मेरो एकतर्फी प्रेम छ किताबसित

नेपालनाम्चाको लोकप्रिय स्तम्भ ‘किताब’मा राम गोपाल आशुतोष

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
म किताब पढ्दै र किताबकै सेरोफेरोमा हुर्केको हुँ । ठ्यक्कै समय, मिति र स्थान त याद छैन । कोर्सबूकमा मलाई रुचि थिएन तर, कथा, उपन्यास र इतिहासका किताब पढ्दै बढेँ । एसएलसी पास गरेपछि मैले कलेजको पुस्तकालयमा दिनको दुई घन्टा पढेँ । २०५० पछि । जासुसी र यौन उपन्यास पढेँ । उमेरको कुतुहलका कारण हुन सक्छ । पछि आफैँ फाट्टफुट्ट लेख्ने भएँ । २०५१ पछि भने कविताले तान्यो । अहिले अत्यधिक कविता पढ्छु । उपन्यास र कथाका साथै गैह्र आख्यान पढ्छु ।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
एक समय थियो किताब नै मेरो साथी थियो । अनि मदन पुरस्कार बिजेता रणहारका लेखक योगेश राज दाइसित मेरो घनिष्ठता बढ्यो । हामी सङ्गैका छिमेकी । उहाँले मेरो पढ्ने बानी र सोच्ने ढङ्ग नै बदलिदिनुभयो । पछि किताब छानेर पढ्न थालेँ । म दुई दिनमा एक उपन्यास पढिसक्काउँथेँ । अहिले म निकै स्लो रिडर बनेको छु । किताबको कभर, बजार वा मसीको रङ र ब्राण्ड हेरेर पढ्दिन । पत्रिकामा र बजारमा चलाइएका इन्जीनियर्ड पप्युलारिटीमा कम से कम झुकिन्न । मेरो १९ वर्ष लामो रेडियो यात्रामा हजारौँ कविता र सयौँ किताब पढेँ । किताब लेख्ने र कविता वाचन गर्नेलाई प्रेम गरेँ । मेरो ब्यागमा र सिरानीमनि कुनै न कुनै किताब हुन्छ । दराजमा भएका अनेकौँ पुस्तकले दिनदिनै सोधिरहन्छ- “मेरो पालो कहिले आउँछ ?!”
कोर्सबूकलाई मैले कहिल्यै प्राथमिकतामा राखिन । तर, त्यही कोर्सबूकले मेरो जिन्दगी बाँच्ने आधार बनिरहेको छ । कोर्सबाहिरका किताब त मेरो सहयात्री हो । तर, तिनले मलाई कहिल्यै चिनेन । गनेन । आफ्नो भनेन । यद्यपि, मेरो एकतर्फी प्रेम छ किताबसित ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
यही प्रश्न मैले सुप्रशिद्ध कथाकार मनुब्राजाकीसित एक अन्तर्वार्तामा सोधेको थिएँ। मैले सोधेका प्रश्नमध्ये सर्वाधिक सुन्दर र काव्यिक उत्तरमध्ये एक थियो त्यो । उहाँले भन्नुभएको थियो, “समय त मैले मर्नका लागि पनि छुटाएको छैन आशुतोष बाबू ।”

