एक गिलास रक्सी छिटो हाल् भन्या
कथा: भ्रंसी
रेशमबहादुर पॅाडे
नुवाकोट, बिदुर नपा-१०, गेर्खुटार
म प्रायस:महिनाको दुइ-तीनपटक यही राजमार्गको बाटो भएर जोडिएको अर्को जिल्लाको सदरमुकाममा जाने गर्दथें। मेरो घरबाट सदरमुकामको दूरी करिब एक घण्टा जतिको हॅकाइमा पुगिन्थ्यो।चिनेजानेका साथिभाई भेटिएमा बाहेक बाटोमा कतै पनि नरोकिइ सिधै सदरमुकामको बजारमा पुगी काम सकाइ लगत्तै घरमा नै फर्कने मेरो दिनचर्या थियो। एकदिन बिच बाटोमा नै मेरो मोटरसाइकल बिग्रेर त्याहा नजिकै रहेको ग्यारेजमा मोटरसाइकल बनाउन दिंए र मिस्त्रीले एकघण्टापछि आउनु भनेकोले म कतै बसेर समय बिताउने बिचारमा थिंए। नजिकै एउटा दुइतले सिमेण्टेड घरमा चिया पसल देखेर त्यही बसेर चिया खॅादै समय बिताउने बिचारले म त्यस होटेलमा पसें।
म यो बाटो प्रायस: हिडिरहने भएकोले त्यो घर त मैले देखेको थिंए, तर होटेल नै रहेको कुरा याद गरेको थिइन। होटेलभित्र पसिसकेपछि त्यो होटेल मध्यम खालको रेष्टुरा भएको मैले अनुमान गरें। बिहानीको समय घर्किसकेकोले त्यस रेष्टुरामा दुइजनामात्र ग्राहक रहेको देखें र म तेस्रो ग्राहकको रुपमा गएर भित्र रहेको मेचमा बसें। मैले याहा चिया खाएर मेरो मोटरसाइकल नबनुन्ज्याल एक घण्टा बिताउनु पर्थ्यो। रेष्टुरॅामा रहेका दुइ ग्राहक मध्य एकजना ग्राहक स्टिलको गिलासमा रहेको पेय पदार्थ पिउॅदै थियो भने अर्को टिकाधारी ग्राहक कॅाचको गिलासमा रहेको चिया सुरुप-सुरुप गर्दै बिस्तारै पिउॅदै थियो।
मैले अनुमान गरे अनुसार टिकाधारी ग्राहक पनि म जस्तै फुर्सदिलो थिए भन्ने कुरा उनको चिया पियाइको तरिकाबाट अनुमान गर्न सकिन्थ्यो। र उनी कुनै स्थानीय भएकोले निर्धक्क भएर भित्री कोठाको भान्छामा रहेको कुनै ब्यक्तीसॅग कुराकानी गर्दै चियाको चुस्की लगाउॅदै थिए। भान्छाभित्रको ब्यक्ती कहिलेकही भान्छाको सानो झ्यालबाट टाउको निकाल्दै भित्र खानेकुराहरु पकाउॅदै थियो र ग्राहकको खानोकुराको अर्डर पनि त्यहीबाट नै लिइरहेको देखिन्थ्यो।
ए रुद्रे…एक गिलास थप त मलाई…!स्टिलको गिलासलाई बिस्तारै टेबलमा ठोक्दै अर्को टेबलमा रहेको लामो जॅुघा र च्यॅासे काया भएको ग्राहकले आदेशात्मक शैलीमा हकाऱ्यो। मैले अर्डर गरेको चिया लिएर भान्साको ब्यक्ती म काहा आएर मेरो टेबुलमा चिया राखेर नबोली गयो। उसले जॅुघे च्यासेप्रति उपेक्षा गर्दै फेरी भान्छाको आफ्नो काममा ब्यस्त भयो। भान्छेको ब्यबहार देखेर हो वा अन्य कुनै प्रयोजनले हो टिकाधारी ब्यक्ती म प्रति हेर्दै मुस्कुरायो। उनी