म यदि लेखक नभएकोे भए समसामयिक नेपाली साहित्य थोरै गरीब भने अवश्य हुन्थ्यो होला

‘संसारमा झण्डै ८ अर्ब मानिस छन् । तिनीहरूमध्ये लेख्नेहरू कति प्रतिशत होलान् । त्यत्रा नलेख्नेहरूलाई के भएको छ र नलेख्दा के हुन्छ भनेर सोधेको ?’, उनले प्रतिप्रश्न गरे । तर, उनलाई अचेल उनलाई लाग्न थालेको छ, ‘मैले लेख्नसक्ने र लेख्नुपर्ने कुरा धेरै थिए र छन्, मसँग समय भने सकिँदै गएको छ ।’

नियमित स्तम्भ ‘लेखक बोल्छ‘ मा नेपालनाम्चा प्रस्तुत गर्छ, हरि अधिकारी

कुन घटना, कारण वा प्रेरणाले कहिलेदेखि लेखनमा आउनु भयो ?
मलाई लेख्न प्रेरित गर्ने त्यस्तो कुनै एउटा घटना अथवा व्यक्तिको झट्ट सम्झना अहिले गर्न सक्दिनँ । बाल्यकालमा हाम्रो बिहाबर कुशादेवीका सामाजिक अगुवा र मेरा नजिकका काका रामचन्द्र अधिकारीको संरक्षणमा थिएँ । उनले लेखेका र कहिलेकाहीँ वाचन पनि गर्ने गरेका सुललित पंक्तिहरूले मेरो मन-मश्तिष्कमा कविताप्रति अभिरुचि जागृत गरिदिएको हुनु पर्दछ । घरमा भानुभक्तको रामायण, ज्योतिप्रसाद गौतमले लेखेको ‘भागवतकुञ्ज’ र ‘गुणरत्नमाला’ जस्ता पुस्तकहरू थिए । घरका वरिष्ठ सदस्यहरू कहिले काहीँ ती कृतिहरूबाट लय हालेर कविता पढ्दथे । तिनले पनि मलाई साहित्यसँग नजिक पुर्‍याउँन सहयोग गरे होलान् ।

लेख्दा के हुन्छ ? र, नलेख्दैमा के हुन्छ ?
लेख्दा आनन्द लाग्छ । आफूलाई घत पर्ने कुनै कुरा लेख्न सकेको जस्तो लागेको क्षणमा बेग्लै प्रकारको सुखानुभूति हुन्छ । नलेखे पनि केही फरक पर्दैन । संसारमा झण्डै ८ अर्ब मानिस छन् । तिनीहरूमध्ये लेख्नेहरू कति प्रतिशत होलान् । त्यत्रा नलेख्नेहरूलाई के भएको छ र नलेख्दा के हुन्छ ? भनेर सोधेको ।

तपाईंले लेखेकै कारण के भएको छ ? केही त्यस्ता घटना सम्झनु हुन्छ, जसको जगमा तपाईंको लेखन थियो ?
मैले लेखेका केही रचनाका कारण केही असल मित्र बनेका छन् मेरा ।

तपाईं यदि लेखक नभएकोे भए समाज र संसारलाई केही फरक पथ्र्यो ?
अहँ, केही फरक पर्दथ्यो जस्तो लाग्दैन । हो, समसामयिक नेपाली साहित्य थोरै गरीब भने अवश्य हुन्थ्यो होला । मैले अखबारी लेखनका माध्यमबाट नेपाली समाजमा फैलिएका विकृति र विसङ्गतिलाई जसरी उजागर गर्ने प्रयत्न गरेको छु र धेरै पाठकलाई सजग बनाउन जमर्को गर्दै आएको छु । नेपाली अखबारी लेखनमा त्यसको अभाव रहने थियो मैले नलेख्दा । अखबारी लेखनमा समेत भाषिक सौन्दर्यलाई साबुत राख्दै मैले लेख्ने गरेका रचनाहरूबाट पाठकहरू वञ्चित हुने थिए मैले नलेख्दा ।

तपाईका लेखनका विषय तपाईं कसरी रोज्नु हुन्छ ? खोज्नु हुन्छ ?
म मेरो लेखनका लागि विषय-वस्तु वा कच्चा पदार्थ मेरो समाज र यस समाजका मानिसहरूमा खोज्दछु । मेरो लागि विषयको रोजाइभन्दा मैले रोजेको विषयमाथि कति प्रभावकारी र मनोहारी किसिमले लेख्न सकेँ वा सकिनँ भन्ने कुरा महत्वपूर्ण रहन्छ ।

लेख्दालेख्दै विरक्त पनि लाग्दो होला है ?
मलाई त्यस्तो विरक्ति कहिल्यै पनि हुँदैन । अहिले आएर त मलाई मैले लेख्नसक्ने र लेख्नुपर्ने कुरा धेरै थिए र छन् , मसँग समय भने सकिँदै गएको छ भन्ने लाग्न थालेको छ ।

तपाईं लेख्नु हुन्छ तर त्यसको संप्रेषण संकुचित वा व्यापक हुँदा तपाईंमा आउने फेरबदल के हुन्छ ?
मैले लेखेको कुरा धेरै जनासम्म पुगोस् भन्ने मेरो स्वाभाविक चाहना हुन्छ । पुग्न सकेन भने पनि म त्यति चिन्ता गर्दिनँ । चाहे अनुसारको स्तरीय लेख्न सकिनँ भने मात्र म आफैँसँग असन्तुष्ट हुन्छु ।

एकातिर लेखनको लोक छ, अर्कोतिर तपाईंको मन–लोक । अझ अर्कोतिर समाजलोक । यी तीन लोकलाई कसरी एक वा फरक रुपमा बुझ्नु हुन्छ ?
मेरा लागि तपाइँले भनेका ३ वटै लोक आपसमा गाँसिएका छन् ।

लेखेरै जीवन बिताइदिने हो ?
पक्कापक्की हो । अब बाँकी जीवनमा मेरो एउटै काम साहित्य सिर्जना मात्र हुनेछ ।

नयाँ आउने लेखकहरुलाई तपाईंको अनुभवमा आधारित केही टिप्स, सल्लाह र सुझाव ?
नयाँ लेखकहरूले जुन भाषामा लेख्ने हो, त्यसको गहिराइसम्म पुगेर अध्ययन गरी त्यसमा निपुण हुन प्रयत्न गर्नु पर्दछ । हर्दम प्रयोगशील हुने र आफ्नो मौलिक छाप बनाउने प्रयास गर्नु पर्दछ । जुन विधा रोज्ने हो, त्यस विधाका चरित्रलाई चिनेर तिनको मर्यादा राख्ने गरी लेख्न सक्नु पर्दछ । लेख्ने भनेको लगातार पुनर्लेखन गर्ने हो भनेर बुझी आफ्नो लेखनलाई परिमार्जन गर्ने कोशिश छोड्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button