भ्यालेन्टाइनमा ‘कालो गुलाफ’
श्रीरामसिंह बस्नेत / कविता
सारा बजार चहा-यो उसले
पाएन कतै एक थुङ्गा कालो गुलाफ,
छिमेकका सबै बगैंचा चिहायो
देखेन कतै एउटा कालो गुलाफ ।
रिस उठ्यो उसलाई सबै मालीहरुसँग
किन कालो गुलाफ फुलाउँदैनन् यिनीहरु,
के थाहा छैन यिनीहरुलाई
प्रकृतिले दिएको उपहारमा
कालो गुलाफ पनि छ भनेर ।
फूलका व्यापारीहरुसँग त ऊ आक्रोशित नै भयो
कालो गुलाफ खोज्ने ग्राहक पनि हुन्छन् भन्ने
किन हेक्का राख्दैनन् यिनीहरु
कतै भेटेन उसले एक थुङ्गा कालो गुलाफ ।
कुनै दिन रातो गुलाफबाट
सुरु गरेको प्रेमिल यात्रा
कालो गुलाफबाट अन्त्य गर्न चाहन्छ ऊ आज
त्यसैले भौंतारिरहेको छ ऊ
कालो गुलाफको खोजीमा
के तपाईलाई थाहा छ
कालो गुलाफ कहाँ पाहिन्छ ?