मसॅग कुरा गर्ने उपाय खोजिरहेका जस्तो उनको भंगिमाबाट मैले लख काटें। उनले मैले केही बोल्नु अगाडी नै प्रश्नबाचक शैलीमा उद्गार ब्यक्त गरे “मैले हजूरलाई त ….!” मैले उनको आशय बुझें र उनको जिज्ञासा मेटाउन भने “हो दाई …म नेपालगञ्जको मान्छे हॅु…सदरमुकाम गुलेरियातिर आउने काम परिरहन्छ…आज यता आउॅदा -आउॅदै बाटोमा नै मोटरसाइकल बिग्रियो..यसो चिया पनि खाउॅ ,समय पनि बिताउॅ भनेर यता पसेको..! मैले आफ्नो यथार्थता बतांए।
नजिकै टेबुलमा रहेको जुंघे च्यासे ब्यक्तीले ठुलो श्वर गरेर थप एक गिलास रक्सीको माग गर्दै गिलास टेबुलमा बजाऱ्यो। भित्र भान्छाबाट कुनै प्रतिकृया पनि आएन र त्यो ग्राहकले माग गरेको बस्तु पनि ल्याइएन। ती नव मित्र मेरो नेपालगञ्जको बिषयमा जानकार रहेछन र भलाकुसारी पछि उनले मेरो ठाउॅ र मेरो बारेमा जानकारी पाए। हामी बिच बिभिन्न बिषयमा बिमर्श हुन थाल्यो र हामी हाम्रै गफमा पूर्ब परिचित मित्र जस्तै भएर निमग्न भयौं। हामी एक अर्कामा मित्रबत रुपमा नै बात मार्दै थियौं एक्कासी अर्को टेबुलको जुंघे आक्रोसीत रुपमा गर्जन गर्दै बोले पछि हाम्रो गफ उसको भावभंगिमातर्फ आकर्शित भयो।
ए रुद्रे ! मैले भनेको सुनिनस्… मलाई एक गिलास रक्सी छिटो हाल्…छिटो भन्या…! उसले हाम्रो उपस्थिती र बातचितलाई पुरै बेवास्ता गरेको थियो र कहिले टेबुलमा झुल्थ्यो भने धेरै जस्तो उसको दृष्टी भान्छातर्फ नै सोझिएको देखिन्थ्यो। होटलवालाले भित्रबाट एउटा स्टिलको गिलासमा रक्सी ल्याएर उसको अनुहारमा नहेरी उपेक्षित भावले खाली गिलासमा रक्सी खन्याइदियो। त्यो ब्यक्तीले झम्टिए जस्तो गरी गिलास समातेर रक्सी मुखमा लगाएर घुटुक्क निल्यो। मैले देखे-उसको मुहारमा सन्तुष्टीको आभा प्रष्फुटित भएको थियो। होटेलवालाले त्यो जुंघेतर्फ हेर्दै याचनामयी मुद्रामा भन्यो ”राजा आज हजूरलाई रक्सी धेरै भयो…घरमा भुजा खान सवारी होस …मैयासा’ब पर्खिस्या’छ” भन्दै उ भान्छाको काममा नै ब्यस्त भयो। त्यो ब्यक्ती होटेलवालातर्फ राता ॲाखाले हेर्दै हॅुकार गर्दै रह्यो र आफ्नै पिउने कृयामा लाग्यो।मसॅगै बार्तामा रहेको टिकाधारी ब्यक्तीले उ तर्फ मुखातिब हॅुदै, नाक सिकुडाउॅदै मलाई उसॅग नबोल्न इशारा गरे। हामी दुबै जना उसलाई वास्ता नगरी आ-आफ्नै कुरा गराइमा नै ब्यस्त भयौं। उनको भनाइ अनुसार उनको कुनै आफन्तले त्यसै होटेलमा भेट्ने समय दिएकोले पर्खेर बस्नु परेको कुरा गरे। हजुरको मोटरसाइकल बिग्रेको र म पनि आफन्त भेट्नु परेकोले एक आपसमा परिचय हुन पाएको भनेर उनले खुसी ब्यक्त गरे। हामी कुरा गर्दै रहेको बेला पल्लो टेबुलमा रहेको जुंघे ब्यक्ती गिलास टेबुलमा राखेर झुल्दै एकातर्फ ढल्कियो। होटेलवालाले त्यो दृष्य देखेर हतारिंदै आएर उठाइदिंदै दिक्दारी ब्यक्त गर्दै भन्यो ”मैले अघि नै भन्या हैन…राजा मैले अघि नै आज हजूरलाई बढी भयो,नथपिबक्स्योस भन्या’थें..