हल्लामा पनि एकोहोरिएर पढ्न सक्छु

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा भानुभक्त आचार्य

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो ?
कक्षा १ देखि । म शिशु कक्षामा पढ्दा झापाको तत्कालीन डोरामारी निम्नमाध्यमिक विद्यालय (हाल उच्च मावि)ले मलाई निःशुल्क प्राप्त हुने किताब दिएन । यो २०३६ सालको कुरा हो । कारण म सानै छु भनेर । अर्को वर्ष म एक कक्षामा पढ्ने भएँ र मैले विद्यालयबाट किताब पाएँ । म किताब आफ्नो कक्षाको मात्रै होइन, दाजुदिदीका किताब पाए पनि पढेर सकाइदिन्थे ।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ ?
चाणक्य नीतिमा भनिएको छ– अल्पं हि जीवितं नृणां विद्या च बहुविस्तरा । तस्मादल्पस्य कालस्य सारं गृह्णीत पण्डित ॥ अर्थात् मानव जीवन छोटो छ । सिक्नु पर्ने कुरा अनन्त छन् । त्यसैले अरुका ज्ञान र गल्तीहरूबाट सिक । सबै कुराको अनुभव गर्न पुग्ने उमेर तिमीसँग छैन । म पनि अर्थशास्त्री एवम् नीतिज्ञ चाणक्यको यो विषयसँग सहमत छु । त्यसैले अरुका ज्ञान र त्रुटिहरूबाट सिक्ने, आफूसँग भएको समयलाई बचाएर आफ्नो उद्देश्य प्राप्तिमा केन्द्रित गर्ने कामका लागि किताब र पढाइले गहन भूमिका खेल्छ भन्ने ठान्दछु ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छरु बिहान, दिउँसो कि बेलुका ?
आफ्नो रुचिले र फूर्सद्ले किताब पढ्ने समय मसँग छैन । नियमित र भैपरि आउने कामले आफ्नो दैनिकीलाई व्यस्त बनाएको हुन्छ । तसर्थ, पढ्नै पर्ने किताब म पढ्छु, जस्तो विद्यार्थीलाई कोर्समा सिफारिस गरिएको पुस्तक, आफूलाई कुनै विषयमा लेख्नु वा बोल्नु पर्ने आवश्यकता अनुसार उपलब्ध रिसर्च सम्बन्धी पुस्तक । यस्तो पुस्तकका लागि कुनै खास समय भन्ने हुन्न । कुनै कुनै पुस्तक यात्राका क्रममा पनि पढिन्छ । मेरा लागि अलि एकान्त र कम हल्ला भएको स्थान उपयुक्त हुन्छ । तर पढ्नै पर्ने पुस्तक छ र त्यसका लागि पर्याप्त समय छैन भने त म हल्ला भएकै ठाउँमा पनि एकोहोरिएर पढ्न सक्छु ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
किताबले छुट्टै संसारमा लैजान्छ । मानिसहरूका भिन्न अनुभूति, तर्क र धारणाहरू हुन्छन् । आफू त्यसमा सहमत वा असहमत जे भए पनि यसले दिने ज्ञानको दायरा गज्जब हुन्छ । कुनै किताब पढ्दा लेखकले मभित्रकै अनुभूति कसरी लेख्न सक्यो होला भन्ने कौतुहल हुन्छ । कुनै किताब पढ्दा लेखकले पर्याप्त अनुभव र तयारी बिना नै हतारहतारमा लेखेजस्तो लाग्छ । कतिपय लेखकका तर्क बकबास लाग्छन् । कतिपय किताबले अझ रिस उठाउँछन् किनभने तिनले तर्कभन्दा कुतर्क बढी गर्छन् । तथ्यमा भन्दा षडयन्त्रवादी सिद्धान्तमा आधारित हुन्छन् । कतिपय पुस्तकमा लेखकले आफूलाई हिरो देखाउने, पाठकलाई मूर्ख ठान्ने वा पैसा कमाउने उद्देश्य मात्रै राखेको देख्छु । सबै पुस्तकले एउटै खालको अनुभूति दिँदैनन् । उदाहरणका लागि गीता पढ्दैछु भने जीवन दर्शन र कर्मको संयोजन पाउँछु, उपन्यास पढ्दैछु भने कल्पनाशीलताको बेजोड उडान भर्न पुग्छु । रिसर्चमा आधारित पुस्तकहरू छन् भने यथार्थको धरातलमा आइपुग्छु ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि ?
