
‘चतुरेको तपस्या सफल भयो’

लघुकथा: के चाहियो?
धनराज गिरी
प्रोफेसर “सर्वज्ञराज सहस्रबुद्धि विवेकोपाध्याय परमानन्द सरस्वतीनन्दनको” निकेतन, प्रेमालय, रूपमहलमा एक पात्र हरेक दिन आउनथाल्यो । कहिले उसको, प्रोफेसरको, कहिले उसको सन्तानको तारीफ गर्यो । तारीफ तारीफ तारीफ! लगातार सात दिन। “काम छैन यो मान्छेको?” प्रोफेसरकी प्यारी, लुगाई, बेगम, सायमा नूर गौरीदेवी सौभाग्यश्री,कान्छी । “केही दिन पख!रमाइलै भएको छ। तारीफ सुन्दा मज्जा आउने,बाहिर बाहिर। अभिनय त हो।” प्रोफेसर ।
आज, तेह्रौं दिन! “आज यसको नाममा खटिया दान गर्छु मरासिनी पण्डित सर्वमान्यनन्दन गुण्डुप्रसाद बेरियालाई!” प्रोफेसर, मनमनै । आयो ऊ,ऊ, चतुरकान्त चतुरनाथ चतुरवेदी चारतारे, चौतारा,पहाड घर, अति फटाहा,जगजाहेर । आज तारीफ गरेन,आज प्रोफेसरको परिवारलाई दुःख दिने मगधनरेशको कलियुगे अवतारको निन्दा गर्यो, ४३ आरोप लगायो। मज्जाले धज्जी उडायो।
“के चाहियो? तिम्रो अभीष्ट के हो? किन यत्रो उद्योग? म केही पनि नबुझ्ने शिशु हुँ? काका, डबल एम ए प्रोफेसर जगमोहन आजाद सुमेधाश्रीको “म शागिर्द, जोर तीब्र बौद्धिक ” दयालु र मायालु” झुवानीश्रीको म उस्ताद,म केही पनि बुझ्दिन? भन,के चाहियो? के चाहियो? किन नबोलेको? अब आइन्दा मेरो निकेतनमा ध्वनि प्रदुषण वर्जित, न तारीफ, न आलोचना ! यी जोर पथ नै शकुनिको राज्यतिर जाने कुमार्ग हो,म सुमार्गीहरूको पनि दाजु, निर्मल विमल कञ्चन व्यवहारको अपेक्षा । भन,के चाहियो?” प्रोफेसर, अलि तातेर।
“हजुर, मेरो छोरोले एम फील गर्यो,क्याम्पसप्रमुख हजुरको बसीमायाँ, आफ्नै भाञ्जा, एक जना गजलकारले भन्यो, हजुरको बोली बिक्छ, त्यही भएर। एउटा छोरो,परान, विदेश पठाउन पनि मन छैन। अरू कुरा केही होइन सरजी! हजुर दयालु कृपालु आशुतोष भन्ने सुनेर!” चतुरे,आँखा रसिला।
“विषय के हो?” प्रोफेसर ।
“अङ्ग्रेजी !” ऊ।
“भोलि क्याम्पस लिएर आउनू!” प्रोफेसर ।
चतुरेको तपस्या सफल भयो।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