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
धेरैले बहाकाउँछ । थोरैले डोर्‍याउँछ । केहीले यथास्थितिमा राक्छ । केहीले क्रान्तिबोध गराइदिन्छ । धेरैले जिन्दगीलाई बोझ बनाइदिन्छ । थोरैले जिन्दगीको अर्थ, बाँच्नुको कारण जन्मनुको उद्देश्य बताइदिन्छ । लेख्नेले आफ्नै लागि लेखे पनि- मेरो लागि लेखिदिएजस्तो र म गुज्रेको समय, पीडा या मैले गरेको आनन्द या खुशीको अनुभूति किताबमा पाउँदा आँसु थामिँदैन र छाती भक्कानिन्छ । ती लेखक मेरो प्रिय बन्छ ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
मैले शुरु मै भनेँ- कथा, उपन्यास, इतिहास । अनि गैह्रआख्यान । २०६० पछि खासै निबन्ध, व्यङ्ग्य आदिको नयाँ शिल्प र शिल्पीको जन्म भएनन् । बजारमुखी र पुरस्कारमुखी ।
प्रगतिचेत र विज्ञानमा आधारित पहिचान, संस्कृति र सामाजिकका साथै मानवीयताको पक्षमा लेखिएका प्रेम, पर्यावरण र शान्तिको पुस्तक मेरो प्राथमिकतामा पर्छन् ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
त्यस्ता किताब थोरै हुन्छन् । प्राय: किताब खोदा पहाड निकला चुहा टाइपका हुँदा रहेछन् । तर, पढ्दै र छान्दै विद्वान पाठकसित सङ्गत गर्दै उहाँहरूको सिफारिसमा पढ्दै जाँदा जीवनलाई रूपान्तरण र सोचको सीमा नै भत्काइदिने पाएको छु । वादको घोषणापत्रलाई अतिरञ्जित गरिएका दलीय किताब त रद्दीको टोकरीमा हालेको छु । सङ्ग्रहका लागि किनेका सयौँ किताब साथी र अग्रजले लगेर पच गरिदिएका छन् ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल?
कागजी किताब !

८. नियमितरूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
मैले माथि नै निवेदन गरिसकेँ कि म अहिले निकै स्लो रिडर बनेको छु । नियमितता टुट्नुको प्रमुख कारण रोजगार र सञ्चारकर्म हो । नियमित किताब पढ्न म बिहान सबेरै उठ्छु र एकदेखि दुई घन्टा पढ्छु । आफूलाई टिप्पणी लेख्न र टिप्पणी गरिदिन अनुरोध आएको छ भने सरसरती पढ्दै टिपोट गर्दै पढ्छु ।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
समय व्यवस्थापन पहिलो चुनौती हो । दोस्रो पढ्नभन्दा किन्न चुनौती किताबको मूल्यका कारण भोगेको छु । त्यसपछि अत्यधिक बजारिया हल्ला । अनि चस्माको पावरका कारण ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
सबैभन्दा सुन्दर प्रश्न । पढेका पुस्तकमाथि विमर्शले आफ्नो ज्ञानको दायरा भत्काइदिन्छ । आफ्नै बुझाइ र दृष्टिकोणमाथि पनि अर्को दृष्टिकोण थपिन्छ । लेखकले भन्दा पाठकले फरक कोण र धरातलबाट बुझेका हुन्छन् । पाठकका रूपमा बुझेका पाठ र ज्ञान अन्तिम होइनन् भन्ने स्पष्ट हुन्छ । तर, प्राय: लेखक र पाठकलाई आफ्नो विचार र ज्ञान ढुङ्गामा लेखिएको अक्षर हुँदोरहेछ । म स्पष्ट छु मेरो ज्ञान र बुझाइ नै अन्तिम होइन ।

११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
मेरो निवेदन ज्ञान बाँडौँ- विमर्श, वादविवाद, विचार विनिमय गरौँ । ज्वालामुखीझैँ शान्त र सुषुप्त भएर । चाकरी र चर्चाका लागि नपढौँ । आफूलाई ज्ञानी र पढन्ते साबित गर्न पुस्तक प्रदर्शन नगरौँ। पुस्तकमा होइन पाठमा ज्ञान हुन्छ । हुनुपर्छ । कसैलाई खुशी पार्न र नजिक हुन किताबको खोल सार्वजनिक नगरौँ। तर, सो पुस्तकका गुण, विशेषतासँगै सुधारका पक्षहरू लेखौँ । किनभने वैगुनलाई सच्चिने मौका दिनुपर्छ, होइन र ?

१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
यो मैले भनिरहनुपर्ने विषय त होइन । यद्यपि मेरो विचारमा किताब नै पढ्ने बानीले
-ध्यानलाई केन्द्रीकृत गर्ने क्षमताको विकास हुन्छ
-कल्पनाशीलता, सोचको आयाममा वृद्धि भइ सोच्ने क्षमता अभिवृद्धि हुन्छ
-भाषिक ज्ञान, शब्दभण्डार आदिमा सुधार आउँछ
-अभिव्यक्ति शैलीमा सुधार आउँछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button