तर्कशास्त्र, धर्म, दर्शन आदि विषयका पुस्तकहरूले लामो समयसम्म मनमा तरंग उत्पन्न गर्छन् । उपन्यासहरू चलचित्र जस्तै क्षणिक हुन्छन् । पढिसकेपछि त्यसको प्रभाव पनि तुरुन्त कम हुँदैजान्छ । रिसर्चमा आधारित पुस्तक वा लेखहरू छन् भने तिनले उठाएका मुद्दा, समयानुकूलता वा सान्दर्भिकता आदिका आधारमा मनमा तर्क, विचार वा सोच जन्मिन्छ । कतिपय उपन्यासहरू कालजयी हुन्छन् । पारिजातको शिरिषको फूल त्यस्तै कालजयी पुस्तक हो, जसलाई मैले दोहो-याइ–तेहे-याई पढेको छु । मेरी शेलीले सन् १८१८ मा लेखेको अंग्रेजी उपन्यास ‘द फ्रान्केस्टाइन’ वा जर्ज अर्वेलको सन १९४९ मा प्रकाशित ‘१९८४’ उपन्यासहरू प्रविधिसँग सम्बन्धित भएकाले जहिल्यै पनि सान्दर्भिक भएजस्तो लाग्छन् । मन शान्त बनाउन त दर्शनशास्त्र र धर्मग्रन्थहरू बढी उपयोगी हुन्छन् । कुनै प्रभावकारी पुस्तकले मन शान्त बनाउँदैन, अझ शान्त मनमा तरंग उत्पन्न गराइदिन्छ । पैसा कमाउनकै लागि लेखिएका पुस्तक बाहेक अलि मिहिनेत गरिएका पुस्तक कुनै न कुनै हिसाबले प्रेरणादायी हुन्छन् ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ ?
माथि नै मैले चाणक्य नीतिको उद्धरण प्रस्तुत गरिसकें । जीवन छोटो छ । यो संसार अनन्त छ । इतिहास लाखौं वर्ष पुरानो छ । भविष्य अनन्त छ । हामीले यो संसारको अनुभव गर्न पाएको नै अरुले लेखिदिएका किताब वा दस्तावेजहरूले हो, जहाँ उनीहरूका आफ्ना अनुभव र जीवनदर्शन समेटिएका छन् । पुस्तक पढ्नाले म आवश्यक सूचनामा आफूलाई अध्यावधिक भएको पाउँछु । किताब पढेकै आधारमा मैले मेरा दृष्टिकोणहरूलाई समय सापेक्ष, सूचनामूलक र तार्किक बनाउन सक्छु । किताब पढिएन भने कुहिरोको काग जस्तै होइन्छ, कसैको पिछलग्गु वा दृष्टिकोणबिहीन ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल ? किन ?
अचेल इ–पुस्तकहरूको जमाना छ । कागजकै किताब पढ्छु भनेर पनि पाइन्न किनभने अचेल धेरैजसो किताबहरू विद्युतीय संस्करण मात्रै पनि प्रकाशन हुन्छन् । पुस्तकहरू पनि महँगिदै गएका छन् । कमाइ सिमित हुन्छ । कतिपय पुस्तकहरू अन्तर्राष्ट्रिय बजारबाट आउन निकै समय लाग्छ । यी विविध कारणले छापिएका पुस्तक र नछापिएका विद्युतीय पुस्तक दुवैमा अभ्यस्त हुनुपरेको छ । तर भर्खरै छापिएको पुस्तक अनि त्यसको सुगन्ध, आफूलाई मन परेको प्रसंगमा कोरिएका वा रंगीविरंगी हरफहरूको न्यानोपन विद्युतीय पुस्तकमा पाइँदैन ।

