एसएलसी फेल भएपछि मेरो काम खाली किताब पढ्नु रह्यो

नेपालनाम्चाको लोकप्रिय स्तम्भ ‘किताब’मा नारायण तिवारी

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
मैले रूचिपूर्वक किताब पढ्न थालेको वि.सं.२०२७ सालदेखि नै हो । यो साल मैले एसएलसी दिएँ र फेल पनि भएँ । फेल भएपछि मेरो काम खाली किताब पढ्नु रह्यो । त्यो पनि कस्तो भने हिन्दी धेरै र नेपाली कम, उपन्यासहरू । जासुसीदेखि लिएर व्याबसायिक खालका धेरै उपन्यासहरू पढियो । यसमा अवश्य केही साहित्यिक उपन्यासहरू पनि परे तर धेरै त उही जासुसी र व्याबसायिक उपन्यास नै परे ।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
यसरी शुरु भएको पाठ्यपुस्तक इतर पठनले पछि साहित्यिक विविद्य पुस्तक पठनको रुचि बढ्न पुगेर यसकै प्रभाव पनि हुनसक्छ मेरो दैनिकीमा साहित्य लेखनले प्रवेश गर्यो । किताब पठनले मेरो दैनिकीलाई खासै विथोल्दैन । किनभने यावत जीवनयापनका दैनिक कर्म र सृजनकर्मको समाप्तिपछि नै मेरो पठनकर्म चल्ने गर्छ । यसको अर्थ प्राथमिकतामा यो तेश्रो नम्बरमा रहेको छ ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
दिउँसो नै पढ्न रुचाउँछु भन्नु पर्ला । बिहान र बेलुका फुर्सद पनि नहुने । मैले भनिहालेँ पठन मेरो तेश्रो प्राथमिकतामा छ । तर, यात्रामा वा घरमै फुर्सद पाए पढ्न थाल्छु । जागिरमा हुँदा छुट्टीका दिन जुनसुकै समयमा पढियो होला । पहिले विद्यार्थीकाल र अहिले अवकाशप्राप्तकालमा भने अपवादबाहेक दिउँसो नै हो मेरो पठन समय । कुनैकुनै किताबले भने चुम्बकले झैँ नछोडेर, साँझ र रात पनि पार्ने गरेका छन् ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
किताब पढ्दा हुने अनुभूति भनेको कुन किताब पढ्दैछु, त्यसबाट फरकफरक ढङ्गले हुने हो । कुनै किताब पूर्ण पाठ पढिँदैनन् । कुनै लगातार नसकिउञ्जेल पढिन्छ । आख्यानमा पनि उपन्यास पठनमा लगातार तर, कथा/लघुकथाको पठनमा विश्राम लिइने गरिन्छ । कविताका किताबमा पनि विश्राम लिइन्छ । अनुभूति पनि फरकफरक नै हुन्छ । कसैले रुवाएर आनन्द दिन्छन्, कसैले ओठ मुस्कुराउन बाध्य पार्छन् । कुनैकुनै किताब पढ्दा त, आहा यस्तो मैले कहिले लेख्न सकुँला भन्ने भाव पनि आउँछ । कुनै पुस्तक पढ्दा भने के होला यस्तो लेखक बन्ने रहर, जस्तो पनि लाग्छ । प्रभाव पार्न नसक्ने किताब त बीचमै पनि नपढेर थन्क्याइएको छ ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
तपाईँले उल्लेख गरेका सबै खाले किताब पढ्न मन पर्छ नि । मुख्य कुरा यी उल्लेख गरिएका विषय कुन विधाका किताबमा छन् भन्ने हो । यसरी यदि आख्यान वा कविता वा नाटक, निबन्ध वा साहित्यका सबै विधामा यी विषय आएका रहेछन् भने स्वत: पढिहालिन्छ । तर पनि भनौँ म आफू आख्यान लेखनतिर बेसी लहसिएकाले आख्यान नै बढी पढ्न रूचाउँछु । यसमा मलाई समाज, देश, दुनियाँसित छोइएर वा भनौँ यो धरा टेकिएर र यस धरालाई समृद्ध, सुन्दर बनाउने खालका यथार्थवादी पात्रपात्राका सुखदु:ख, हाँसो, आँसुले भरिएका मानव हीतकारी किताब पढ्न पाए हुनेथियो भन्ने लागिरहन्छ ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
एकदम सकारात्मक परिवर्तन ल्याएको छ । मेरो सोच, जीवन-दृष्टिका निर्माता यिनै पढेका किताबहरू पनि हुन् भन्न मलाई कुनै द्विविधा छैन । त्यसो त मेरो जीवन सोच, दर्शनमा परिवर्तन ल्याइदिने किताबका अलावा म उभिएको धर्ती, आमा-बा, परिवार, समाज र यसका विविध पक्षहरू पनि हुन् ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
कागजी किताब नै पढ्न मनपराउँछु अहिलेसम्म त । किनभने यो ढल्किएर, सुतेर वा जसरी पनि पढ्न सजिलो । तर, यो डिजिटल युगले कहाँ पुर्याउने छ, अहिल्यै भन्न सकिँदैन ।

८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
त्यस्तो खासै विधि अपनाउनु पर्ने कुरा मेरो हकमा केही छैन । मानिसहरूले राति सुत्नेबेला किताब पढ्ने गरेको सुनेको छु । सायद यसरी निदाउन मद्दत पनि हुने होला । म भने राति रेडियो सुन्दै निदाउँछु । बरु, यात्रामा समयको सदुपयोग गर्न म किताब बोक्ने गर्छु । फुर्सदिलो भएकोले पढ्ने समय त मेरो दिउँसो नै हो ।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
दुईखाले चुनौती हुन्छन् । एउटा त पुस्तक गतिलो भएन भने पढेर पनि खिन्नता उत्पन्न भइरहन्छ । अर्को, बीचबीचमा उत्पन्न हुने घरायसी, पारिवारिक र सामाजिक व्यवधान ! यस्तो व्यवधानले किताब पठन खण्डित हुने र लामो समय लिइदिने हुन्छ ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
अवश्य प्रेरित गर्दछ । किताबको गुणवत्ता कमसल वा असल दुवै अवस्थामा साथीहरूसँग चर्चा, विमर्श गरिहालिन्छ ।

११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
अहिले ‘हल्ला’ले किताब पठनलाई सस्तो बनाएको अवस्था छ । तसर्थ हल्लाका पछि नलागेर अलिक बौद्धिक पाठकसँग सरसल्लाह गरेर पुस्तक पढ्नु उत्तम हो । नभए पनि, बजारमा आएका पुस्तकहरू सबैमा आँखा लगाउनुहोस्, लेखकहरू बारे जानकारी बटुल्नुहोस् र पढ्ने सुचिमा किताबहरू राख्दै जानुहोस् । तपाईँले केही किताब पढ्नासाथै आफैँ पनि कुन र कसका, कस्ता किताब पढ्न उपयुक्त हुनेछ, सोको धारणा बनाउन सक्नु हुनेछ। हल्ला भएका सबै नराम्रा वा कमसल हुन्छन् भन्ने मेरो अभिप्राय होइन तर हल्ला नभएका किताब अझै उत्कृष्ट हुनसक्छन् भन्ने बुझ्न जरुरी छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button