
किताबकै कारण मलाई दु:ख र पीरहरुले जिस्काउन सक्दैनन्

तीन दशकदेखि कथा र कविताको क्षेत्रमा सक्रिय मणि लोहनी पेशाले टेलिभिजन पत्रकार हुन् । वि.स. २०३२ साल भदौ २१ गते काठमाण्डौं उत्तरपूर्वी जिल्ला नुवाकोटमा जन्मिएका मणिले पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यहरुमाथि कथा कविता लेखिरहेका छन् । प्रेम, जीवन र मानिसका सम्वन्धहरुमा कलम चलाउने उनले सरल शब्दका माध्यमबाट जीवनका गहिरा दर्शनहरुलाई व्यक्त गर्छन् । समकालीन नेपाली कवितामा छुटाउनै नहुने नाम मणि लोहनीका कथा र कविताका गरि सात कृति प्रकाशित छन् । कवि मणि लोहनी युवावर्ष मोति पुरस्कार, सतिशचन्द्र अतुल स्मृति युवा सम्मान, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, बनिताश्री व्यथित काव्य पुरस्कार, संसाक कथा पुरस्कार, जनमत जनक प्रधान सेवा सम्मान, व्यथित काव्य सम्मानबाट सम्मानित भइसकेका छन् । मणिका कथा, कविता अंग्रेजी, जापानीज, कोरियन, हिन्दी, रसियन, फ्रेन्च, चाइनिज् भाषामा अनुवाद छन् । विद्यालयस्तरमा उनका कथा र कविता पढाइ हुन्छ । नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा लेखक लोहनी ।
तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
२०४३/४४ सालतिर हुनुपर्छ । घरमा मधुपर्क र गरिमा नियमित आउँथ्यो । त्यसताका म विद्यालयमा पढ्थेँ । मैले त्यसबेला रमेश विकलको विक्रम र नौलो ग्रह र तारिणिप्रसाद कोइरालाको सर्पदंश पढेको थिएँ । त्यसपछि मलाई कोर्सबाहिका किताव पढ्ने बानी नै बस्यो । मेरो घरमा बुबा, आमा र दाइहरु सबै धार्मिक र साहित्यिक कितावहरु पढ्ने गर्नुहुन्थ्यो, त्यहीभएर सानैदेखि किताव किन्ने बातावरण बन्यो ।
किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
कितावले बुझाइलाई फराकिलो बनाउने मेरो अनुभव छ । अध्ययनले दैनिकी बोझिल हुन दिदैन । यसैपनि म संवेदनशील छु – दोस्रो पक्षबाट सोच्न र बुझ्न सजिलो बनाएको छ ।
तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
मन परेको किताव पढ्न त निश्चित समय कुर्ने गर्दिन । तर अक्सर रातको खाना खाइसकेपछि बेडमा जानुअघि किताव पढ्ने गर्छु । त्यसबेला दिनभरिको समाचारको भागदौडबाट मुक्त भएर परिवारसँग रमाइलो वातावरण बनिसकेको हुन्छ । रातमा किताव पढ्दा पात्रसँगै डुबुल्की लगाउन सहज हुने गरेको छु ।
किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
मनपरेको किताव पढ्दा म प्राय: आल्लादित हुने गरेको छु । भाषा र विषयबस्तुले तान्दै लग्यो भने त म कितावको भावभूमीमा हराउँछु । कतिकति बेला त पात्रहरुसँगै म अघि बढिरहेको हुन्छु ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
तपाईँले दिएका अप्सन बाहेक भन्न पाइ कि नपाइ ? म एकताका आख्यानबाट प्रभावित थिएँ । कुनै समय कविताका देशी विदेशी किताव खोजी खोजी पढेँ । पछिल्लो समय दर्शनसम्बन्धी कितावहरु ज्यादा पढिरहेछु । तर उपन्यास, कथा, कविता र निवन्धका राम्रा किताव पढ्न छुटाउँदिन ।
किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
सुरुमै भनेँ नि, मेरो सोच्ने र बुझ्ने तरिका बदलिएको छ । मानिस र समाजलाई हेर्ने दृष्टिकोण बदलिएको छ । आफ्नो अज्ञानतालाई चिन्ने सामर्थ्य विकास भएको छ । सवभन्दा ठूलो कुरा जीवनलाई सहज रुपमा लिन सक्ने शक्ति मभित्र जगाएको छ । किताबकै कारण मलाई दु:ख र पीरहरुले जिस्काउन सक्दैनन् ।
तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
मलाई त कागजी किताब नै मन पर्छ । पाना पल्टाउँदै किताव पढ्नु/ मन परेका लाइनमा चिन्ह लगाउनु/ पाना पल्टाएर राख्नु बेग्लै आनन्द लाग्छ । डिजिटल कितावमा म त्यति रमाउँदिन । त्यसो त केही विदेशी जर्नलहरु मैले डिजिटल्ली नै पढेको छु ।
नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
किताव त बानी बनिसक्यो । कुनै विधि अपनाउनु नै परेन ।
किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
पछिल्लो समय त मोबाइलमा आउने नोटिफिकेशनले पढ्ने बेलामा अवरोध पुर्याउन खोज्छ । खासमा कुनै कुनै किताव निकै महंगो हुन्छ, कति त पाइदै पाइदैन बल्ल बल्ल मगाउनु पर्छ । यी चिजहरु ठुलै चुनौती हो नि । हैन र ?
तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
गर्छ नि । मलाई कुनै किताब मन पर्यो भने म अरुलाई पनि सिफारिस गर्छु । कहिले काँही त फेसबुकमै लेखेर सबैलाई पढ्न अपील पनि गर्छु ।
किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
आफुलाई मन परेका किताव अनुकुल समयमा पढ्न थाल्नुस् । यसलाई मनसँग जोड्नुस् । पढ्नै पर्छ भनेर होइन मन लागेर पढ्न लागेपछि पढ्नुस् । किताव पढ्दै गएपछि विविधता र विशिष्टता आफै विकसित हुन्छ । किताव छान्ने र पढ्ने क्रम आफै तिब्र हुन्छ ।
आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ ?
किताबले जीवनलाई हेर्ने र बुझ्ने तरिका सहज बनाइदिन्छ । आम मानिस र समाजप्रति सकारात्मक बनाउँछ । सबभन्दा ठूलो कुरा कितावले स्क्रिन टाइम घटाउन सहयोग पुर्याउँछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



