ठाकुर बेलवासेको नयाँ ‘निर्णय’
कविता
मलाई प्रष्ट थाहा छ
अगाडि
बाटोमा पहिरो नाचिरहेको छ
घोरेटाहरु पनि पहिरोमा पुरिएका छन्
ताराहरुका छातीमा
निष्पट्ट अध्याँरोको पहाड ढलेको छ
त्यही पहाडले
घाम अनि जूनलाई
उकालो चढ्न दिएको छैन्
सम्पूर्ण क्षितिजहरु छोपेको छ
अध्याँरोले
मलाई यो पनि थाहा छ
वस्तीमा
राक्षस बनेर बाढी पसेको छ
मान्छेले मान्छे चिन्ने अवस्था छैन्
सबै बाढीमै बग्दाबग्दैै
आफै बढी बनेर
आपसमा कोलाहल मञ्चाएका छन्
समय आफै डाँकु बनेर
समयलाई लखेटिरहेको छ
कति बेला समयले समय मार्छ
कुनै टुंगो छैन्
फेरि पनि
म तिमीसँग छुट्टिने
निर्णय गरिसकेको छु
स्वतन्त्र मान्छेले
जस्तासुकै दुःख सहन सक्छ
तिमीलाई छोड्न सके भने
मैले संसारका सम्पूर्ण विपत्तिलाई जित्ने छु ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)