सधैं यस्तै हुन्छ,कति सहनु…! उसले लाचार ब्यक्त गर्दै भन्यो ।
रुद्रे तैंले यो राजा भनाउॅदाको पूर्बजन्मको धेरै रीन खा’को रैछस्,यसको तॅ धर्म बाउ रहेछस,कति बॅाच्ला र…बाचुन्जेल राजाको हेरचाह गर्नु तेरो धर्म हो….तेरो जग बसाल्देको पनि यसैले हो…यो अब बेहोस भयो ,दिनभरी ब्युझदैन! उनले अर्तिको भाषामा धर्मको ब्याख्या गरे।
“हो हजूर मेरो यो जीवन सार्थक बनाउने उहॅाको गुन त म काहा बिर्सन सक्छु र मलाई राजाको माया पनि लाग्छ…रक्सीले शरीर धेरै गालिसक्यो, धान्न नसकिने गरि नखाइस्योस भनेर लाख बिन्ती गरिसकें, मैयासा’बले पनि सम्झाइ बक्सन्छ, पटक्कै मान्ने होइन। कहिले कहि रक्सी छोडाउन नदिउॅ भनेर नदिंदा रिसाउने, तोडफोड गर्ने, बाटोबाट नै जथाभावी गाली गर्ने गरिसिन्छ….! खै के गर्ने…पहिले राजाकै घरमा काम गर्न बसेर मैले बिहा गरेकी मेरी बुढी त देखै पर्दिन, मैले नै बोकेर लगेर ओछ्यानमा सुताइदिनु पर्छ। मेरो त कामै यही भइसक्यो …” होटेलवालाले दिक्दार हॅुदै भन्यो।
मलाई त्याहा भएका घटना र उनिहरुबिच भएको कुराकानीको रहस्य बारेमा जान्ने जिज्ञासा बढ्यो। रक्सीले झण्डै बेहोसीको अबस्थामा पुगेको राजालाई घर पुऱ्याउन होटेलवालाले बोकेर हिडेपछि मलाइ रक्स्याहा राजा र त्याहाको स्थितिबारे जानकारी लिने इक्षा लाग्यो। मैले टिकाधारी मित्रलाई जिज्ञासा राख्दै सोधे ”तपाई राजालाई चिन्नुहुन्छ? तपाई कहिले यस ठाउॅमा कहिले कसरी आउनु भएको भनेर सोधै।उहॅाले शान्त भावमा बेलिबिस्तार लगाउन थाल्नु भयो ”हामी पनि राजा कै रैती नै त हौं’नि …!” उहॅाको कुराले मलाई झन चकित बनायो र मैले सबै कुरा भन्नुहोस न भनेर अनुरोध गरें। टिकाधारी मित्रले अगाडी भन्न शुरु गरे “म पहाडको मान्छे !घुम्दै यस ठाउॅमा आइपुग्दा मलाई बाहुनको छोरा भनेर यो राजाका बाबुले नै आफ्नो जग्गा दिएर याहा राम मन्दीर बनाएको र एक बिगाह जमीनसहित त्यस मन्दीरको पुजारी मलाई बनाएर घरबासको ब्यबस्था राजाको बाबुले नै गरिदिएको हो “होटलवालाले राजालाई बोकेर लग्दै गरेको मूल सडकको भित्रपट्टीको जीर्ण घरतर्फ इंगीत गर्दै उहॅाले राजाको घर त्यही हो भनेर औलेले संकेत गर्दै देखाइदिए। राजा-महाराजा-सामन्तीहरु धरासयी भएर ‘भ्रंसी’(पतन वा नास)भएको घटनाहरु बारे मलाई जानकारी भएकोले राजाको बिषयमा अन्य कुराहरु पनि बताउन अनुरोध गरें। उनले उक्सिंदै बतियाउन थाले।
