
मुनामदनः मुनाहरू र मदनहरू

रामेश्वरी पन्त
कवि ज्यू !
बूढो भैसक्यो तिम्रो मुनामदन
तर उस्तै छ क्रेज अझै पनि
उस्तै छ देश अझै पनि
उकासिन सकेका छैनन्
ऋणले थिचिएका घरहरू
विदेशिन छोडेका छैनन् मदनहरू
ठाउँ मात्र फरक भएको छ
लाखौं मदनहरू अचेल
तिम्रो ‘भोट’ होइन
अरबका खाडीमा
प्रचण्ड गर्मीसँग पौंठेजोरी खेल्दै
पसीना बगाइरहेछन्
मुनाहरूको लागि
आमाहरूको लागि
तर पनि सबै मदनहरूले
सपना पूरा गर्न सकेका छैनन्
अरबतिर पाइँदैनन् रे
‘दयालु भोटेदाइहरू’
र दलालहरूबाट ठगिंदै
कैयौं मदनहरू
खालिहात फर्किन्छन्
या त जेलमा कोचिन्छन्
अनि, कति मदनहरू
काठको बाकसमा बन्द भएर फर्किन्छन्
फर्केका केही मदनहरूले
‘सुनको बाला’ मात्र होइन मुनाहरूको लागि
डरलाग्दा रोगहरू पनि
ल्याइदिने गर्छन् ।
‘हैजा’को त के कुरा गर्नु
देशभित्रै फैलिने गर्छ पटक पटक
भोका पेटहरूमा
र
सोत्तर पारिदिन्छ कैयौंलाई
कवि ज्यू !
देश उस्तै छ
र पनि मैले भन्नै पर्छ
मुनाहरू पनि बदलिएका छन्
र अचेल मुनाहरूले
कौशीमा बसेर चन्द्रमा हेर्न छोडिसके
उनीहरू पनि
सपनाकै खेति गर्न
खाडीतिरै भासिन थालेका छन्
त्यसैले अचेल
घरको जुठेल्नु बिरान भएको छ
विदेशमा सपना फुलाउन खोज्दा
घरका आँगनहरूमा सिस्नु उम्रिरहेको छ
केही नदेखेर हो वा
केही नभएरै हो
हरेक साल विदेशिइरहेछन्
मुनाहरू
मदनहरू
सुनसान छन् गाउँवस्तीहरू
मक्किएको शरीर बोकेर
हरेक घरमा
दुईजोडी आँखाहरू
पिंढीको डिल कुरिरहेछन्
मदनहरू फर्किने आशामा
मुनाहरू फर्किने आशामा
कति जाति हुन्थ्यो
त्यो पसीना
त्यो श्रम
आफ्नै पाखोबारीमा खर्चेदेखिन्
सुन फल्न सक्थ्यो आफ्नै देशमा
खुशी फुल्न सक्थ्यो घर घरमा
तर खै !
न त मदनहरूले बुझ्न सक्छन् यो कुरा
न त मुनाहरूले नै बुझ्छन्
खै कसरी बयान गरूँ कवि ज्यू !
उस्तै छ देश
उहिले र अहिले
मदनहरू गई नै रहेकाछन्
तिम्रो मदन भोट गएथ्यो
हाम्रा मदनहरू अरब जान्छन्
फरक यत्ति छ–
तिम्री मुना आफ्नै घरमा मरेकी थिई
हाम्रा मुनाहरू विदेशमा मर्दैछन् ।
(हालसालै प्रकाशित पन्तकृत कवितासंग्रह ‘समयको कठघराबाट एक स्त्रीको बयान’बाट)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Contextual and beautiful.