उसका मनमा एड गर्न मन लाग्यो । विशालले बिनाको प्रोफाइल खोल्यो र फ्रेन्ड रिक्वेस्ट पठायो । बिना पनि अनलाइनमै थिइन् । तुरुन्तै विशालको रिक्वेस्टलाई एक्सेप्ट गरिहालिन् । विशालले म्यासेज गर्यो, थ्याङ्क्यु फर येक्सेप्ट माई फ्रेन्ड रिक्वेस्ट । बिनाले वेलकम फर्काइन् । म्यासेजमै दुवैको परिचय सुरु भयो । विशालले सोध्यो— तिमी कहाँबाट ?
बिनाले म्यासेज फर्काइन्— म हङकङबाट ।
विशालले भन्यो— म पनि दुवईबाट ।
दुवै जनाको प्रवासको एक्लो बसाइमा सुमधुर बातचित भयो । मध्य रातमा मिठासपूर्ण गफमा रात बितेको पत्तै भएन । च्याटमा रसिलो गफ गर्दा गर्दै तीन बज्यो । निद्रा पनि हरायो । दुवैको सुन्दर तस्बिर एक अर्काप्रतिको आकर्षणको माध्यम थियो । लाग्थ्यो बर्षौं पुरानु चिनजान जस्तो । ‘एकै नजरमा माया बस्यो है …’ भने जस्तै । मिठो वार्तालापमै दुवै जना च्याटमै हराए । एकअर्कालाई मन पराए । अन्तरमनका भाव तरङ्गित भयो । मनै मनको मिलन भयो । प्रेमको आँकुरा पलायो । च्याट गर्दा गर्दै बिहानीको समय भयो । दुवैलाई एकै रातमै च्याटबाट छुट्टिन मन नलाग्ने परिस्थिति सिर्जना भयो ।
तर पनि दुवै जनालाई ड्युटी जाने बाध्यता । दुवैले बेलुका अनलाइनमा भेट्ने वाचा गरी विदा भए । दिनभरि ड्युटीमा विशाललाई च्याटमा भएको मिठासपूर्ण वार्तालापका यादले सतायो । बेलुका कहिले होला जस्तो लाग्यो । बिना पनि बेलुकाको प्रतीक्षामा घडी हेरी हेरी ड्युटी गर्दै थिइन् । भौगोलिक रूपमा धेरै टाढा भए तापनि च्याटमै मनको दूरीले दुवैलाई निक्कै नजिक बनाइदिएको थियो । बेलुका ड्युटी बाट कोठामा आउनासाथ विशालले ल्यापटप खोल्यो ।
पहिला फेसबुकतिरै विशालको ध्यान आकर्षित भएको थियो । फेसबुक खोल्यो । अन लाइनमा विशालका नजरले बिनालाई खोज्न लाग्यो । निकै बेरसम्म पनि विशालले बिनालाई अनलाइनमा देखेन । बिनाको प्रतीक्षामा विशाललाई निकै पट्यार लाग्यो । प्रतीक्षाको घडी निकै लम्बियो । निकै समयपश्चात् बिना अनलाइन आइन् । विशालले हर्षित मुद्रामा म्यासेज गर्यो, हाई बिना । बिनाले पनि हाई फर्काइन् ।
भिडियो कल गर न बिना ।
ओके भन्दै बिनाले भिडियो कल गरिन् । भिडियो कलले एक अर्कालाई पारदर्शी बनायो । उज्यालो मोहोडाको हेन्डसम विशाललाई देख्नासाथ बिना अझै विशालप्रति मोहित भइन् । ठुला ठुला गाजलु आँखा, लामो मोहोडा, हिस्सी परेकी, पातली बिनालाई देखेर विशाल पनि मख्ख भयो । दुवै जनाको दृष्टि एकअर्कामा केन्द्रित भयो । विशालले पुरुषत्व जनाउँदै बिनाका रूपको बखान गर्यो । बिना तिमी कति सुन्दरी, स्वर्गबाट झरेकी त होइन कतै ? बिनाले मस्किँदै हो र त्यस्तो ? मिठा मिठा बातमा मस्का मास्की चलिरह्यो । पाँच घण्टा बित्दा पनि समय बितेको पत्तै भएन ।
हिजो प्रवासमा एक्लिएको विशाललाई आज इन्टरनेटले उमङ्ग र खुसी दिलायो । कसैका साथको महसुस भयो । दिनहुँ बिनासँगको मिठामिठा बातमा विशालले आफ्नो घर परिवार बिर्सियो ।
घरमा भएकी श्रीमती स–साना अबोध तीन छोराछोरीप्रतिको सम्झना टाढियो । घरकी श्रीमती श्रीमान विशालको फोनको प्रतीक्षा गर्दै थिइन् । लामो समयसम्म विशालको फोन नआउँदा विशालकी श्रीमती मिना निकै चिन्तित थिइन् । महँगो भए पनि मिनाले नेपालबाटै आफ्नो श्रीमान विशाललाई फोन गरिन् । श्रीमतीसँग फोनमा विशालले औपचारिकता मात्र जनाउँछ । खासै पहिले जस्तो आत्मीय कुराकानी हुँदैन । एक्कासी विशालमा आएको परिवर्तन मिनालाई महसुस हुन्छ ।
किन बुढो तिमी पहिले जस्तो छैनौ ?
