‘हिमालय टु ओसियन किताब यात्रा’ सुनौलो भविष्य पुग्यो

विद्यार्थीलाई नतिजामुखी प्रतिस्पर्धामा मात्र होइन, सिकाइको प्रक्रियामै रमाउन प्रेरित गर्ने उद्देश्यसहित लेखक तथा यात्री अशोक सिलवालको हिमालय टु ओसियन किताब यात्रा विद्यालय–विद्यालयमा प्रभावकारी रूपमा विस्तार हुँदै गइरहेको छ । ‘यो यात्राले पढाइको असली सुन्दरता पढाइ प्रक्रियालाई इन्जोय गर्न सक्नुमा हुन्छ भन्ने सन्देशलाई केन्द्रमा राख्छ’, सिलवालले भने ।

‘हिमालय टु ओसियन किताब यात्रा’ पछिल्लो पटक जोरपाटी, नारायणाटारस्थित सुनौलो भविष्य बोर्डिङ स्कूल पुगेको छ । यसअघि यो यात्रा गोकर्णेश्वरस्थित पिस एन्जेल्स स्कुल र बालाजु हाइटस्थित गाेल्डेन हाेराइजन एकेडेमी पुगेको थियो । यात्रामा सिलवालका तीन कृतिहरू ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ‘अप्प दीपो भवः’ र ‘श्रीलंका स्मृति’मार्फत विद्यार्थीहरूसँग जीवन, प्रकृति, आत्मबोध, सिर्जना, यात्रा र सिकाइ प्रक्रियाबारे गहिरो संवाद गरिएको थियो । विभिन्न उमेर समूहका विद्यार्थीहरूबीच भएको अन्तरक्रियाले पुस्तकलाई केवल पढ्ने सामग्री होइन, आफ्नै जीवन पढ्ने झ्यालका रूपमा बुझ्न प्रेरित गर्‍यो । ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ले जीवनका अपूर्णता, संघर्ष र मूल्यहरूलाई सगरमाथाको प्रतीकमार्फत बुझाउँछ भने , ‘अप्प दीपो भवःर श्रीलंका स्मृति’ले आफैं आफ्नो प्रकाश बन्नु भन्ने आत्मबोधको सन्देश दिन्छ । ‘श्रीलंका स्मृति’ले यात्रामार्फत संसार बुझ्न, विविध संस्कृतिसँग जोडिन र दृष्टिकोण फराकिलो बनाउन प्रेरणा दिन्छ ।

‘विद्यार्थीहरूले पुस्तकका सन्देश सुन्ने मात्र होइन, त्यसलाई महसुस गर्ने र आफ्नै भाषामा बुझ्ने क्षमता देखाए । यस्तो प्रत्यक्ष संवादले उनीहरूलाई किताबसँग नजिक ल्याउँछ र सिकाइलाई बोझ होइन, आनन्द बनाउँछ’, कार्यक्रमबारे धारणा राख्दै प्रिन्सिपल साधना खतिवडाले भनिन् । लेखक सिलवालका अनुसार, ‘आफूभित्र उज्यालो छ भन्ने अनुभूति गराउन सक्नु नै शिक्षाको ठूलो उपलब्धि हो । विद्यार्थीले पुस्तक पढ्नुअघि नै त्यसको आत्मा महसुस गर्न थाले भने, त्यहीँबाट साँचो सिकाइ सुरु हुन्छ ।’

सामान्य पुस्तक परिचयभन्दा धेरै माथि उठेर, ‘हिमालय टु ओसियन किताब यात्रा’ले विद्यार्थीलाई प्रकृतिसँग जोड्न, किताब र लेखनसँग प्रेम गराउन, सिर्जनासँग नजिक ल्याउन र जीवनलाई पाठ्यपुस्तकभन्दा फराकिलो रूपमा बुझ्न सिकाउने प्लेटफर्मका रूपमा स्थापित भइरहेको विद्यालयहरूको निष्कर्ष छ ।

लेखकका अनुसार, ‘हिमालय टु ओसियन किताब यात्रा’ आगामी दिनहरूमा थप विद्यालयहरूमा निरन्तर विस्तार हुँदै जानेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button