“बाजुराका राजा(रजौटा)का एक भाई हिक्मत बहादुर तत्कालीन समयमा हाडनाताको ब्यभिचारको जघन्य आरोप लागेर देश त्याग गर्न बाध्य भएका थिए। उनलाई नयॅा मुलुकको यस अनकण्टार ठाउॅमा केही सय बिघा जमीन केन्द्रबाट बक्साएर भाई हिक्मत बहादुर सिंहलाई दरबार बनाई यस स्थानमा राखिएको रहेछ। उनको स्वभाव र मस्तिपनले गर्दा उनले धेरैजना रखौटी राख्ने र मद र मदिरामा आफ्नो जीवन बिताउन थालेछन। बिबाहित रानीसाहेबबाट जन्मेका यी राजा प्रसिध्द बहादुर सिंहको पालामा पनि यिनको नाममा पचासौं बिघा जमीन रहेको थियो। भारतको लखनौंमा पढेका भए पनि बयस्क भएपछि आफ्नो मौजामा फर्केर उनले पनि बॅाकी रहेका सुनचॅादी, जमीन र अन्य अचल सम्पत्तीहरु बेच्दै खॅादै, मोजमस्तीमा रमेर सबै सम्पत्ती सिध्याए। रक्सीको लतले उनि अहिले यो स्थितीमा आइपुगेका हुन।” उनले राजाको बंशीय बर्णन गरे।
यो ढाउॅ हाल दुइ जिल्लाको सदरमुकाम जोड्ने राजमार्ग बनेको र बिस्तारै बस्ती पनि बढ्न थालेको थियो। एक-दुइवटा पक्की घरहरु, साना पसल र ग्यारेजहरु पनि पातलो रुपमा ब्यबस्थित हॅुदै थियो। राजाको घर जीर्ण भइसकेको थियो र बस्ती नयॅा भएको हॅुदा नयॅा घरहरु बन्ने क्रम बढिरहेको थियो। त्यसै क्रममा हामीले चिया खाएको रुद्रेको घर पक्की खालको सिमेण्टेड थियो। मैलो त्यहाको अन्य स्थिती र होटलवालाको अबस्था बारे जिज्ञासा राख्दा मित्रले मलाई थप जानकारी गराउन थाले।
“यो होटेलवाला रुद्रे यही राजाको नोकर हो… ”उनले नअडिइ भन्न थाले” आजभन्दा तीस बर्ष अघि याहॅा जंगल नै थियो र राजाले बसाएका हरुवा-चरुवाहरु छाप्राहरु बनाएर बसेका थिए। राजाले वरपरका मानिसहरुलाई केही जमीन बॅाड्दै बसोबास गराउॅदै लालपुर्जा पनि दिलाइदिएका थिए। मलाई पनि मन्दीरको गूठी भोगचलन गर्ने र गुजाराको लागी एक बिघाहा जग्गा राजाले नै बक्सिस दिएका थिए। यो रुद्रे… एउटा नाबालक अनाथ केटालाई भेट्टाएर राजाले आफ्नो घरमा नोकर राखे। यो रुद्रे ठिटो भएपछि घरमा नै काम गर्न राखेको थरुनी केटीसॅग रुद्रेको लगनगॅाठो कसिदिए र यही घर भएको ढाउॅमा छाप्रो हालेर राखिदिए। राजाको लागी आबश्यक सामान ल्याइदिने, घरायसी सम्पुर्ण हेरचाह गरिदिने र रक्सीको ब्यबस्था गरिदिने सम्पुर्ण काम यही रुद्रेले गर्न थाल्यो। एउटा छोरा पाएर बिहाहित रानिसाहेब यी राजालाई