अर्लिनको अंग्रेजी ‘बुलाकी’

अर्लिन गुरुङको अंग्रेजी कविता संग्रह ‘बुलाकी’ प्रकाशित भएको छ । बुलाकी नाकमा लगाइने सुनको गहना हो । मान्यता अनुसार ‘स्वर्ग जाने टिकट’ मानिने बुलाकीलाई अर्लिन ‘पिजंडा’को विम्ब मान्छिन् ।

महिलालाई बुलाकी जस्तो गहनाको प्रलोभनले युगौंसम्म कैद गर्न खोजेको उनको तर्क छ । संग्रहमा समेटिएका छोटा कविताहरुमार्फत् उनले पितृसत्ताविरुद्ध सम्पूर्ण महिलालाई बुलाकी फ्याँक्न र उत्पीडनको पिँजडा तोड्न आग्रह गरेकी छन् । बुलाकी महिला भएकै कारण सहनुपर्ने हिंसा र उत्पीडनका उल्झनहरु फुकाउँदै सुन्दर भविष्यको कल्पना गरिएको काव्यात्मक अभिव्यक्ति हो ।

संग्रहमा भएका कविताहरु दुई फरक सन्दर्भमा विभाजन गरेर अध्ययन गर्नुपर्ने खालका छन् । पहिलोमा विभिन्न पृष्ठभूमिका महिलाहरुको उत्पीडनका कथाहरुको प्रतिध्वनित आवाज भेटिन्छ ।

दोस्रो सन्दर्भका कविताहरुले तीनै महिलाले आफ्नो दुःखद् वर्तमानसँग लड्ने अठोट र संकल्पलाई बुलन्द पारेका छन् । अर्लिनले छोटा पंक्तिहरुमा सम्पूर्ण महिलाका कथा समेट्दै महिला मुक्तिका लागि ऐक्यबद्धता जनाएकी छन् ।

वी रिडले प्रकाशन गरेको पुस्तकमा उज्ज्वल राना मगरको फोटोग्राफी छ । संग्रहको कभर डिजाइन र ग्राफिक डिजाइन भने किशोर शेरचन र समन श्रेष्ठले गरेका छन् । ९२ पृष्ठको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button