
किताब मेरो दैनिकीको ‘ब्रेक’ होइन, ‘निरन्तरता’ हो

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा लेखक केशव दाहाल ।
तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो ?
हाम्रो घरमा महाभारत, रामायण, वेद, गिता आदीका राम्रै संग्रह थिए । त्यसैले सानैछँदा मैले स्कुलका किताबसँगै बाह्य किताबसँग पनि सँगसँगै संगत गरे । बाल्यकालमा शब्दभन्दा पहिले कथाहरु भेटिए, किशोरावस्थामा कथाभित्र प्रश्न भेटिए र युवावस्थामा किताबहरू । मलाई लाग्छ, मैले प्रारम्भमा किताब पढ्न सुरु गरेको होइन, किताबसँग संगत गरेको हुँ र त्यसपछि मात्र पढ्न थालेको हुँ ।
किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ ?
किताब मेरो दैनिकीको “ब्रेक” होइन, “निरन्तरता” हो । काम, लेखन, अनपेक्षित व्यस्तता, समाज र सम्बन्धका उल्झनहरुले थाकेको मनलाई किताबले पुनः ताजा बनाइदिन्छ । किताबले कहिले बिहानको चिया जस्तै ताजगी दिन्छ, कहिले रातको मौनता जस्तै शान्ती ।
तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ- बिहान, दिउँसो कि बेलुका ?
म प्रायः पढ्नलाई रात मन पराउँछु । जब बाहिरको संसार थाकेर चुप लाग्छ, किताब बोल्न थाल्छन् । रातमा किताब पढ्दा मेरालागि शब्दहरू केवल अक्षर हुँदैनन्, अनुभूति बन्छन् । यद्यपि कहिलेकाहीँ बिहानको उज्यालोमा पढिएको एउटा अनुच्छेदले दिनभर साथ दिन्छ ।
किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
किताब पढ्नु भनेको आफूभित्रका धेरै “म” हरूसँग संवाद गर्नु हो । कहिले पात्रसँग रिस उठ्छ, कहिले आफैँसँग । कहिले आँखा रसाउँछन्, कहिले थाहै नपाई ओठमा मुस्कान आउँछन् । किताबले मलाई एकैचोटि असहज र स्वतन्त्र दुवै बनाउँछ ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ ?
मलाई सोच जगाउने, प्रश्न खडा गर्ने र सजिलै उत्तर नदिने किताबहरू मन पर्छन् । साहित्य, दर्शन, राजनीति र समाजसँग संवाद गर्ने कृतिहरूले मलाई तान्छन् । रमाइलो भन्दा पनि अर्थपूर्ण, शान्त बनाउने भन्दा पनि बेचैन बनाउने किताबतर्फ म बढी आकर्षित हुन्छु ।
किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ ?
किताबले मलाई निष्कर्षभन्दा प्रक्रियामा विश्वास गर्न सिकाएको छ । सही–गलतभन्दा अघि “किन?” भनेर सोध्न सिकाएको छ । जीवनलाई एकरेखीय होइन, बहुअर्थी रूपमा हेर्ने दृष्टि दिएको छ । आज म धेरै कुरा जान्न्दिन भन्नसक्ने भएको छु- र यो नै मेरा लागि किताबको सबैभन्दा ठूलो देन हो ।
तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल ? किन ?
म अझै पनि कागजी किताबको पक्षमा छु । कागजको गन्ध, पानाको आवाज र किनारामा बनाइने साना नोटहरूले पढाइलाई स्मृतिमा बदलिदिन्छ । डिजिटल सुविधाजनक छ, तर कागजी किताब आत्मीय लाग्छ ।
नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ ?
म पढाइलाई “लक्ष्य” बनाउँदिन । दिनमा दस पृष्ठ भए पनि, एक अनुच्छेद भए पनि पढ्छु अथवा नपढ्न पनि सक्छु । पढ्नु बाध्यता होइन, किताबसँगको मित्रता बनाउने प्रयास गर्छु ।
किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो ?
सबैभन्दा ठूलो चुनौती समय होइन, चित्तको विखण्डन हो । डिजिटल आवाज, छिटो प्रतिक्रिया दिने बानी र सतही ध्यानले गहिरो पढाइलाई कठिन बनाइरहेको छ । तर यही चुनौतीले किताबलाई अ्झ जरुरी बनाउँछ ।
तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ ?
अवश्य नै प्रेरित गर्छ । म किताबले दिएको सिकाई र अनुभव आफैभित्र सिमित गर्न चाहान्छ । त्यसैले त्यो कहिले बहसमा निश्कन्छ, कहिले सहमति, कहिले असहमतिका रुपमा सार्वजनीक जीवनमा प्रकट हुन्छ । तर संवाद अनिवार्य बन्छ । किताब एक्लै पढिन्छ, तर त्यसले सामूहिकतामा बाँच्न प्रेरित गर्छ ।
किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो ?
संसारमा पढ्नलाई लाखौ करोडौ किताब छन् । ति मध्ये, जो तपाईलाईसँग उपलब्ध छ र जे पढ्न मनपर्छ, त्यहीबाट पढ्न सुरु गर्नुहोस् । किताबलाई कठिन परीक्षा नबनाउनुस् । पढाइ भनेको आफूलाई भेट्ने यात्रा हो, दौड होइन ।
आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ ?
किनभने किताब मात्र यस्तो माध्यम हो जसले हामीलाई सोच्न प्रेरित गर्छ । स्क्रोलले सूचना दिन्छ, किताबले अर्थ दिन्छ । डिजिटल संसारले हामीलाई जोड्छ, किताबले हामीलाई गहिरो र आत्मिय बनाउछ । आजको भीडभाडमा हामी मेसिनबाट मान्छे बन्न चाहान्छौ भने, किताब पढ्नु अपरिहार्य छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