छोडेर आफ्नो माइत भारततिर लागिन। रानिसाहेबले नछोडेको भए पनि यो राजाको यस्तो गति हुने थिएन कि? सबै माथि हैकम चलाउने र गाली गर्ने कारणले यी राजालाई रैतीहरुले पनि मान्न छोड्दै गए। यो रुद्रेले पनि राजालाई हरेक दिन रक्सी ख्वाउन र आफ्नो सन्तानको लागी केहा जोहो गर्न सानोतिनो ब्यबशाय गर्न थाल्यो। हामी सबै टोलबासीको भनाइ मानेर चिया पसल पनि सञ्चालन गर्न थाल्यो। राजाको बॅाकी रहेको जमीन, सुनचॅादी,जंगलका काठहरु बेचेर पैसा जुटाउने हर्ताकर्ताको काम पनि रुद्रेले नै सम्हाल्यो। केही पढ्ने -लेख्ने मौका पनि पाएको र भित्री मनको बाठो र मेहनती भएको कारणले उसले ब्यवशायमा पनि प्रगती गऱ्यो। राजालाई हेरचाह गर्न राजाको पुरानो गाउॅबाट दिदी नाता पर्ने बिधवा महिला ल्याएर राजाको स्थिती सुधार्न निकै प्रयास पनि गऱ्यो। राजाप्रति अति बफादार र इमान्दार भएर काम गर्दै आएको यो सबै हामीले देख्दै आएको सत्य हो र यी सब कुरा आज पर्यन्त उसले निभाउॅदै आएको छ। राजालाई ठगेको, झुक्याएको आजसम्म हामीलाई थाहा छैन; बल्कि आफुले कमाएको पनि राजाको लागी खर्च गर्दै आएको छ। तर राजा आफु अहिले समाप्तिको स्थितिमा पुग्दा पनि उसको हैकम र तुजुक उस्तै रहेको जस्तो गरी अभिनय गर्दैछन। तर अहिले राजा निर्धन र निर्बल भएकोले कसैले पनि टेरपुच्ठर लाउॅदैनन। उसलाई कसैले रक्सी खान दियो र राजा भनिदियो भने मग्न हुन्छ। रक्सी नखाएको बेलामा राजा कोहीसॅग पनि हेलमेल, वास्ता वा बोलचाल पनि गर्दैन। अघि टेबुलमा बसेर रक्सी पिइरहेको बेलामा कतै पनि नहेरी आफ्नै तालमा रमाइरहेको देख्नु भयो होला ‘नि ,खानेकुरा केही पनि खादैंन, रक्सीले मात्र यो राजा अहिलेसम्म कसरी बॅाचिरहेको छ-अचम्भ लाग्छ! अब त रक्सी खादा-खॅादै ढल्न थालेको हॅुदा धेरै बॅाच्ला जस्तो त लाग्दैन… तर पनि मान्छे कृतघ्न हुनुहॅुदैन, बॅाचुन्जेल त सबैले सहयोग गर्नु पर्ला! कसैले भनेको पनि नसुनेपछि सबैजना हत्तु भइसके…” उनले सदायसता ब्यक्त गरे। मैले उनको रानीसाहेबलाई र उसको छोरालाई बोलाएर उनको बंश स्थापना गर्न सकिन्छ कि भन्ने संभावनाका कुराहरु गरें। उनले मेरो सवालको जवाफ दिंदै भने ”रानीसाहेब पक्षघात भएर भारतको माइतीमा नै बेहाल अबस्थामा रहेको र एउटा भएको छोरा पनि बिदेशमा भएको र बर्षौंदेखी सम्पर्कबिहीन रहेको थाहा हुन आएको कुरा बताए ।”
म त्याहाको स्थितीको मनन गर्दै राजाको बंश लोप हुन लागेको परिदृष्य कल्पना गरेर नोष्टाल्जिक भएं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)