८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ ?
म नियमित रूपमा किताब पढ्दिन । आवश्यकताको आधारमा पढ्छु । अचेल कुनै कुरा जान्नका लागि पुरै पुस्तक पढ्नुपर्छ भन्ने छैन । त्यसको निश्चित अंश पढेपनि पुग्छ । मनोरञ्जनका लागि नियमित उपन्यास पढ्नु छुट्टै कुरा हो । तर, मेरो अनुभवमा ज्ञानका लागि, पेसागत दक्षताका लागि वा बौद्धिक विमर्शका लागि पुस्तक पढ्ने कुरा नियमित हुँदैन ।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो ?
धैर्य वा एकाग्रता । अचेल हामीलाई धेरै कुराले हस्तक्षेप गर्छन् र पढाइमा एकाग्र हुन दिँदैनन् । मोबाइल फोन बज्नु, म्यासेन्जरमा म्यासेज वा कल आउनु, इमेल नोटिफिकेसन्, अरु कामको चटारो, सामाजिक सञ्जालमा देखिने नयाँ सूचनाले मनलाई स्थिर र एकचित्त हुन दिँदैनन् । यो मेरो मात्रै समस्या होइन । यो हाम्रो समयको समस्या हो । हामी अनेक कुराले बिकर्षित हुन्छौं ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ ?
मेरो धेरैजसो पढाइ आफ्नो आनन्द वा मनोविनोदका लागि होइन । पेसागत क्षमता अभिवृद्धि गर्न, आफ्ना विद्यार्थीहरूलाई सिकाउन वा कुनै विद्वत समारोहमा प्रवचन गर्नका लागि म पढिरहेको हुन्छु । त्यसकारण कुनै पुस्तक पढेर वा अन्य उपायले नयाँ जानकारी थाहा पाउने बित्तिकै म त्यसलाई साथीहरूमाझ विनिमय गर्न उपयुक्त मौकाको खोजीमा रहन्छु ।

११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो ?
मसँग त्यस्तो कुनै सुत्र छैन । तर तपाइँ आफ्नो आनन्दका लागि पढ्ने हो भने त्यसको आफ्नै रुचि हुन्छ । म प्रायः पेसागत दक्षता अभिवृद्धिका लागि पढ्ने भएकाले विभिन्न सरोकारवाला समूहको दबाबले गर्दा नपढ्न खोजेका, खासै जाँगर नलागेका वा ठूलाठूला पट्यारलाग्दा पुस्तक पनि पढ्नै पर्छ । तपाइँ आफ्नो उद्देश्यमा स्पष्ट हुनुभयो भने किताब पढ्न कुनै गाह्रो कुरा होइन । तर अरुको लहैलहैमा लागेर अनावश्यक किताब किन्ने, चाडबाडमा पनि मेरा यति किताब छन् यो दशैं वा तिहारमा भनेर सामाजिक सञ्जालमा प्रदर्शन गर्ने, वा कुनै धेरै किनिएको वा भाइरल पाराको पुस्तक पढिहालौं भनेर म त्यसका लागि खासै जाँगर गर्दिन । म आफ्नो उद्देश्य र रुचि अनुसारका पुस्तक पढ्छु । तर त्यसलाई अनावश्यक रुपले प्रचार गर्दिन ।

१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ ?
किताब पढ्नु जहिल्यै पनि महत्वपूर्ण छ । कारण माथि नै चाणक्य नीतिको उद्धरणले स्पष्ट गरेकै छ । ताडपत्रमा लेखिएका पुस्तक हुन वा छापिएका पुस्तक हुन् वा विद्युतीय पुस्तक हुन्, विषयवस्तुको गहिराइ र सान्दर्भिकता हेरी पुस्तक पढ्नुपर्छ । नयाँ पुराना दुवै खालका पुस्तक महत्वपूर्ण छन् । कुनै सामाजिक सञ्जालमा भाइरल भएको एक टुक्रा टुहुरो सूचनाको पछि लाग्नुभन्दा पुस्तक पढ्नु, विषयवस्तुलाई गहन र मिहीन ढंगले बुझ्नु निकै महत्वपूर्ण छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button