आजभोलि अलि व्यस्त छु भन्दै विशालले श्रीमतीलाई टार्छ । मिनाले आफ्नो श्रीमानप्रतिको व्यवहारमा खल्लो महसुस गर्छिन् ।
विशालको ध्यान श्रीमती मिनासँग नभएर इन्टरनेटकी गर्लफ्रेन्ड बिनातिर मात्र केन्दित थियो । विशाललाई ड्युटीभरि पनि बिनाको यादले सताउँथ्यो । बिनालाई कहिले भेटौँ जस्तो हुन्थ्यो । हरेक दिनको भिडियो कलमा बिना आफैसँग छिन् जस्तो भान हुन्थ्यो । प्रेममय मिठामिठा बातमै बिनालाई अँगालुँ जस्तो लाग्थ्यो । क्यामराबाट स्पष्ट देखिएका जवानीको रंगहरूले कुरा गर्दागर्दै यौन भोकको तिर्सना जगाई दिन्थ्यो । तिर्सनाको आवेगमा दुवै जनाको शरीरबाट लगाएका कपडाहरू खुल्थे । भिडियो सम्पर्क हुन्थ्यो । दुवै जना छर्लंग देखिएको क्यामराको माध्यमबाटै एकअर्कामा सन्तुष्ट हुन्थ्ये । हरेक दिनहरूको च्याट रङ्गीनमय हुन्थ्यो ।
केही महिनापश्चात विशाल र बिनाले नेपाल फर्किने सल्लाह गरे । दुवै जना काठमाडौँ गएर सँगै बस्ने निर्णय गरे । बिना पनि लामो आठ वर्षको हङकङ बसाई पश्चात मोटो रकम लिएर नेपाल फर्किइन् । विशाल पनि दुबई अबुधबीको जागिर छोडेर नेपाल फर्कियो । दुवैको काठमाडौँमा भेट भयो । सँगै बिनाको निजी घरमा नवदाम्पत्य जीवन सुरुवात गरे । दिनहरू मस्तिमै बित्दै थिए ।
घरबाट विशालको बेखबरीको खोजतलास हुन थाल्यो । विदेशबाट रकम आउन छोडेको पनि धेरै भइसकेको थियो । घरमा विशालकी सानी काखकी छोरी सिकिस्त बिरामी भएकी थिई । बच्चाहरूको स्कुलको परीक्षा आउन लागेको थियो । लामो समयदेखि स्कुलको फि पनि बुझाएको थिएन । तीन जना बच्चाहरूको लालनपालन मिनालाई अति नै गारो भइरहेको थियो । त्यसैमा पनि काखकी छोरी बिरामी । पाँच दिनदेखि छोरी हस्पिटलमा भर्ना थिइन् । छोरीका स्वास्थ्यमा सुधार आएको थिएन । बच्चालाई दिनहुँ व्यथाले च्यापिरहेको थियो । सिकिस्त अवस्थामा पनि बच्चीले ‘बाबा’ ‘बाबा’ भनेर पुकारिरहेकी थिइन् । गैरजिम्मेवार बच्चीको बाबा अन्तै रङ्गीन क्षणसँग भुल्दै थिए । छोराछोरीको यादै थिएन ।
जिल्लाका हस्पिटलले बिरामी बच्चालाई तुरुन्तै कान्ति हस्पिटल काठमाडौँ रिफर गर्यो । मिनासँग पैसाको कौडी थिएन । कसरी छोरीलाई उपचार गराउने ? अपर्झटले मिनालाई अन्योल बनायो । बेखबर श्रीमानप्रति रिस उठ्यो । मीनाले दुई बच्चाहरूलाई छिमेकीका घरमा जिम्मा लगाइन् । हातमा विशालले विवाहको स्वयंवरमा लगाइदिएको औँठी थियो । बेचिन् । त्यही पैसाले काखका बच्चालाई एम्बुलेन्सबाट काठमाडौँ लिएर गइन् । लामो बाटो दाङबाट काठमाडौँ पुग्न निकै समय लाग्यो । सिकिस्त बिरामी बच्चा, एक्लिएकी मिनालाई निक्कै धौ भयो । बच्चीले बाटैमा छोड्छिन् कि जस्तो भयो । धुकधुकी मात्र थियो । हस्पिटल पुग्ना साथ डाक्टरले बच्चालाई चेक जाँच गरे । डाक्टरले भने— बच्चालाई लिएर आउन किन ढिला गर्नुभयो ? डाक्टरको खरो प्रश्नमा मिनासँग कुनै उत्तर थिएन ? पैसाको जोहो गर्दा गर्दै ढिला भएको थियो ।
बच्चीको उपचार सुरु भयो । तर पनि कुनै सुधार भएन । काठमाडौँ पुगेको भोलिपल्ट बच्चीले संसार छोडिन् । एक्ली मिनामाथि बज्रपात भयो । अन्धकार छायो । भुइँमा पछारिन् । बेहोस भइन् । शोकमा डुबिन् । त्यो सहरमा मिनाको कोही थिएन । त्यही सहरमा छोरीको बाबु दुनियाँ बिर्सिएर मस्ती मार्दै थियो । त्यही सहरमा छोरीको लास अलपत्र भएको थियो । मिनालाई लास लिएर दाङ फर्किन पनि टाढा थियो । छोरीको अन्त्येष्टि कसरी गर्ने ? कसले गर्ने ?
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)